काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीविरुद्ध करिब ४ करोड ५९ लाख रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गर्दै महतोले सार्वजनिक पदमा कार्यरत रहँदा आय स्रोत विपरीत अमिल्दो खर्च गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको ठहर गरिएको जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, महतोले २०४६ सालदेखि २०७८ सालसम्म सार्वजनिक पदमा कार्यरत रहँदा वैध आय ३ करोड ३७ लाख ७९ हजार ४ सय ३४ रहेको देखिएकोमा, सोही अवधिमा उनले आर्जन तथा खर्च गरेको सम्पत्ति ७ करोड ९६ लाख ७६ हजार ८ सय ४ रुपैयाँ २३ पैसा रहेको पाइएको हो। यसरी कुल आयभन्दा ४ करोड ५८ लाख ९७ हजार ४ सय ३ रुपैयाँ ८८ पैसा बढी सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ।
आयोगको अनुसन्धानमा बैंक स्टेटमेन्ट, चेक भौचर, धितो मूल्यांकन प्रतिवेदन, मालपोत कार्यालयका अभिलेख, विद्यालय शुल्क विवरण, बीमा तथा सहकारीसम्बन्धी कागजात, व्यक्तिगत बयान लगायतका विविध स्रोतहरूबाट प्राप्त प्रमाणहरूको समष्टिगत विश्लेषणपछि महतोको आय–व्यय विसङ्गति पुष्टि भएको हो।
महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१), (२) र दफा १६ (२) अनुसार कैद, जरिवाना र सम्पत्ति जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
त्यस्तै, महतोले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा जग्गा, शेयर, घर तथा बैंक मौज्दात राखेको भन्दै, उनीविरुद्ध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको आयोगले जनाएको छ।
आयोगले सो सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) अनुसार जफत गरियोस् भन्ने मागसमेत विशेष अदालतमा दाबी गरेको छ।











प्रतिक्रिया