मुस्ताङको चराङमा नेपालको सबैभन्दा उच्च उचाइमा इभी चार्जिङ स्टेशन


काठमाडौँ

एसपिजी अटोमोबाइल्सले मुस्ताङ–जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ विद्युतीय गाडी (इभी) चार्जिङ स्टेशन स्थापना गरेको छ । दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आज एक कार्यक्रमबीच चार्जिङ स्टेशनको औपचारिक उद्घाटन गर्नुभयो ।

३,५०० मिटरको समुद्री सतहभन्दा माथि अवस्थित यो चार्जिङ स्टेशन नेपालमै सबैभन्दा उच्च उचाइमा रहेको मानिन्छ । ओमोडा–जेइको कम्पनीद्वारा स्थापित यस स्टेशनले उपल्लो मुस्ताङ र कोरला तर्फ गएका यात्रुलाई सहज र भरपर्दो सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । यसअघि जोमसोम पछाडि चार्जिङ सुविधा नहुँदा यात्रुहरूले आफ्नो इभी छोडेर मात्र यात्रा अगाडि बढाउनुपर्ने अवस्था थियो ।

उद्घाटन समारोहमा एसपिजी अटोमोबाइल्सका सर्भिस एन्ड अफ्टर सेल्स महाप्रबन्धक कृष्ण पोखरेलले प्राविधिक चुनौतीहरूको प्रसंग उठाउँदै भन्नुभयो, “नेपाल विद्युत प्राधिकरणले चराङसम्म ३३ केभी ट्रान्समिसन लाइन नपुर्याएकाले अस्थायी रूपमा आधारभूत चार्जिङ सुविधा उपलब्ध गराइएको हो । यो पहल स्थानीय प्रतिनिधि र सरोकारवालासँगको सहकार्यकै परिणाम हो ।”

चार्जिङ स्टेशन स्थापनाले उपल्लो मुस्ताङको यातायात प्रणालीलाई सहज बनाउनका साथै स्थानीय तहमा रोजगारी सिर्जना र वातावरणीय दिगोपनामा योगदान पु¥याउने विश्वास गरिएको छ ।

यस उपलब्धिसँगै एसपिजी अटोमोबाइल्स र ओमोडा–जेइकोले नेपालको दुर्गम र उच्च पहाडी क्षेत्रमा समेत भरपर्दो इभी पूर्वाधार विस्तार गर्दै दिगो मोबिलिटी समाधानमा नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।