वीरगन्ज।
धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो। पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो। प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा बिहानैदेखि प्रदर्शन भएको थियो। प्रदर्शनकारीले जनकपुर घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्।
अल्पसंख्यक समुदायमाथि आक्रमण गर्न नपाइने भन्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए। धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो। यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ। धनुषा प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरी प्रमुख कुँवरले बताए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक र धार्मिक सद्भावमा खलल पुर्याउने नियतले फेसबुक, टिकटक र इन्स्टाग्राममा गरिएका पोष्ट, भिडियो र तस्बीरहरुको निगरानी भइरहेको जनाएको छ । धनुषाको एक मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर आइतबार वीरगन्जमा प्रदर्शन भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक सूचना नै जारी गरेर उक्त जानकारी दिएका हुन् ।
सामाजिक सद्भावमा खलल पुर्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका टिकटक, फेसबुक र इन्स्टाग्राममा भइरहेका हरेक गतिविधिको सूक्ष्म रुपमा निगरानी भैरहेको प्रजिअ दाहालले बताए । प्रदर्शन हुन थालेपछि यस क्षेत्रमा सुरक्षा सर्तकता पनि बढाइएको छ ।











प्रतिक्रिया