लक्ष्मी ग्रुपद्वारा “लाक्स्पेरिएन्स २०२५” प्रदर्शनी


काठमाडौं

नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साल भदाै ७ र ८ गते (शनिबार र आइतबार) काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा “लाक्स्पेरिएन्स २०२५” नामक भव्य प्रदर्शनी आयोजना गर्ने भएको छ। बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीलाई हुन्डाई, बिएमडब्लु, काई यी र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउने लक्ष्मी ग्रुपले जनाएको छ ।

नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्लु को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा आगन्तुकहरूले विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयल्टी बोनसका साथै सजिलो फाइनान्स र इन्स्योरेन्स सुविधा पाउनेछन्। यसले नयाँ कार किन्ने वा पुरानो साट्न इच्छुकहरूलाई उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्मी ग्रुपको भनाइ छ।

कार प्रदर्शन मात्र नभई नयाँ मोडल अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने र व्यक्तिगत सुझाव प्राप्त गर्ने अवसर पनि आगन्तुकहरूले पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी तथा सबै उमेर समूहलाई आकर्षित गर्ने विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई थप रोचक बनाउनेछन्।

लक्ष्मी ग्रुपले यस प्रदर्शनीमार्फत ग्राहकहरूलाई नवीनतम अटोमोबाइल प्रविधि र सेवासँग जोड्ने उद्देश्य राखेको जनाएको छ।