खोटाङमा अति संकटापन्न सुचीमा रहेको कालो सालक फेला

1.79k
Shares

खोटाङ

, खोटाङमा अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास रहेको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अति संकटापन्न सुचीमा रहेको कालो सालक जिल्लाका बिभिन्न जंगलमा बसोबास रहेको पुष्टि भएको हो । 

 प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा जिल्लाका दुई स्थानीय तहका सामुदायिक वनमा राखेको क्यामेरा ट्र्यापिङमार्फत कालो सालक रहेको प्रमाणित गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्यापिङ प्रविधिमार्फत सर्बेक्षण गरिएको थियो । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।

एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र दश प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्वीर कैद गरिएको छ । त्यसमध्ये कालो सालक फेला पर्नुलाई यस क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)का कार्यकारी निर्देशक जीवन राईले बताएका छन् ।

अध्ययनका क्रममा अति सङ्कटापन्न अवस्थाका कालो सालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा फेला परेको छ । यस्तै, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु (लंगुर), सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बासोबास रहेको प्रमाणित भएको जनाइएको छ । स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिएका छन् ।

सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैले क्यामेरा ट्रयापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेँसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा ट्रयापिङ गरिएको थियो ।

एनसीएससीले सालक संरक्षण तथा क्यामेरा ट्रयापिङ नतिजा पुस–१९ गते जालपामा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । सातवटा सामुदायिक वन समूहको सहकार्यमा आयोजना गरिएको कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए ।