सर्लाही ।
सर्लाहीको इश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन हेरालुको विभत्स हत्या प्रकरणमा काटिएको टाउकोसमेत फेला परेको छ। घटनाले पूरै क्षेत्रलाई त्रसित बनाएको छ भने सुरक्षाप्रति गम्भीर प्रश्न खडा भएको छ।
सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा कार्यरत स्थानीय ४७ वर्षीय रामइश्वर महतोको टाउको काटेर हत्या गरिएको शव हिजो जङ्गलभित्र फेला परेको थियो। तर, घटनास्थलमा उनको टाउको नभएकाले प्रहरीले व्यापक खोजी थालेको थियो।
स्थानीयका अनुसार हिजो बिहान करिब ५ बजेतिर जङ्गलभित्र रुख काटिएको आवाज सुनेपछि वन हेरालु महतो त्यसतर्फ गएका थिए। तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारजन, छरछिमेकी र स्थानीय जनप्रतिनिधिको सहभागितामा खोजी सुरु गरिएको थियो।
खोजीका क्रममा घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको झाडीमा टाउकोविहीन अवस्थामा महतोको शव फेला परेको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले धनुषाको लालगढबाट तालिमप्राप्त कुकुरसमेत झिकाएर खोजी कार्य अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी सरोज राईका अनुसार निरन्तर खोजीका क्रममा आज दिउँसो करिब पौने १ बजेतिर घटनास्थलदेखि करिब १०० मिटर उत्तरतर्फको झाडीमा महतोको टाउको फेला परेको हो।
टाउको फेला परेको स्थानमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। तर अनुसन्धानमा प्रतिकूल असर पर्न सक्ने भन्दै हाल नियन्त्रणमा लिइएकाहरूको संख्या र नाम सार्वजनिक नगरिएको डीएसपी राईले स्पष्ट पारे।
हत्या गरिएका महतो एक्लै जङ्गल क्षेत्रमा वन हेरालुको काम गर्दै आएको सागरनाथ वन विकास परियोजनाले जनाएको छ। परियोजनाका प्रमुख खेमलाल विश्वकर्माका अनुसार महतोको हत्या असाध्यै निर्मम र चिन्ताजनक रहेको छ।
महतोको शव हाल प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ भने पोष्टमार्टम तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय बासिन्दामा भयको वातावरण सिर्जना भएको छ भने वन क्षेत्रमा काम गर्ने मजदुर तथा हेरालुको सुरक्षाबारे समेत चासो बढेको छ।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान खुलाउने दिशामा अनुसन्धान तीव्र पारेको जनाएको छ।











प्रतिक्रिया