इँटाभट्टाको रापदेखि विश्व कराँते मञ्चसम्म

सानुमाया थिङको संघर्ष र सफलता

0
Shares

काठमाडौँको सतुङ्गलस्थित एउटा इँटाभट्टा, जहाँ बिहानीको झुल्के घामसँगै चिम्नीबाट निस्कने कालो धुवाँ र काँचो माटाको गन्धले आकाश भरिन्छ । १९ वर्षसम्म एउटी बालिकाको दैनिकी त्यही धुलो र धुवाँबीच रुमल्लिएको थियो । कलिला हातले माटो मुछ्नु, इँटाको चाङ लगाउनु र परिवारको गुजाराका लागि हाडछाला घोट्नु सानुमाया थिङको नियति मात्र थिएन, बाध्यता थियो । तर, आज तिनै हातहरू विश्व कराँतेको मञ्चमा नेपालको झन्डा फहराउँदै ‘काता’ प्रदर्शन गरिरहेका छन् । यो कुनै चलचित्रको काल्पनिक कथा होइन, यो त अभावको भट्टीमा खारिएर निस्किएकी नेपाली कराँतेकी एक चम्किलो नक्षत्र सानुमाया थिङको वास्तविक जीवन–गाथा हो ।

अहिले २४ वर्षकी सानुमायाको जीवन–संघर्ष दुई वर्षको उमेरमा काठमाडौँ बसाइँदेखि नै सुरु भएको थियो । सरकारी विद्यालयमा पढ्न जानुअघि उनले १९ वर्षसम्म इँटाभट्टामा पसिना बगाइन् । बिदाका दिनमा भारी बोक्ने र खेतमा धान काट्ने जस्ता कठिन शारीरिक श्रम गर्नु उनका लागि सामान्य थियो । गरिबीको जाँतो यति क्रुर थियो कि उनकी आमाले अभावकै कारण छोरीलाई खेलकुद छोडेर काममा मात्र ध्यान दिन पटक–पटक सुझाव दिइन् । तर, सानुमायाभित्र एउटा यस्तो ज्वाला दन्किरहेको थियो, जसलाई इँटाभट्टाको निसासिँदो धुवाँले पनि निभाउन सकेन । उनी फलाम जस्तै थिइन् । जसरी फलाम भट्टीको रापमा खारिएर एउटा धारिलो र बलियो हतियार बन्छ, सानुमाया पनि अभावको आगोमा खारिएर विश्वस्तरको खेलाडी बनिन् ।

सानुमायाको खेल जीवनमा एउटा ठुलो मोड तब आयो, जब उनले ‘कुमिते’ (फाइट) विधा छोडेर ‘काता’ (प्राविधिक कला) मा आफूलाई समर्पित गर्ने निर्णय गरिन् । दुवै विधालाई सँगै लैजान शारीरिक र मानसिक रूपमा निकै चुनौतीपूर्ण भएपछि उनले आफ्नो सम्पूर्ण ध्यान एउटै विधामा केन्द्रित गरिन् । यही एकाग्रता र समर्पणले उनलाई नवौँ राष्ट्रिय खेलकुद र दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक दिलायो । उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिपमा शीर्ष पाँचमा परेपछि सानुमायाको चर्चा चुलियो ।

