यहुदीहरू विश्वकै ‘स्मार्ट’: नोबेल पुरस्कार जित्नेमा २२ प्रतिशत यहुदी

0
Shares

इतिहासको पाना पल्टाउने हो भने एउटा यस्तो समुदाय भेटिन्छ, जसलाई संसारले पटक–पटक सिध्याउन खोज्यो, तर उनीहरू हरेकपटक खरानीबाट उठेर संसारलाई नेतृत्व दिने गरी तंग्रिए, ती हुन् यहुदी । केही समयअघि अस्ट्रेलियाली सहर सिड्नीको तटमा ‘हानुका’ मनाउँदै गर्दा यहुदीहरूमाथि भएको आक्रमणले फेरि एकपटक एउटा गम्भीर प्रश्न उठेको छ । किन यो समुदाय सधैं तारो बन्छन र किन उनीहरू संसारकै ‘स्मार्ट’ मानिन्छन् भनेर ।

‘जुडिजम’ धर्मका अनुयायी यहुदी इतिहासको जग करिब ४ हजार वर्षअघि ‘अब्राहम’ बाट सुरु भएको मानिन्छ । मेसोपोटामिया (इराक) बाट सुरु भएको यो यात्रा मिश्र (इजिप्ट) को दासता, मोसेस (मुसा) द्वारा लाल सागर पार गराइएको चमत्कार र ‘प्रतिज्ञा गरिएको भूमि’ (इजरायल) को खोजीमा केन्द्रित छ । इतिहासमा उनीहरूले पटक–पटक निर्वासनको पीडा भोगे । ईसापूर्व ५८६ मा बेबिलोनियनहरूले र सन् ७० मा रोमनहरूले उनीहरूको पवित्र धार्मिकस्थल भत्काइदिएपछि यहुदीहरू संसारभर छरिए । उनीहरूको आफ्नो देश रहेन, तर उनीहरूको मुटुमा ‘इजरायल’ सधैं जीवित रह्यो ।

यहुदी इतिहासको सबैभन्दा हृदयविदारक मोड दोस्रो विश्वयुद्ध हो । तत्कालीन जर्मन चान्सलर एडोल्फ हिटलरको नाजी सेनाले ६० लाख यहुदीहरूलाई ग्यास चेम्बरमा हालेर मारे । धेरैको गोली हानेर हत्या गरियो । एउटा सिङ्गो पुस्तालाई नक्साबाट मेटाउन खोजियो । तर, उनीहरूले बाँच्ने इच्छाशक्तिलाई मर्न दिएनन् । सन् १९४८ मा इजरायलको स्थापना हुनु केवल एउटा राष्ट्रको जन्म मात्र थिएन, यो संसारभर छरिएका र पिल्सिएका यहुदीहरूका लागि “अब हामी कतै भाग्नु पर्दैन” भन्ने सुरक्षाको ग्यारेन्टी थियो । आज विश्वको जनसंख्यामा यहुदीहरू मात्र ०.२ प्रतिशत छन्, तर नोबेल पुरस्कार विजेताहरूको सूची हेर्ने हो भने २२ प्रतिशतभन्दा बढी यहुदी छन् । यो कुनै संयोग होइन, यो उनीहरूको ‘सिक्ने र सोध्ने’ संस्कारको उपज हो । अल्बर्ट आइन्सटाइनदेखि गुगलका ल्यारी पेज, फेसबुकका मार्क जुकरबर्ग र पोलियो खोप बनाउने जोनास साल्कसम्म सबै यही समुदायका देन हुन् ।

यहुदी संस्कृतिको अर्को सुन्दर पक्ष ‘सब्बाथ’ हो, जहाँ शुक्रबार सूर्यास्तदेखि शनिबार सूर्यास्तसम्म उनीहरूले धेरै कÞुराहरूलाई बन्देज गर्छन् । उनीहरू फोन चलाउँदैनन्, गाडी चढ्दैनन्, बिजुलीको स्विच थिच्दैनन् लगायत धेरै कुरा गर्दैनन् । त्यो समय केवल परिवार, प्रार्थना र आत्माको शान्तिका लागि मात्र छुट्याइन्छ । जसलाई आजको भागदौडपूर्ण दुनियाँमा मानसिक स्वास्थ्यका लागि महान् उपचार मानिन्छ । चारैतिर शत्रु राष्ट्रहरूले घेरिएको र खेती गर्न नमिल्ने मरुभूमि भएको सानो देश इजरायललाई उनीहरूले ‘स्टार्टअप नेसन’ बनाएका छन् । इजरायलले समुद्रको नुनिलो पानीलाई पिउने योग्य बनाउने प्रविधि “डीसेलिनेसन” देखि सिँचाइ (ड्रिप इरिगेसन) सम्मका क्रान्ति ल्याएका छन् ।

