एशियन ब्याट्रीजको आईपीओ निष्कासनका लागि हिमालयन क्यापिटलसँग सम्झौता


काठमाडौं
नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता क्षेत्रमा क्रियाशील एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२०७८ असार ३१ गते काठमाडौंमा सम्पन्न सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एशियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उद्योगको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सोको २० प्रतिशत अर्थात १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यसले एशियन ब्याट्रीजलाई नेपालकै भरोसायोग्य ऊर्जा समाधान प्रदायक कम्पनी बनाउने यात्रामा महत्वपूर्ण मोड थपेको कम्पनीको भनाइ छ ।

सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ ।

नेपालकै सबैभन्दा विश्वसनीय ‘पावर सोलुसन ब्रान्ड’ बन्ने लक्ष्य लिएको कम्पनीले निकट भविष्यमै लिथियम आयन ब्याट्री उत्पादन तथा प्रयोग भइसकेका ब्याट्रीहरूको पुनःप्रशोधन सुरु गर्ने योजना बनाएको छ । कम्पनीले वारेन्टीसहित भरपर्दो उत्पादन र छिटो सेवा दिने प्रतिबद्धता जनाएको छ ।

देशका प्रमुख स्थानहरूमा फैलिएको १० वटा शाखामार्फत कम्पनीले आफ्नो सेवा र उत्पादनको सहज पहुँच सुनिश्चित गर्दै आएको छ । नेपालमै निर्माण भएका एशियन ब्याट्रीका उत्पादनहरू गुणस्तरमा अब्बल, मूल्यमा सुलभ तथा दिगो उपभोगका लागि उपयुक्त भएकाले घरायसी तथा व्यवसायिक दुवै ग्राहकका लागि पूँजीगत र सञ्चालन खर्च घटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।