जगदम्बा मोटर्सद्वारा दुई नयाँ मोडेल सार्वजनिक


काठमाडौँ
शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोटरसाइकल मोडेलको भव्य शुभारम्भ गरेको छ। असोज ५ गते (सेप्टेम्बर २१, २०८२) राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आयोजित विशेष कार्यक्रममा टिभिएस अपाचे आरटिआर १६० २भी एफ–आई बिएस–६ र टिभिएस रेडर आइगो नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरिएका हुन्। कम्पनीले दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउने दाबी गरेको छ ।

अपाचे आरटिआर १६० २भी एफ–आई बिएस–६ अपाचे रेसिङ डीएनएबाट प्रेरित नवीनतम संस्करण हो । यसमा बिएस–६ फ्युल इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ । यस मोडेलमा १५९.७ सिसि एफ–आई इन्जिन रहेको छ, जसले ८४०० आरपीएममा १६.०४ पीएस पावर र ७००० आरपीएममा १३.८५ एनएम टर्क उत्पादन गर्छ। करिब ५० केएमपीएलसम्मको दक्षता दिने उन्नत एफ–आई प्रणाली, आक्रामक युरोपेली डिजाइन, जीवनभरको वारेन्टी, रेस–ट्युन सस्पेन्सन, एबिएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्ट–एक्सोनेक्ट जस्ता आधुनिक सुविधासहित यो बजारमा ल्याइएको हो ।

त्यस्तै, नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै प्रस्तुत गरिएको टिभिएस रेडर आइगो शैली र प्रदर्शन दुवै चाहनेका लागि उपयुक्त मानिएको छ। यसमा १२५ सिसि इन्जिन जडान गरिएको छ, जसले पावर र माइलेज दुवैमा उत्कृष्ट परिणाम दिने कम्पनीको दाबी छ । आधुनिक ट्याङ्क डिजाइन, एलईडी हेडलाइट, पूर्ण डिजिटल क्लस्टर, सीट मुनिको स्टोरेज, उन्नत राइड मोड्स र कनेक्टिभिटी फिचरले यो मोटरसाइकललाई युवा पुस्ताको रोजाइमा पार्ने अपेक्षा गरिएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार, “अपाचे आरटिआर १६० २भी एफ–आई बिएस–६ ले दमदार रेसिङ प्रदर्शन गर्नेछ भने रेडर आइगोले शैली, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ । यी मोडेलहरूले टिभिएस ब्रान्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछन् ।”

यी मोटरसाइकलहरू नेपालभरका सबै टिभिएस डिलरशिपमा उपलब्ध हुने जनाइएको छ । ग्राहकले विभिन्न रंग विकल्प, सुविधाहरू तथा आकर्षक लञ्च अफरहरू पाउनेछन् । थप जानकारीका लागि नजिकको टिभिएस शोरुममा सम्पर्क गर्न वा टिभिएस नेपालका डिजिटल प्लेटफर्महरू फलो गर्न सकिने छ ।