काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको जाँच सम्पन्न गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए भने आयोगले पुस १६ गतेदेखि जाँच गर्न सुरु गरेको थियो ।
आइतबार रुजु सम्पन्न गरेपछि सच्याउनुपर्ने सबैलाई कैफियत छुट्याएर सम्बन्धित राजनीतिक दललाई पत्राचार गरेको आयोगले जनाएको छ । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेस गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने जानकारी दिँदै प्रवक्ता भट्टराईले भन्नुभयो– ‘डकुमेन्ट नपुगेका, उमेर नपुगेकालगायत सबै छुट्याएर हामी पठाउँछौँ । त्यसको आधारमा भोलि २१ गतेदेखि २७ गतेसम्म दलहरूले ती कुरा सच्याएर ल्याउनुहुन्छ । हामीले दलको तर्फबाट आएको बन्दसूचीलाई २७ गते फाइनल गर्छौं ।’
समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने छ । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने छ ।
सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘समानुपातिकमा बस्न चाहन्नँ भन्नेले यही पुष २८ गते उम्मेवारी फिर्ता दिन पाउनेछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौं ।’ दलको विवरण आइसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूची तयार पारेपछि आयोगले त्यसलाई सार्वजनिक गर्नेछ ।











प्रतिक्रिया