हिरोमु इनाडा, एक यस्तो नाम, जसले समय र शारीरिक सीमाहरूलाई बारम्बार चुनौती दिएका छन् । ९२ वर्षको उमेरमा पनि उनी रेस ट्रयाकमा दौडिरहेका छन्, जीवनका हरेक मोडमा आत्मबल र अटल इच्छाशक्तिको विजय देखाइरहेका छन् । जब अधिकांश मानिसहरू आरामको खोजीमा सेवानिवृत्त जीवन बिताइरहेका हुन्छन्, हिरोमु भने तीव्र गति र असम्भव लाग्ने लक्ष्यहरूतर्फ अघि बढिरहेका छन् । उनी केवल एक एथिलट मात्र होइनन्, उनी प्रेरणाको ज्वाला हुन्, जसको उज्यालोले सम्पूर्ण संसारलाई उमेरको परिभाषा पुनः लेख्न बाध्य पारेको छ ।
सन् २०१८ को कुरा हो । स्थान कोंना, हवाई, प्रचण्ड घाम, नुनिलो समुद्री पानी र ज्वालामुखी ढुंगाले बनेका कष्टकर बाटाहरू । जहाँ आयोजना भएको थियो आइरनम्यान वल्र्ड च्याम्पियनसिप । यो विश्वकै सबैभन्दा कठिन ट्रायथलन हो, जहाँ २ दशमलव ४ माइल पौडी, ११२ माइल साइकल र २६ दशमलव २ माइल दौड पूरा गर्नुपर्छ । धेरै बलिया र तन्दुरुस्त खेलाडीहरूले अधुरो छाडेको यस रेसमा हिरोमुले ८८ वर्षको उमेरमा भाग मात्र लिएनन्, सफलतापूर्वक पूरा पनि गरे । त्यो क्षण खेल जगतका लागि मात्र होइन, सम्पूर्ण मानव समाजका लागि एक अद्भुत प्रेरणा बन्यो ।

मानौँ समय आफैँले उनको अडानको अगाडि हार मानेको थियो । तर, त्यो विजय हिरोमुको यात्रा अन्त्यको संकेत थिएन । सात वर्षपछि, सन् २०२५ को शुरूवातमा ९२ वर्षीय हिरोमु फेरि रेस मैदानमा देखा परे । यसपटक अस्ट्रेलियाको क्यान्स सहरमा आयोजना भएको आइरनम्यान ७० दशमलव ३ मा उनले भाग लिए । यद्यपि यो दूरी पूर्ण आइरनम्यानको भन्दा आधा थियो । दूरी ७० दशमलव ३ माइल, उनको उमेरका हिसाबले यो कुनै पनि कोणबाट सजिलो भने थिएन । रेसमा उनले १ दशमलव २ माइलको पौडी १ घण्टा १४ मिनेट ५८ सेकेन्डमा, ५६ माइलको साइकल यात्रा ४ घण्टा ५३ मिनेट १ सेकेन्ड र १३ दशमलव १ माइलको दौड ३ घण्टा ४६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । कुल समय १० घण्टा ११ मिनेट २३ सेकेन्ड भए पनि यो औपचारिक रूपमा तोकिएको समयसीमा भन्दा बढी थियो । तर, आयोजकहरूले उनको संकल्प र साहसको सम्मान गर्दै उनलाई फिनिस लाइन पार गराए । त्यो क्षण, त्यो दृश्य, उपस्थित दर्शकहरूका आँखामा आँसु ल्याउने खालको थियो । किनकि त्यो केवल रेसको अन्त्य होइन, मानवीय सम्भावनाको महाकाव्य थियो ।
हिरोमु इनाडाको ट्रायथलन यात्रा ६० वर्षको उमेरमा शुरू भएको हो । उद्देश्य सामान्य थियो, तौल घटाउने र स्वास्थ्य सुधार गर्ने । तर, त्यो सामान्य संकल्पले उनलाई असाधारण यात्रामा डोहो¥यायो । उनको विचारमा जीवन एउटा दौड हो । जहाँ गति होइन, गन्तव्यसम्म पुग्ने आँटले नै तपाईंलाई विजेता बनाउँछ । हिरोमु इनाडाको कथा केवल खेलकुदको कथा होइन । यो इच्छाशक्ति, आत्मबल र मानसिक दृढताको यात्रा हो । उनले संसारलाई देखाएका छन् कि शरीर बुढो हुन सक्छ, तर मन कहिल्यै थाक्दैन । उनका जीवनका पानाले हामीलाई सम्झाउँछ कि “उमेर केवल संख्या हो ।” उनी अझै दौडिरहेका छन्, समयसँग, चुनौतीसँग र सबैभन्दा बढी जीवनसँग ।











प्रतिक्रिया