डा. पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित


नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।

कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यता, मानवताको ह्रास, राजनीतिक विकृति, विसङ्गति, सामाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान गरिएका छन् ।
कल्पनाभन्दा बढी भोगाइ, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यङ्ग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् ।

एक्काइस वटा कथाहरु समेटिएको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । डा. पोखरलेको यो नवौँ कृति र दोस्रो कथासङ्ग्रह हो । यसअगाडि पोखरेलको धोको (२०५६) कथासङ्ग्रह प्रकाशित भइसकेको छ ।