ललितपुर।
रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा विराजमान गराउन पाउँदा स्थानीय निकै हर्षित भएका छन् ।
आइतबार जावलाखेलमा भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमतीस्थित मन्दिरमा विराजमान गराइएको हो । शिखर शैलीको सो मन्दिर ५२ प्रकारको इँटा प्रयोग गरी पुनःनिर्माण गरिएको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर पूर्ण रूपमा क्षति भएपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरबाहिर रहेको टहरामा राख्दै आएको थियो ।
जावलाखेलबाट परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिएको थियो । मच्छिन्द्रनाथलाई आफ्नै घरमा विराजमान गराउन पाउँदा स्थानीयसहित भक्तजनको मुहारमा गज्जबको खुसी र उत्साह देखिन्थ्यो ।
जावलाखेलबाट रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्दा सयौं मानिसहरू दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बाल्ने चलन रहेको छ । यस परम्परा यसपटक विशेष उत्साह छाएको थियो । रातो मछिन्द्रनाथको स्वागत गर्दै बाटो देखाउन सयौंको संख्यामा मानिसहरू हातहातमा छ्वाली लिएर कुरिरहेका थिए । यसपटक छ्वाली बाल्नेहरूको संख्या अत्यधिक रहेको पाइयो । रातो मछिन्द्रनाथको मूर्तिलाई नख्खु हुँदै बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरू बालेर देवतालाई बाटो देखाइएको थियो । वर्षा र सहकालका देवताका रूपमा रहेको रातो मच्छिन्द्रनाथलाई उपत्यकावासीले मनमष्तिष्कदेखि आराध्य देवताका श्रद्धा र आस्था प्रकट गर्ने गरिन्छ । यही मनोभावले गर्दा पनि रातो मच्छिन्द्रनाथलाई आफ्नै मन्दिरमा विराजमान गराउने तयारीमा महिनांै दिनदेखि जुटेका थिए । जावलाखेलमा भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथलाई छ महिना बुंगमती र छ महिना पाटनको तबहालमा राख्ने गरिन्छ ।
अनेक कठिनाइलाई पारे गरेर मन्दिर पुनःनिर्माण सम्पन्न भएकोले पनि स्थानीयहरूमा बढी खुशी छाएको हो । भूकम्पले क्षति भएका ९० प्रतिशत मन्दिरको पुनःनिर्माण कार्य सकिएपछि पनि सो मन्दिर पुनःनिर्माण कार्य सम्पन्न भएको थिएन । यसले गर्दा सबैतिर चिन्ता र चासो प्रकट गर्दै आएको थियो । यस मन्दिर पुनःनिर्माणमा निकै सकस भएको थियो । भूकम्प गएको चार वर्षपछि पेरा र तुलसी कन्सट्रक्सन जेभीसहित तीन ठेकेरदार कम्पनीले मन्दिरको पुनःनिर्माण जिम्मा पाएको थियो । ठेकेदार कम्पनीले दुई वर्षमा पूरा गर्ने गरी भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ मा ठेक्का पाएको थियो । श्रीलंका सरकारको आर्थिक सहयोगमा ती कम्पनीले निर्माण कार्य अघि बढाएको थियो । मन्दिर एकतलासम्म निर्माण गर्दा प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर शुरूदेखि निर्माण गरिएको थियो । यसबीचमा ठेकेदार कम्पनीबीच आपसी विवादका कारण एउटा कम्पनी बाहिरिएपछि ती दुई कम्पनीले राम्ररी काम गर्न सकेन ।
सम्झौताको अवधिभित्र पुनःनिर्माणको काम अघि बढाउन नसकेपछि सरकारले ती कम्पनीलाई नौ–नौ महिनाको समयावधि थपिदिँदा पनि यिनीहरूको दु्रत गतिमा काम अघि बढाउन सकेन । मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेका थिए ।
