टाटा कारलाई रेलले ठक्कर दिँदा पनि सबै सुरक्षित


काठमाडौँ
जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किँदा कारमा सवार तीनै जना यात्रु सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी रेल्वे स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको टाटा टियागो कार क्रसिङ क्षेत्रमा ठोक्किएको थियो ।

ठक्करका कारण कारमा बाह्य क्षति भए पनि यसको संरचनात्मक मजबुतीका कारण यात्रुहरूलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीले ठक्करको ठूलो आवाज सुनिएको र तत्कालै प्रभावकारी उद्धार कार्य सम्पन्न भएको बताएका छन् ।

दुर्घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भए पनि प्रहरीको पहलमा चाँडै सेवा सुचारु गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यात्रुहरू सुरक्षित रहनुमा कारको बलियो संरचना निर्णायक भएको ठहर गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।