कथाकार डा. टीकाराम पोखरेलको अन्त्यारम्भ कथासङ्ग्रह (२०८२) प्रकाशित भएको छ । उनको यो दोस्रो कथासङ्ग्रह र नवौँ पुस्तकाकार कृति हो । यसभन्दा अगाडि उनको पहिलो कथासङ्ग्रहको रूपमा धोको नामक कथासङ्ग्रह (२०५६) प्रकाशित भएको थियो । दोलखाको साहित्यिक रूपरेखा, दोलखाका व्यक्तित्वहरू, सिद्धान्त सिर्जना र समालोचना, ऐतिहासिक उपन्यासः सिद्धान्त र स्वरूप, हाइ हाइ ! नेपाल बन्द (व्यङ्ग्य सङ्ग्रह), लोकतन्त्रमा मानवअधिकार र मानवअधिकारका सिद्धान्त र क्षेत्र नामक कृतिहरू प्रकाशित गराइसकेका पोखरेल पछिल्लो समय सशक्त लघुकथाकारका रूपमा देखिएका छन् ।

अन्त्यारम्भ कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका हरेमुरारे, बिहेको कोट, गाउँ हराएको सूचना, कथाभित्रको कथा, भूतपूर्व प्रेमिकालगायतका विभिन्न शीर्षकका २१ वटा कथाहरू समावेश गरिएका छन् । यी कथाहरू कतिपय यसअगाडि विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकररूपमा प्रकाशित भइसकेका कथा हुन् भने कतिपय कथा नयाँ छन् । सङ्ग्रहभित्रको हरेमुरारे शीर्षकको पहिलो कथामा गाउँबाट हिँडेको बीस वर्षपछि देवानन्द गाउँ फर्किएको, फर्किंदा देवानन्द श्रीकृष्ण गोविन्द हरेमुरारीको अवतारमा आएको र गाउँलेले शुरुका केही वर्ष उसलाई देवानन्द भन्ने गरे पनि कालान्तरमा उनले आफ्नो पहिचान धार्मिक पात्र श्रीकृष्ण गोविन्द हरेमुरारीको रूपमा स्थापित गराएको तर काम भने धर्मको खोल ओडेर कुकर्म गरेको भन्दै समाजका छद्मभेषीहरूको चरित्रलाई उदाङ्गो पारिएको छ ।
बिहेको कोट शीर्षकको कथामा भर्खरै जुँगाको रेखी बस्दै गरेको रघु गाउँघरमा कोट लगाएका मान्छे देखेर लोभिने गरेको, कोट शब्द कानमा पर्नासाथ रघुले ठाडो कान लगाएको, आफूले पनि त्यस्तो कोट लाउने रहर गरेको सन्दर्भलाई बालमनोविज्ञान र बालविवाहसँग जोड्दै अभिभावकले आफ्ना सन्तानको बालमनोविज्ञान नबुझ्दा मान्छेको जिन्दगीमा पर्ने असरको चित्र कोरिएको छ ।
गाउँ हराएको सूचना शीर्षकको कथामा हरिहरले गाउँ छोड्दा गाउँमा मोटरबाटो नपुगेको भए पनि अहिले मोटरबाटो पुगेको, मोटरबाटो त के भनौँ मोटरबाटोजस्तो लाग्ने गरी डोजरले डाँडा काटेर माटो फालेको, जताततै डोजरले काटेर गाउँको अनुहार चारपाटे मुडेको टाउकोजस्तो देखिएको भन्दै विगतको गाउँ अब त्यस्तो नरहेको तीतो यथार्थको चित्र कोरिएको छ । कथाभित्रको कथा शीर्षकको कथामा उन्मत्त यौन र बाध्यात्मक यौनको सन्दर्भ छ ।
उम्लेपछि पोखिन्छ, निरन्तर पोखिएपछि रित्तिन्छ । यो प्रकृतिको नियम हो । अन्ततः आधा घण्टा उम्लिएपछि ऊ पनि रित्तियो । आफू रित्तिएपछि उसले सोनियाँलाई छोड्यो, जुम्राले मृत शरीर छोडेझैँ भन्दै यस कथाले मानिसको मनोदशा र जिन्दगीमा नियतिको खेललाई प्रस्ट्याएको छ ।
भूतपूर्व प्रेमिका शीर्षकको कथामा मैले उसको इच्छा पूरा गर्न नसकेपछि उसले असन्तुष्टिका साथ भनी– तिमी मेरो लागि यति एउटा फ्ल्याटको डिमान्ड त पूरा गर्न सक्दैनौ भने तिमी मलाई के प्रेम गर्छौ ? भनेर प्रेमका नाममा प्रेमिकाले गरेको भौतिक मागका विसङ्गत पक्षलाई उतारिएको छ ।
मातृत्व भोक शीर्षकको कथामा मानव प्रकृतिको सिर्जना हो, प्रकृति आफैँमा माता हुन्, यिनै प्रकृति माताले मेरो पिताको बीज मेरी माताको गर्भमा रोपेर मलाई जन्माइन् भन्दै नारीलाई आफ्नो मातृत्व कति प्रिय छ भन्ने कुरा उजागर गरिएको छ ।
त्यस्तै चरित्र(हीन) शीर्षकको कथामा पतिले पत्नीमाथि गर्ने व्यवहारको चित्र कोरिएको छ । विवेक एक्लै बर्बराउन थाल्यो, अफिसबाट समयमा आउनु छैन, समयमा भात पकाउनु छैन, न कपडा आइरन गरेको छ, न घर सफा सुग्घर छ भनेर पतिले पत्नीलाई आफ्नो सेवक बुझेको जस्ता सन्दर्भ छन् ।