वि.सं २०७६ पुस १४ गते श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो । सम्झौताअनुसार उपभोक्ता समितिले २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको कार्य अघि बढ्न सकेको थिएन । काम गर्दै जाँदा लागत अनुमान भन्दा बढी रकम खर्च भएको र पटकपटक म्याद थप गर्दा पनि भेरिएसन नगरिएकोले मन्दिर पुनःनिर्माण ठप्प भएको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो । यस अवस्थामा भक्तजनहरुको तर्फबाट बौद्धविहार संघसहित यल नेवाः समाजमा आबद्ध विभिन्न जातीय समाजले चन्दा उठाएर पुनःनिर्माण कार्यलाई पूर्णता दिएको थियो ।
वर्षा र सहकालका देवताका रूपमा रहेको रातो मच्छिन्द्रनाथलाई उपत्यकावासीले मनमष्तिष्कदेखि आराध्य देवताका श्रद्धा र आस्था प्रकट गर्ने गरिन्छ । यही मनोभावले गर्दा पनि रातो मच्छिन्द्रनाथलाई आफ्नै मन्दिरमा विराजमान गराउने तयारीमा महिनौंदिनदेखि जुटेका थिए । जावलाखेलमा भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथलाई छ महिना बुंगमती र छ महिना पाटनको तबहालमा राख्ने गरिन्छ ।
यसअघि रातो मच्छिन्द्रनाथको हिरा, मोती मणि माणिक्य जडित भोटो अपराह्न ५ः१५ बजेको आसपासमा देखाइएको थियो । यस पटक संस्थानका प्रमुख जितेन्द्र चित्रकारले रथको चारैकुनामा उभिएर तीन पटक देखाउनुभयो ।

रातो मच्छिन्द्नाथको रथयात्राका विषयमा पुरानो वंशावली गोपालराज वंशावलीमा उल्लेख गरिए पनि भोटोजात्राको सुरुआत बारे त्यसमा कुनै उल्लेख गरिएको छैन । इतिहासकार प्रा.डा त्रिरत्न मानन्धरका अनुसार भोेटो जात्रा राजा पृथ्वीनारायण शाह काठमाडौं उपत्यका जितिसकेपछि र जंगबहादुर राणा प्रधानमन्त्री हुनुभन्दा अघि शुरू भएको बताउनुभयो । ‘राज्यस्तरबाट नै मनाइने चाडको त बिदा उल्लेख हुनुपथ्र्यो । त्यसैले रणबहादुरको समयमा पनि भोटोजात्रा मनाउने चलन थिएन । जंगबहादुरभन्दा अघि आयो तर कहिले आयो भन्ने फेला परेको छैन’ –उहाँले भन्नुभयो ।
यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ । किंवदन्ती अनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहास्वरूप बहुमूल्य गहना र हीराजडित भोटो पाएको थियो । किंवदन्ती अनुसार किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । खोजी गरेर कहींकतै नपाएपछि जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् । सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो ‘मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा दिने शर्तमा यो भोटो कसको हो’ भनी देखाउने जात्रा शुरू गरेको थियो । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको किंवदन्ती रहेको छ । प्रा.डा. मानन्धरका अनुसार यो कथा पुरानो वंशावलीमा उल्लेख गरिएको छैन । यसबारे थप अध्ययन गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।
भोटो अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपीशर्मा ओली लगायत मन्त्रीगण संवैधानिक आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आज अपराह्न जावलाखेल पुग्नुभएको थियो । मीननाथको रथ तानेर ललितपुरको टंगलमा पु¥याइने छ ।
सो कार्यसँगै यस वर्ष एक महिनासम्म चलेको रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । गत वैशाख १ गते बुधबार रातो मच्छिन्द्रनाथलाई लगनखेलमा महास्नान गराएसँगै पुल्चोकमा रथ बनाउने कार्य शुरू गरिएको थियो भने वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाको रथारोहण गरिएको थियो । वैशाख १८ गते बिहीबार रथयात्रा शुरू भएको थियो ।











प्रतिक्रिया