नेपाल क्लियरिङ्ग हाउसको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


काठमााडौँ

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आर्थिक वर्ष २०८१÷८२ को चौधौँ वार्षिक साधारण सभा मिति ३ पुस २०८२ (१८ डिसेम्बर २०२५) मा काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

सभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसपछि एनसीएचएलको चुक्ता पुँजी १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० रुपियाँ पुग्नेछ । कम्पनीले पूँजी वृद्धिमार्फत नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास, जोखिम व्यवस्थापन सुदृढीकरण तथा सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिमा लगानी गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल १८६ खर्ब रुपैयाँ बराबरका २१ करोड १२ लाखभन्दा बढी कारोबार राफसाफ भएका छन् । सो अवधिमा फछ्र्यौट भएका कारोबारको संख्या ६७ प्रतिशतले वृद्धि हुँदा कम्पनीको खुद नाफा ४ प्रतिशतले बढेको छ ।

सभाले सञ्चालक समितिमा दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । विकास बैंकतर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीतर्फबाट आईसीएफसी फाइनान्स लिमिटेडका नायब महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

सभाबाट ‘नेपालपे कार्ड’ को क्लोज्ड युजर ग्रुप (सियुजी ) कमर्सियल लॉन्च पनि घोषणा गरिएको छ । नेशनल कार्ड स्किमअन्तर्गत सुरु गरिएको नेपालपे कार्ड हाल दुई बैंकबाट इस्यूइङ र १२ बैंक तथा वित्तीय संस्थाबाट अक्वायरिङ सुरु भइसकेको छ ।

एनसीएचएलले पुनः लगानीको अवधारणाअनुसार राष्ट्रिय स्तरका भुक्तानी प्रणाली स्थापना र सञ्चालन गर्दै डिजिटल भुक्तानी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । हाल एनसीएचएलमा ५४ सदस्य बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी गैर–बैंकिङ संस्था सहभागी छन् ।