रेशम चौधरीको आममाफीविरुद्धको रिटमा आज सुनुवाइ


काठमाडौँ ।

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।

रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते सर्वोच्चले कारण देखाऊ आदेशसहित मुद्दालाई अग्राधिकारमा राखेको थियो।

सरकारका सम्बन्धित निकायले समयमै लिखित जवाफ पेस गरे पनि अहिलेसम्म मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन। पटक–पटक पेसी तोकिए पनि बेन्च नबस्ने वा स्थगित हुने कारण सुनुवाइ लम्बिँदै आएको छ। आजको पेसीमा सुनुवाइ हुने–नहुने अझै अनिश्चित रहेको छ।