संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै


काठमाडौं ।

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् । दलहरुबीच सहमति नजुटे आज पनि बैठक कार्यसूचिमा प्रवेश गर्ने अन्यौल नै छ ।