यस यात्रामा सानुमायाको प्रतिभालाई सुरुवाती दिनमा चिन्ने गुरु सङ्गरत्न महर्जन र आर्थिक संकटमा अभिभावकत्व दिने चारकाजी महर्जनको साथले उनलाई विश्व मञ्चको ढोका उघारिदियो । उनका गुरु केवल एक गुरु मात्र नभई अभिभावक र प्रेरणाका स्रोत बने । गुरु मन्डेकाजी श्रेष्ठ जो आफैँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक विजेता हुन, उनले नै सानुमायालाई सिकाए कि आफ्नो विगत सम्झेर कमजोरी महसुस गर्ने होइन, बरू गर्व गर्नुपर्ने शक्ति हो भनेर ।
सतुङ्गलको धुलो र माटोबाट सुरु भएको यात्रा इजिप्टको कायरोमा सम्पन्न २७ औँ विश्व कराँते च्याम्पियनसिप (नोभेम्बर २०२५) सम्म पुग्दा एउटा नयाँ इतिहास बन्यो । नेपालको इतिहासमा पहिलो पटक विश्व च्याम्पियनसिपका लागि छनोट भएर सानुमाया र एरिका गुरुङले नयाँ रेकर्ड कायम गरे । विश्वका उत्कृष्ट ३२ खेलाडीहरूसँग ‘काता’ स्पर्धामा प्रतिस्पर्धा गर्नु चानचुने कुरा थिएन । यही प्रदर्शनका कारण नेपाल विश्व वरियताको ९८औं स्थानबाट छलाङ मार्दै ७४औं स्थानमा उक्लिएको छ । कराँतेको विश्व वरियतामा शीर्ष १०० भित्र पर्ने नेपालका दुई भाग्यमानी खेलाडीमध्ये सानुमायाको नाम पनि अटायो ।

इँटाभट्टाको श्रमिकदेखि नेपाली सेनाको गौरवशाली जवान हुँदै विश्व मञ्चसम्मको यो यात्रा हरेक नेपालीका लागि गर्वको विषय हो । सफलताको स्वाद चाखिरहँदा पनि उनले आफ्नो धरातल बिर्सेका छैनन् । आशीका फाउन्डेसन जस्ता संस्थाहरूले सम्मान गर्दा, “मलाई पनि सम्मान गर्ने कोही रहेछन्” भन्दै आज पनि उनका आँखा रसाउँछन् । सानुमाया आज केवल एक खेलाडी मात्र होइनन्, उनी दृढ इच्छाशक्ति भएमा परिस्थितिको जस्तोसुकै पर्खाल पनि भत्काउन सकिन्छ भन्ने जीवन्त प्रमाण हुन् ।

हिजो इँटाको भारी बोक्ने ती हातहरूले आज देशको मान, शान र अन्तर्राष्ट्रिय गौरव बोकेका छन् । सानुमायाको कथाले विश्वलाई एउटै सन्देश दिएको छ, “सपना देख्नका लागि आलिसान महल चाहिँदैन, केवल आँखामा अलिकति साहस र मुटुमा इमानदारिता भए पुग्छ ।” आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने ‘अर्जुन दृष्टि’ लिएर उनी अहिले दैनिक साढे ४ घण्टा कठोर अभ्यासमा छिन् । इँटाभट्टाको रापबाट निस्किएको यो सुन, अब एसियाली मञ्चमा चम्किन तयार छ ।

सानु माया थिङले पाएका उपलब्धि :

-पहिलो एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप – दोस्रो

-नवौं राष्ट्रिय खेलकुद – प्रथम

-दोस्रो कृष्णप्रसाद स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप – दोस्रो

-दोस्रो गणेशमान सिंह स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-दशौं डब्लुएसकेएफ विश्व शितो–रियो कराँते च्याम्पियनसिप, इन्डोनेसिया – तेस्रो

-५५ औं राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप – प्रथम

-१७ औं अल इन्डिया इन्डिपेन्डेन्स कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप, भारत – प्रथम

-पहिलो मिथिला राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-तेस्रो कृष्णप्रसाद स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप – दोस्रो

-५६ औं राष्ट्रिय कराँते च्याम्पियनसिप – तेस्रो

-चौथो कृष्णप्रसाद स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-तेस्रो गणेशमान सिंह स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-पहिलो शेरबहादुर राष्ट्रिय कराँते च्याम्पियनसिप – प्रथम

-२१ औं एकेएफ सिनियर एसियाली कराँते च्याम्पियनसिप, उज्वेकिस्तान – सहभागिता

-अल्टिमेट काता एन्ड कुमिते च्यालेन्ज, भारत – प्रथम

-नवौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप, श्रीलंका – प्रथम

-२७ औं विश्व कराँते च्याम्पियनसिप, इजिप्ट, कायरो – (छनोट हुन सफल र नेपालको वरियता ७४औं स्थानमा सुधार)