एकताको शक्तिकै कारण संसारको कुनै पनि कुनामा एक जना यहुदीलाई अन्याय हुँदा इजरायल उसको ढाल बनेर उभिन्छ । उनीहरूले ‘मसाद’ जस्तो शक्तिशाली गुप्तचर एजेन्सी बनाएका छन्, जसले आफ्ना नागरिकको सुरक्षाका लागि संसारको जुनसुकै कुनामा पुग्ने सामथ्र्य राख्छ । इजरायलको सैन्य शक्ति (आइडीएफ) विश्वकै घातक मानिनुको कारण त्यहाँको अनिवार्य सैन्य सेवा हो । १८ वर्ष पुगेपछि पुरुषले ३२ महिना र महिलाले २४ महिना सेवा गर्नुपर्छ । जसले हरेक घरमा एक जना सिपाही तयार गर्छ । उनीहरूसँग दुश्मनका मिसाइल आकाशमै नष्ट गर्ने ‘आयरन डोम’ र साइबर सुरक्षाका लागि ‘युनिट ८२००’ जस्ता अत्याधुनिक संयन्त्र छन् ।

यहुदी चाडपर्वहरू पनि इतिहास सम्झिने माध्यम हुन् । ‘हानुका’ उज्यालोको पर्व हो भने ‘योम किप्पुर’ २५ घण्टाको कठिन व्रतसहितको क्षमा माग्ने दिन हो । त्यस्तै ‘पासाओभर’ इजिप्टको दासताबाट मुक्त भएको सम्झनामा मनाइन्छ । इजरायलको एउटा विशेष नियम ‘आलिया’ अनुसार संसारको जुनसुकै कुनाको यहुदीले असुरक्षा महसुस गरेमा इजरायलले उसलाई नागरिकता मात्र दिँदैन, उद्धार गरेर लिन समेत जान्छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

यहुदी सफलताको मुख्य खम्बा शिक्षा प्रणाली हो । उनीहरू ‘हभ्रुता’ पद्धतिमा दुई जना मिलेर बहस गर्दै पढ्छन् । यहुदी परिवारमा बच्चालाई “के सिक्यौ?” भन्दा पनि “आज के प्रश्न सोध्यौ?” भनेर प्रोत्साहन गरिन्छ । यही प्रश्न गर्ने र तर्क गर्ने बानीले उनीहरूलाई बौद्धिक रूपमा सबल बनाएको छ । कृषिमा पनि उनीहरूले मरुभूमिलाई स्वर्ग बनाएका छन् । माटोबिनाको खेती (हाइड्रोप्रोनिक्स) र साझा खेती प्रणाली (किब्बुत्ज) बाट उनीहरूले ९५ प्रतिशत खाद्यान्न आफैँ उत्पादन गर्छन् । नेपाल जस्ता देशका युवाहरू पनि ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत इजरायल पुगेर यो प्रविधि सिकिरहेका छन् ।

यहुदीहरूको इतिहासले शिक्षामा लगानी गर्ने, प्रश्न सोध्न नडराउने र प्रविधिलाई अँगाल्ने हो भने जुनसुकै कठिन भूगोल र परिस्थितिमा पनि सफलता हात पार्न सकिन्छ भनेर सिकाउँछ । प्यालेस्टाइनसँगको दशकौँ लामो द्वन्द्वले उनीहरूलाई आलोचनाको घेरामा पारे पनि उनीहरूको अस्तित्वको लडाइँ र ‘रेजिलेन्स’ अतुलनीय छ । उनीहरूले मरुभूमिलाई त स्वर्ग बनाए भने नेपाल जस्तो प्रचुर प्राकृतिक स्रोत भएको देशले उनीहरूको दिमागलाई स्रोत बनाउने हो भने धेरै कुरा सिक्न सकिन्छ । “यदि तिमी बाँच्न चाहन्छौ भने तिमी अरूभन्दा उत्कृष्ट हुनैपर्छ” भन्ने यहुदीहरूको मूल मन्त्र हो ।