कर्णाली विकास बैंक घोटला प्रकरण: २५० करोड घोटालामा संलग्न पूर्वसीईओ लखनउबाट पक्राउ


काठमाडौं।

२५० करोड रुपियाँभन्दा बढीको बैंक घोटालामा संलग्न रहेर फरार भएका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई सीआईबीको विशेष टोलीले भारतको लखनउबाट पक्राउ गरेको छ । राय विगत चार वर्षदेखि फरार भएका थिए । उनी परिवारसहित लखनउमा लुकेर बसेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल फर्काएको हो । पक्राउ गर्ने क्रममा रायसँगै उनकी पत्नी पनि थिइन्, जसले उनको फरार बसाइमा सघाएको प्रहरी स्रोतले जनाएको छ । सीआईवीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले भने रायलाई नेपाल भारत सीमा क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।

कर्णाली डेभलपमेन्ट बैंकमा संकलन भएको २५० करोड रुपियाँभन्दा बढी रकमलाई गैरकानुनी तरिकाले निकालेर विभिन्न नातेदार तथा आआफ्नै कम्पनीहरूमार्फत लगानी गरिँदै आएको पाइएको छ । बचतकर्ताको पैसा उच्च ब्याज दिने प्रलोभन देखाएर संकलन गरिएको थियो ।

शुरूमा सामान्य बैंकिङ कारोबार गरिरहेको देखाए पनि, पछि बैंकको स्रोत प्रयोग गरी निर्माण कम्पनी, होटल, रियलस्टेट र अन्य व्यापारिक लगानीमा रकम ट्रान्सफर गरिएको देखिएको छ । यी लगानीहरूको कुनै पनि औपचारिक प्रतिवेदन बैंकको लेखापरीक्षणमा समावेश गरिएको थिएन ।

यसअघि नेपाल राष्ट्र बैंक, सीआईवी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलग–अलग अनुसन्धान गरेका थिए । राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनले बैंकको आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर रहेको, सञ्चालक समितिको निर्णय प्रक्रिया पारदर्शी नभएको र प्रमुख कार्यकारी अधिकृतको ‘एकल’ निर्णयबाट ठूलो रकम निकासा भएको देखाएको थियो ।

सीआईवीले गरेको अनुसन्धानमा रायले बैंकका सञ्चालक समितिमा आफ्ना निकट व्यक्तिहरू राखेर ‘बोर्ड कन्ट्रोल’ गरेका थिए । यस क्रममा उनीसँग प्रत्यक्ष संलग्न भएका केही व्यक्ति अहिले पनि अनुसन्धानको दायरामा छन् । रायले कर्जाको नाममा आफू र आफ्ना नातेदारको कम्पनीमा रकम स्थानान्तरण गरी तिर्ने कुनै म्यादबिना फाइदा उठाएको प्रमाण प्रहरीसँग रहेको बताइएको छ ।

घोटालामा संलग्न अन्य व्यक्तिहरू

उक्त घोटाला काण्डमा रायका निकट साथी तथा तत्कालीन आर्थिक सल्लाहकार, लेखा अधिकृत र बाह्य लेखापरीक्षकहरूको समेत भूमिका रहेको आशंका गरिएको छ । रायका श्रीमती, छोरा र भान्जा÷भान्जीहरूमार्फत चलाइएका कम्पनीमा पनि ठूलो रकम ट्रान्सफर गरिएको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समितिका केही सदस्यहरूमाथि पनि अनुसन्धान भइरहेको छ, जसले रायका निर्णयहरूलाई अनुमोदन गरेका थिए ।

लखनउमा लुकेको सूचना कसरी भेटियो ?

सीआईवीले इन्टरपोल नोटिसमार्फत रायको नाममा रेड कर्नर नोटिस जारी गराएको थियो । साथै, बैंकिङ प्रणालीमार्फत गरिएको रकम ट्रान्सफर, मोबाइल ट्रयाकिङ, र सामाजिक सञ्जालको विश्लेषणमार्फत राय लखनउमा रहेको पत्ता लागेको थियो । भारतीय प्रहरीले दिएको सूचना अनुसार उनी आफ्ना श्रीमतीसँग लखनउको एक सस्तो आवास क्षेत्रमा बसोबास गरिरहेका थिए र आफूलाई सामान्य व्यापारी भनेर चिनाउँदै आएका थिए ।

रायलाई नेपाल फर्काइएपछि सीआईवीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा चलाउने प्रवक्ता खड्काले जानकारी दिनुभयो । उनलाई विशेष अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ । यस प्रकरणमा संलग्न अन्यको भूमिका पनि छानबिन भइरहेको र केहीलाई पक्राउ गर्न थप अपरेसन अगाडि बढाइएको सीआईवीले जनाएको छ । नेपाल राष्ट्र बैंकले यस घटनालाई गम्भीर बैंकिङ संकटको उदाहरण मानेको छ र अब यस्ता घटनामा कडा नियमन गरिने बताएको छ ।

यो घटनाले हजारौँ बचतकर्ताको सपना चकनाचुर बनाएको छ । कतिपयले जीवन भरको कमाइ गुमाएका छन् । अब मुख्य अभियुक्त पक्राउ परेपछि उनीहरूले न्यायको अपेक्षा गरेका छन् । रायविरुद्ध आर्थिक अपराध, ठगी, आपराधिक षड्यन्त्र र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा अघि बढ्ने संकेत देखिएको छ ।
हाल कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरेर सुधारात्मक काम गरिररहेको छ।