काठमाडौँ
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरुले अब मोबाइलमा नेटवर्क नआउने समस्या झेल्न नपर्ने भएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ ।
दैनिक रुपमा हजारौ यात्रुहरु पूर्वपश्चिम राजमार्गको यो जंगलहुँदै देशको पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ यात्रा गर्ने गर्दछन् तर यो खण्डमा मोबाइल नेटवर्कको कभरेज थिएन । यो खण्ड वन तथा जंगलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो जसको दुरी २१ किलोमिटरको रहेको छ ।
साधारणतय राजमार्ग तथा वन क्षेत्रमा विद्युत आपुर्ति र टावर व्यस्थापनको समस्याले नेटवर्क नआउँने र फोन नलाग्ने समस्या रहन्छ । एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रुहरु तथा वरपरका स्थानीयहरु सहज सञ्चारबाट लाभान्वित भएका छन् । नेटवर्क नलाग्ने समस्या हटेको हुनाले जंगलको बाटोबाट यात्रागर्दा अब सुरक्षित महसुस भएको यात्रुहरु बताउँछन् ।
पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरि संचालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ । वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकोले एनसेलले गढन्ता र लक्ष्मिनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको हो ।
यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यलय (महोत्तरी), गढन्ता सब डिभिजन कार्यलय र बाके सब डिभिजन वन कार्यलयले सहयोग तथा सहजिकरण गरेका थिए । गत वर्ष मधेस प्रदेशका मुख्यमन्त्रीले समेत यो खण्डमा मोबाइलको नेटवर्क नहुँदा यात्रुहरुलाई सम्पर्कमा रहन गाह्रो भएको बताएका थिए र सुरक्षा–संवेदनशीलताको दृष्टिकोणबाट मोबाइल कनेक्टिभिटीको सुधार लागि जोड दिएका थिए ।











प्रतिक्रिया