काठमाडौँ
नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौं ३ गतेदेखि काठमाडौँमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको हो ।
नाडाले यसपालि ‘गो फर मोर’ भन्ने मूल नारासहित अटो क्षेत्रका नवीनतम प्रविधि र स्मार्ट मोबिलिटी समाधान प्रस्तुत गरिने जनाएको छ । नाडाले मंगलबार पत्रकार सम्मेलन गर्दै नाडाले प्रदर्शनीको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो ।
अटो शो प्रविधि, स्मार्ट मोबिलिटीको उज्यालो बाटो र स्वदेशी उत्पादनको उजागर मञ्च बन्ने नाडाको दावी छ । नाडाले भन्यो, ‘यो प्रदर्शनी केवल सवारी साधनको प्रदर्शनी मात्रै नभई, नेपालको अटोमोटिभ भविष्यतर्फको यात्रा हो । जहाँ दिगोपन, स्वचालन र स्मार्ट सोचको संगम पनि हुनेछ ।’
अटो शोको विशेष आकर्षणमध्ये युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभी (सहरी हवाई मोबिलिटीको झलक दिने प्रविधि) प्रमुख रूपमा रहनेछन् । यी प्रविधिहरू नेपालमा पहिलोपटक सार्वजनिक रूपमै प्रस्तुत गर्ने तयारी नाडाको छ ।
यस वर्षको अटो शोमा १९ वटा यात्रुवाहक गाडी ब्रान्डहरू सहभागि हुनेछन् । यस्तै, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्डहरू तथा ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिनेछ । ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकसहित ३५ कम्पनीका छुट्टाछुट्टै स्टल रहने नाडाले जनाएको छ ।
कुल १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने अनुमान गरिएको छ । नाडाले प्रदर्शनीको एक लाखभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ ।
प्रदर्शनीमा ऐतिहासिक सवारी साधान राखिनेछन् । विन्टेज मोटर शो, मेड इन नेपाल प्याभिलियन र सेमिनार तथा अन्तरक्रिया पनि रहने छ ।
विन्टेज मोटर शो अन्तर्गत मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, मर्सिडिज बेंज, टोयोटा आरटी४०, टोयोटा कोरोल्ला लगायत क्लासिक कारहरू प्रदर्शन गरिनेछ । ‘मेड इन नेपाल प्याभिलियन’ अन्तर्गत स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ ।
यस्तै, सेमिनार तथा अन्तरक्रियामा ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा आधारित गोष्ठी, कार्यशाला तथा विशेषज्ञ संवाद आयोजना गरिने नाडाले जनाएको छ ।
शोको दौरान आगन्तुकको सुरक्षालाई ध्यानमा राखिएको नाडाले जनाएको छ । विभिन्न जोनमा विभाजन, मेडिकल टोलीको व्यवस्था, ट्राफिक सूचना सहायता डेस्क, आगलागी नियन्त्रण र निगरानी प्रणाली समेत परिचालन गरिनेछ ।
कार्यक्रमको एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती बाइ आईएमई’ रहनेछ । खल्तीमार्फत भदौ २ गतेसम्म अग्रिम टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत क्यासब्याकको सुविधा पाउनेछन् ।
अटो शोको टाइटल स्पोन्सर भने एमएडब्ल्यु वृद्धि रहेको छ । यस्तै, को–स्पोन्सरमा शिखर इन्स्योरेन्स रहनेछ भने मोबिलिटी पार्टनर यांगो रहने छ ।
यसैबीच, नेपाल ल्युब तेलले शोका क्रममा १२ जना भाग्यशाली विजेतालाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।












प्रतिक्रिया