एम्स्टर्डाम, नेदरल्याण्ड्स
नेदरल्याण्ड्सको एम्स्टर्डाममा युरोपको प्रतिष्ठित पर्यटन मेला ‘युरोपियन पपुलर टुरिज्म फेयर : एम्स्टर्डाम स्पेसल जर्नी टुरिज्म शो २०२६’ आइतबारदेखि शुरु भएको छ। एम्स्टर्डामको ऐतिहासिक स्थल बियर्स भान बर्लाजे, डामराक मा आयोजना गरिएको उक्त मेलामा युरोपसहित विश्वभरका १५० भन्दा बढी पर्यटन प्रदर्शकहरूको सहभागिता रहेको छ।
मेलाको पहिलो दिनमै पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय यात्रु तथा सञ्चारकर्मीहरू गरी करिब ५ हजारले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ।
नेपालको तर्फबाट एभरेष्ट पायोनियर ट्रेक नेपालसहित विभिन्न नेपाली टुर तथा ट्राभल कम्पनीहरूले सहभागिता जनाएका छन्। नेपाली स्टलहरूमा हिमाल, पदयात्रा (ट्रेकिङ), साहसिक पर्यटन तथा सांस्कृतिक गन्तव्यप्रति युरोपेली आगन्तुकको विशेष चासो देखिएको छ। धेरैजसो आगन्तुकहरूले नेपाल भ्रमणसम्बन्धी जानकारी लिँदै ई–फ्लायर संकलन गरेका छन् र निकट भविष्यमै नेपाल भ्रमण गर्ने योजना व्यक्त गरेको एभरेष्ट पायोनियरका अध्यक्ष सहदेव श्रेष्ठले जानकारी दिए ।
सन् २०२० देखि निरन्तर रूपमा युरोपियन पपुलर टुरिज्म फेयर : एम्स्टर्डाम स्पेसल जर्नी टुरिज्म मेलामा सहभागिता जनाउँदै आएको एभरेष्ट पायोनियर ट्रेक नेपालले यस पटक पनि उपस्थिति जनाएको हो। संस्थाका प्रतिनिधिहरूका अनुसार यस प्रकारका अन्तर्राष्ट्रिय मेलाहरूले व्यवसायिक साझेदारी विस्तार, नयाँ नेटवर्क निर्माण र दीर्घकालीन पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यारउने गर्दछ।
कोभिड–१९ पछि पुनः लयमा फर्कँदै गरेको नेपाली पर्यटनका लागि युरोपेली बजारको यस्तो सकारात्मक चासोले आगामी दिनमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ। सहभागी नेपाली पर्यटन व्यवसायीहरूले यस मेलाबाट प्राप्त अन्तर्राष्ट्रिय एक्सपोजरले नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वस्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया