काठमाडौँ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद् सूचकहरुको संजाल मार्फत विपद्को पूर्व जानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताएका छन् ।
स्वीजरल्याण्डको जेनेभामा संचालन भईरहेको बिपद् जोखिम न्यूनीकरणको लागि बिश्वव्यापी प्लेटफमको आठौं सत्रलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धि उच्चस्तरीय तालिम संचालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउदै समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजताआउने भएकोले सशस्त्र प्रहरी बल नेपालले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
यस प्रकारको संजाल र सामुदायिक साझेदारीले विपद्को पूर्व तयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मी बीचमा समन्वय हुने भएकोले यो कार्य विपद्सँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुनेमा जोड दिदै महानिरीक्षक अर्यालले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशिलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा सम्वाद मार्फत विश्व सम्वादको थालनी गरेको बताए ।

सम्बोधनको क्रममा उनले नेपाल प्राकृतिक विपद्हरुको अग्रपंक्तिमा रहेकोेले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनिकरण गर्न दृढ प्रतिबद्ध रहेको बताए । विश्वभरीका विपद्सँग सम्बन्धित देशहरुको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामुहिक प्रयास अन्तर निकाय समन्वय हुनेपर्नेमा जोड दिए।
विपद् व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन डिजास्टर गभरमेन्ट्स राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरुको प्रतिज्ञा पुरा गर्न एकैसाथ कृयाशिल हुनुपर्ने र त्यसलाई पुरा गर्नको लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी गराए ।
नेपाली भूगोल समुन्द्री सतहबाट ५९ मिटरदेखि ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथासम्म रहेकोले भूकम्प, बाढी, पहिरोे, चट्याङ जस्ता प्रकोपहरुको सामना गरिरहेको तथा स्थानीय रुपमा गरिएको कार्य तथा विश्वव्यापी रणनीतिहरुमा एकसाथ अघि बढ्न सकिने उनले बताए । होचो भू–भागदेखि अग्लो भू–भागसम्म हाम्रा सुरक्षाकर्मिले विपद्मा गरेको अनुभव र कार्यकुशलता विश्वको जुनसुकै राष्ट्रमा पनि उपयोग हुने समेत महानिरीक्षक अर्यालले बताए ।
विपद्मा अन्तर्राष्ट्रिय सहकार्यको लागि आह्वान गर्दै महानिरीक्षक अर्यालले दिगो विकास लक्ष्यहरुको प्रतिज्ञा पुरा गर्न एकैसाथ कृयाशिल हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी समेत सहभागि हुनुभएको डिएसपी थापाले जनाए ।











प्रतिक्रिया