उद्योगहरुको क्षमता उपयोग ४४ प्रतिशतमा झर्‍यो


काठमाडौं ।

नेपालमा औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा बढ्दै गए पनि उद्योगहरूले आफ्नो उत्पादन क्षमता पूर्ण रूपमा प्रयोग गर्न नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत बिन्दुले घट्दै ४४.५ प्रतिशतमा सीमित भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा उद्योगहरूको औसत क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९५ प्रतिशतले बढी हो । गत वर्ष औद्योगिक कर्जा वृद्धि दर ९.३५ प्रतिशत मात्र थियो । कुल बैंकिङ कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ ।

अध्ययनअनुसार टायर तथा ट्युब उद्योगमा क्षमता उपयोग सबैभन्दा बढी ९०.७ प्रतिशत रहेको छ भने वनस्पति घिउ उद्योगमा सबैभन्दा कम १.१० प्रतिशत मात्र क्षमता उपयोग भएको छ । गत आवमा वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, बियर, चुरोट, सिन्थेटिक कपडा, लत्ताकपडा, कच्चा छाला, प्लाइउड, औषधि, साबुन, प्लास्टिक, फलाम तथा स्टिलजन्य सामग्री, जीआई पाइप र ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ ।

तर, तोरीको तेल, प्रशोधित दूध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, मदिरा, हल्का पेय पदार्थ, कपडा, जुट, कागज, सिमेन्ट, कंक्रिट, टायर, चप्पल तथा बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको राष्ट्र बैंकले जनाएको छ । मधेस र कर्णाली प्रदेशमा उद्योगको औसत क्षमता उपयोग बढेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा घटेको छ । औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड रुपियाँ लगानी भएको छ । त्यसपछि कोशी र लुम्बिनी प्रदेशको हिस्सा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । कर्णाली प्रदेशमा औद्योगिक कर्जा हिस्सा ०.२ प्रतिशत मात्र रहेको छ।

आर्थिक वर्ष २०८१÷८२ मा कुल ७ सय उद्योग दर्ता भएका छन् । तीमध्ये पर्यटन क्षेत्रमा २३५, सेवा क्षेत्रमा ११०, उत्पादनमूलक क्षेत्रमा १०६, सूचना तथा प्रविधिमा १८५, कृषि तथा वनमा १२, पूर्वाधारमा २ र खनिजजन्य क्षेत्रमा १२ उद्योग छन् । दर्ता भएका उद्योगमध्ये ६८ ठूला, ५४ मझौला र ५७८ साना उद्योग रहेका छन् । यी उद्योगबाट २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ पूँजी परिचालन हुने र ३५ हजार १ सय ४१ रोजगारी सिर्जना हुने अनुमान छ । दर्ता उद्योगमध्ये ५४३ बागमती प्रदेशमा छन् भने कर्णाली प्रदेशमा एक मात्र उद्योग दर्ता भएको छ ।