प्रतिपक्षीको अडान यथावत, संसद् बैठक अनिश्चित


काठमाडौँ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठिसकेपछि गृहमन्त्री लेखकको राजीनामा नआएकाले संसद् बैठक चल्न नसक्ने धारणा राखेका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षीको अडान र पहिले संसद्मा बोल्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण कुरा मिनल्न नसकेको जानकारी दिए ।

विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग बुधबार दिउँसो छलफल गरेका हुन् ।

तर दुवै पक्षले अडान नछाडेपछि बुधबार दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अनिश्चित भएको हो । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।