
म्याग्दी । भिरालो जमिनमा पूर्वतर्फ मोहडा भएको निस्कोट गाउँको सिरानमा बराहताल पर्दछ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ नम्बर वडामा पर्ने निस्कोट गाउँ र बराहताल प्राकृतिक हिसाबले सुन्दर, आकर्षक र मनमोहक छन् । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालहरुको लर्कन देख्न सकिने निस्कोट बराहतालले पर्यटकीय आकर्षण बोकेको छ ।
सफा भएर मौसम खुलेको समयमा देखिने हिमालको रोचक दृश्यसँगै बराहतालमा हिमालसँगै पौडी खेल्न मिल्ने यसको थप आकर्षण र विशेषता हो । झन्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । समुद्री सतहदेखि २३ सय मिटरको उचाइमा रहेको बराहताल र यसको आसपासबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बराहताल क्षेत्रबाट धौलागिरि हिमालको साथै गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायत हिमालहरु प्रत्यक्ष देखिन्छन् ।
बराहतालमा पर्ने वन र हिमालहरुको प्रतिविम्ब (छाया) त्यहाँ पुग्ने जो–कोही वा पर्यटकहरुका लागि समेत आकर्षक अनि मनमोहक लाग्छ । हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृश्यले त्यहाँ पुग्नेहरुलाई रोमाञ्चित बनाइदिन्छ । निस्कोट गाउँमा जानेहरु एकैछिन् भए पनि बराहतालको अवलोकन गरी, ताललाई पृष्ठभूमिमा पारेर सेल्फी खिची रमाउन तालमा पुग्ने गर्दछन् । बराहतालको छेउछाउ पुगेर ताल र वरिपरिको दृश्यलाई धित मरुन्जेल हेर्न पाउँदा उकालो चढ्दा लागेको थकान उतिखेरै बिर्सिन्छ ।
निस्कोट गाउँमा कार्यक्रम लिएर तथा अन्य कामले जानेहरु एकैछिन् भए पनि बराहताल पुगेर रमाउने गरेको स्थानीय रामकुमारी पुनले जानकारी दिनुभयो । निस्कोट गाउँबाट आधा घण्टाको पैदल दूरीमा पर्ने बराहताल स्थानीयवासीका अनुसार झन्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । जङ्गलको बीचभागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैन । कन्चन र सफा रहेको तालमा कुनै पनि पत्कर परेमा चराचुरुङ्गीले चुच्चोले टिपेर सफा गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यहाँ बिहान सबैरै दुईवटा जलहाँस जलक्रीडा गर्न आउने गरेको स्थानीय किंवदन्तीसमेत रहेको छ ।
छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको बराहतालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयवासी पुनले बताउनुभयो । तालनजिकै एउटा तामाको घैंटो (चिन्हो) समेत रहेको छ । स्थानीयका अनुसार उक्त घैंटो राणाशासनकालमा लुकाइएको हुँदा पछि ढुङ्गा फुटाउँदा भेटिएकाले संरक्षण गरेर राखिएको हो ।
निस्कोट गाउँ पर्यटनका साथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख पुरानो भाका यानीमाया, सुनीमायालगायत गीतहरु गुन्जिन्छन् । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ । बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लोपटक आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकीय स्थल बराहतालको पर्यटन प्रवद्र्धन गर्न आवश्यक जोड दिइएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताउनुभयो ।











प्रतिक्रिया