स्वानसभा शीर्षकको कथामा गाईजात्राका बारेमा अनेक कुरा सोच्दै गाईजात्रा हेर्न राजधानीको सडक चोकतिर भौँतारिँदै गरेको, तर राजधानीका सडक चोकमा गाईहरू नभेटिएको, जताततै गाडी नै गाडी पाइएको, गाडीको ट्याँट्याँ टुँटुँले आतङ्क मच्चाइरहेझैँ लागेको भन्दै सांस्कृतिक विषयलाई उठान गरेर राजनीतिक व्यङ्ग गरिएको छ । बेपत्ता न्याय शीर्षकको कथामा कुन बेला को कहाँ मारिने हो अनिश्चित थियो, बन्दुकको आँखा हुँदैन, बन्दुकले दोषी निर्दोषी चिन्दैन भनेर कथाकारले द्वन्द्वकालीन अवस्थाको चित्रण गरेका छन् ।
चरित्रहीन, छोक्रा, लिलामीमा प्रेम, नजन्मेकी विराङ्गना, भगवान्जस्ता कथाहरूले नारी अधिकारको पक्षमा वकालत गरेका छन् । अधिकार हराएको चित्र, वर्गशत्रु, जनताको पार्टी, बेपत्ता न्यायजस्ता कथाहरू देशको राजनीतिक विकृति र मानवअधिकारको चरम दुरवस्थाको चित्रणमा केन्द्रित छन् ।
जिन्दगी एक भकुण्डो मानिसका जिन्दगीका घुम्तीहरू नियाल्नमा केन्द्रित छ । पुस्तकको नामकरण बोकेको सङ्ग्रहको अन्तिम कथा अन्त्यारम्भ भने मानव जीवनदर्शन हो । अन्त्य अर्को आरम्भ हो भन्ने दार्शनिक दृष्टिकोण अन्त्यारम्भ कथामा पाइन्छ । स्वानसभाजस्तो कथाले देशको वर्तमान राजनीतिप्रति तीव्र व्यङ्ग्य गरेको छ । कामोद्यान कथा पूर्णरूपमा प्रेमको भोक र यौनको भोकमाथिको दोहोरो बहसमा केन्द्रित छ । समग्रमा सङ्ग्रहभित्रका कथाहरूमा सामाजिक विसङ्गति, प्रेमका जटिलता, मानवताको ह्रास, राज्यको नागरिकप्रतिको उदासिनता, न्यायप्रणालीमा देखिएका कमजोरी, लैङ्गिक विभेद र समाजका छद्मभेषी पात्रहरूको चरित्रजस्ता विषय उठान गरिएका छन् ।
कथाकार डा. टीकाराम पोखरेलको साहित्यमा झुकाव निरन्तर रहिरहेको छ । सामाजिक जागरण र चेतना जगाउन उनले झन्डै चार दशक साहित्यिक लेखन र अभियानमा आफूलाई समर्पित गरेका छन् । कतिपय कथाहरू दशकअगाडि लेखिएकाले केही कथाहरु समसामयिकताका दृष्टिले अलि कमजोर पनि छन्, तर ती अधिकांश कथाहरू सामाजिक परिघटनाहरूको दृष्टान्त बन्न पुगेका छन् । यो कथाकारको विशेषता हो । हुन त यही नै पूर्ण हो भन्न खोजेको हैन, यसभित्र पनि केही सुधारका पक्षहरू अवश्य छन् ।
समग्रमा भन्नुपर्दा विचारका दृष्टिले यसभित्रका सबै कथाले व्यापक सन्देश प्रवाह गरेका छन् । सङ्ग्रहमा कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु, जीवनदर्शन, भाषाशैली आदि तत्वलाई समायोजन गरेर कथाहरू लेखिएका छन् ।
कथाकार पोखरेलका कथाहरूले पाठकको संवेदनालाई जुर्मुराइदिएको पाइन्छ । उनले लेखेका कथाहरू मनोवैज्ञानिक यथार्थ, प्रेम र सामाजिक चरित्रका त्रिकोणात्मक सन्दर्भका छन् । कथाकारले आफ्ना कथाहरूमा एउटा सामाजिक चिकित्सकले झैँ जीवनदर्शन र मनोविज्ञानको बहसको प्रवेश गराएका छन् । कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ ।
कथाकार डा. पोखरेलमा घटनालाई टपक्क टिपेर अनुकूल परिवेशले सिँगार्ने खुबी छ । यिनको कलम तीखो छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेका छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरूको उपयुक्त संयोजनबाट राम्रा कथाहरू सिर्जना गर्न उनी सफल छन् ।
कथाकार डा. टीकाराम पोखरेलको यो कथासङ्ग्रह अन्त्यारम्भ यसै वर्ष वि.सं. २०८२ मा सुन्दर स्वदेश पब्लिकेसन, काठमाडौंले प्रकाशन गरेको हो । पृष्ठसङ्ख्या १६२ रहेको यस कृतिको मूल्य रु. ४००।– अङ्कित गरिएको छ ।
डा .टीकाराम पोखरेल साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएका हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरू खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् । अन्यमा कथाकार डा. पोखरेलको लेखनयात्रा अझै अगाडि जान सकोस् । शुभकामना !











प्रतिक्रिया