काठमाण्डौँ
नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप, सारथी केबल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी सम्झौता गरेको छ ।
बुधवार काठमाण्डौँस्थित होटल मेरियटमा आयोजित औपचारिक कार्यक्रममा सम्झौतापत्रमा सारथी केबल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले आर्थिक वर्ष २०८२÷८३ भित्रमा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस सेयर निष्कासनबाट आम नेपाली नागरिकले नेपालमै सम्भावनायुक्त तथा भविष्यमुखी उद्योगमा लगानी गर्ने अवसर पाउनेछन् ।
आईपीओबाट उठ्ने पूँजी प्रयोग गरी कम्पनीले नेपालमै पहिलो पटक भूमिगत केवल उत्पादन सुरु गर्ने तयारी गरेको छ । यसका साथै, अत्याधुनिक प्रविधिसहित एल्युमिनियम पगाल्ने कारखाना (फर्नेन्स प्लान्ट) जडान गर्ने योजना रहेको छ। यस प्रयासले नेपाललाई विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै गुणस्तरीय पूर्वाधार विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेड विगत १८ वर्षदेखि केवल तथा तार उत्पादनमा क्रियाशील रहँदै आएको छ। कम्पनी मल्टि–स्ट्रान्ड केवल, पावर केवल, कन्सेन्ट्रिक केवल र एसीएसआर कन्डक्टर जस्ता सामग्री उत्पादनमा विशेषज्ञ मानिन्छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष अंकित भुसालले भन्नुभयो, “यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो । भूमिगत केवल उत्पादनको विस्तार — जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ — हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधानको बाटो समातेका छौं ।”
सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले यस सहकार्यलाई गौरवको विषय भन्दै भने, “यस परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर हुनेछ ।”
नेपालमा हाल करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ। सन् २०३५ सम्ममा २८,५०० मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य रहेको अवस्थामा उच्च गुणस्तरको विद्युत् पूर्वाधारको आवश्यकता झनै बढिरहेको छ ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सुरू गर्न लागेको भूमिगत केवल उत्पादनले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउने र दीर्घकालीन विश्वसनीयता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया