काठमाडौँ
टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने भएका छन् । काठमाडौंमा जारी गरिएको जानकारीअनुसार नेपालको प्रविधि तथा सञ्चार क्षेत्रका अग्रणीमध्ये एक रमेश कर्प समूहअन्तर्गत पर्ने टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेशनसिप म्यानेजमेन्ट (सीआरएम) कम्पनी सेल्सफोर्ससँग सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने भएको हो ।
यस साझेदारीले नेपाली व्यवसाय सञ्चालनको तरिकालाई आधुनिक बनाउँदै विश्वस्तरीय डिजिटल समाधान र विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउनेछ । अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म प्रयोग गर्न सक्नेछन् भने स्थानीय सपोर्ट सुविधासहित आफ्ना व्यावसायिक कार्यलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्नेछन् ।
यस सहकार्यअन्तर्गत टेलिनेट प्रालि स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ । साझेदारीमार्फत नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सहज रूपमा अपनाउन सक्नेछन् । टेलिनेट प्रालिले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेशन पार्टनरको रूपमा काम गर्ने भएकाले व्यवसायहरूले एजेन्टफोर्स सेल्स, स्ल्याक र टेबल्युजस्ता सेवाहरू सजिलै उपयोग गर्न सक्नेछन् ।
सेल्सफोर्स समाधानले व्यवसायलाई स्मार्ट वृद्धि, उन्नत सहकार्य र डेटा–आधारित अन्तर्दृष्टि प्रदान गर्नेछ । एजेन्टफोर्स सेल्सले बिक्री टिमको कामलाई सरल बनाउँदै सबै ग्राहक जानकारी र अवसरहरू एकै स्थानमा उपलब्ध गराउँछ, जसले छिटो निर्णय लिन सहयोग पु¥याउँछ । यसले दोहोरिने काम घटाउने, ग्राहकलाई छिटो प्रतिक्रिया दिन सकिने र एआईमार्फत सही सुझाव प्रदान गरी व्यवसायको वृद्धि तीव्र बनाउने सुविधा दिन्छ ।
स्ल्याकले विखण्डित टिमहरूलाई रियल–टाइममा जोडेर सहकार्य बढाउने, कार्यप्रवाह स्वचालित गर्ने र संगठनभित्रका अवरोध हटाउने काम गर्छ । अफिसभित्र वा बाहिर जहाँ भए पनि टिमका सदस्यहरूले सन्देश, फाइल र मिटिङ एउटै स्थानबाट व्यवस्थापन गर्न सक्छन्, जसले विभागबीचको दूरी हटाउँदै कामलाई अझ सरल र प्रभावकारी बनाउँछ ।
त्यसैगरी टेबल्युले जटिल डाटालाई पनि चार्ट, ग्राफ र ड्यासबोर्डमार्फत सजिलै बुझ्न सकिने रूपमा प्रस्तुत गर्छ । यसले व्यवसायलाई आफ्नो कार्यसम्पादन, सुधार आवश्यक क्षेत्र तथा ग्राहक ट्रेन्ड तुरुन्तै पहिचान गर्न सहयोग पु¥याउँछ, जसका आधारमा अनुमानभन्दा तथ्यमा आधारित निर्णय लिन सकिन्छ ।
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा सेल्सफोर्सको उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । उनले एजेण्टिक एआई क्रान्तिको बीचमा नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका उल्लेख गर्दै उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न सेल्सफोर्स प्रतिबद्ध रहेको बताए ।
टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौती बनेको बताउँदै अब त्यो चुनौती अन्त्य हुँदै गएको उल्लेख गरे । टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्रमोर्चामा उभिएको बताउँदै उनले विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण र पूर्ण रूपमा अनुकूलित समाधानमार्फत एआई–आधारित विश्लेषणदेखि सहज सहकार्यासम्मका सबै क्षमताहरू नेपाली व्यवसायलाई उपलब्ध गराइने बताए ।
प्रारम्भिक चरणमा सेल्सफोर्स र टेलिनेटले प्रमुख आर्थिक क्षेत्रलाई लक्षित गर्दै परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्नेछन्, जसले द्रुत अपनत्व, प्रभावकारी प्रयोग र मापनयोग्य व्यवसायिक परिणाम सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
रमेश कर्पअन्तर्गतको टेलिनेट प्रालि सन् २००९ देखि नेपाली व्यवसायहरूको प्रवृद्धि र नवप्रवर्तनलाई सशक्त बनाउँदै आएको अग्रणी प्रविधि तथा सञ्चार सेवा प्रदायक हो । १६ वर्षको अनुभवी यात्रामा टेलिनेटले च्याटबोट तथा कल–सेन्टर अटोमेशन, तथा टेलिकम अपरेटरहरूका लागि मेसेजिङ, बिलिङ र इन्टेलिजेन्ट इन्गेजमेन्टजस्ता भ्यालु–एडेड सेवामार्फत व्यवसायहरूलाई सक्षम बनाउँदै आएको छ ।











प्रतिक्रिया