ललितपुर।
बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्राका लागि विस्तृत सुरक्षा योजना तयार गरी प्रहरी प्रशासनले दैनिक ६ सय प्रहरी खटाउँदै आएको छ।वर्षा र सहकालका देवताका रुपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रामा हजारौं मानिस सहभागी हुने गरेकोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसरले उच्चसुरक्षा सतर्कता अपनाउँदै आएको हो।
पछिल्ला केही वर्षदेखि रथयात्राको सुरक्षा व्यवस्थापनको विषय गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ। यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रीत बलियो तथा विस्तृत सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्नसक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको अधिकारीको भनाई रहेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वास अनुसार जात्रा पर्व मनाउने दिने गरी तीन वटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो।
३२ हात लामो रथ तान्ने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रीत गर्दै रथ तान्ने बेला नेपाल प्रहरीबाट ३ सय जना प्रहरी, सशस्त्रबाट ४५ जना प्रहरी खटिने गरेको छ। सशस्त्र प्रहरी दक्षिणकालीको २१ नम्बर गण खुमलटारका प्रमुख एवं प्रहरी उपरीक्षक राजेश लामिछानेका अनुसार फिक्स र मोबाईल टोली गरी सरदर ५० जना प्रहरी खटिने गरेको छ। ‘ २५ -३० जनाको फिक्स टोली रथयात्रा वरिपर नै बसिरहन्छन्।बाँकी टोली वरपर घुम्ने गर्दछ।अवस्था र परिस्थिति हेरेर नेपाल प्रहरीसंग समन्वय गरी सशस्त्र प्रहरी परिचालन गर्दै आएका छौं।’ उपरीक्षक लामिछानले भने।
नेपाल प्रहरीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा सुरक्षाकर्मी परिचालन हुँदै आएको छ।
रथयात्राका क्रममा प्रहरी परिसरसंगै प्रहरी वृत्त सातदोबाटो, मंगलबजार प्रभाग, बालकुमारी प्रभाग, सानेपा, इमाडोलबाट मात्र नभई उपत्यका प्रहरी झिकाएर परिचालन गर्दै आएको छ। बाँकी ३ सय जना पाँच मिनेटमै रथयात्रास्थलमा पुग्ने गरी तैनाथी अवस्थामा राखिएको छ।
रथको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहने गर्दछ।रथ तान्ने बेला घेरा वरिपरि १ सय जना प्रहरी खटिने गर्दछन् ।त्यसपछि मीननाथ र रथयात्रास्थलमा २ सय जना प्रहरी तैनाथ गरिएको छ । रथ पछाडिको भागमा करिब ३० जना सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी गणले जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले मानिसको धार्मिक आस्था, परम्पराप्रतिको अपनत्वलाई सम्मान गर्दै सोही अनुरूपको गतिविधि सहज बनाउन प्रहरी खटाइएको बताए।‘ रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो। यसको सफलतापूर्वक सम्पन्न गर्नु प्रहरीको दायित्व हो। सोही अनुरुप काम गर्दै आएका छौं । ’ उनले भने।
रथयात्राका क्रममा हुनसक्ने पाकेटमारी, झैझगडालाई ध्यानमा राखेर सिभिल ड्रेसमा प्रहरी परिचालन गर्दै आएको छ भने जिल्लास्थित अनुसन्धान विभागका प्रहरी परिचालन गर्ने गरेको छ। रथयात्रा नहुने बेला रथको मूर्तिको सुरक्षाका लागि ४ जना र रथ अगाडि सुरक्षाका लागि १५ जना प्रहरी तैनाथ हुने गरेका छन्।
रथयात्राको पहिलो र दोस्रो दिन प्रमुख जिल्ला अधिकारी रमेश ढकालको नेतृत्वमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, जिल्लास्थित अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय प्रमुखहरू खटिएका थिए। वैशाख १८ गते विहीबार रथयात्राको पहिलो दिन रथ तानेर गाबहाल पु¥याइएको थियो। दोस्रो दिन बैशाख १९ गते रथलाई गाबहालबाट मंगलबजार पु¥याइएको थियो।बैशाख २० गते शनिबार मंगलबजारबाट तानेर रथ सुन्धारा पु¥याएको थियो।बैशाख २२ गते सुन्धाराबाट चक्रबहील र बैशाख २३ गते त्यहाँबाट लगनखेल पु¥याइएको थियो भने २५ गते विहीबार लगनखेलबाट तानेर थतिटोलमा राखिएको थियो। बेशाख २७ महिलाहरुले तानेर इतिटोलमा रथ पु¥याइने छ।त्यसपछि ज्योतिषीहरुले साईत हेरर जेठ १५ गते विहीबार रथ जावलाखेल लगिएको थियो।
प्रहरी वरिष्ठ अधिकारीको नेतृत्वको ‘कमान्ड फोर्स ’ ले रथ यात्राको दूरी, तानेर पु¥याउनुपर्ने ठाउं आदि हेरेर सुरक्षा योजना कार्यान्वयन गर्दै आएको छ।यसबारे प्रशासनले सोझै गृह मन्त्रालय र प्रहरीले प्रहरी मुख्यालयमा अलगअलग रूपमा नियमित ब्रिफिङ गर्दै आएको बुझिएको छ।
२०७७ साल भदौ १८ गते बिहीबार स्थानीयले स्वस्र्फूत रूपमा रथ तानेपछि स्थानीय र प्रहरीबीच झडप निम्तिएको थियो।२०७८ सालमा भने प्रशासनले निषेधाज्ञाका बीचमा पनि रथवरपर निषेधाज्ञा जारी गरी सांकेतिक रूपमा रथ तान्न लगाउने बन्दोबस्त गरेको थियो । ती घटनाबाट पाठ सिकेर प्रहरीले रथयात्राको लागि सुरक्षा योजना तयार गरी सुरक्षा सतर्कता अपनाउँदै आएको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख रमेश ढकालले समुदायसंग मिलेर प्रशासनले काम गर्दै आएको पनि बताए।
ज्यापू समाज यल अन्तर्गत क्षेत्रअनुसार जात्रा व्यवस्थापन टोली खटिदैै आएको छ।रथयात्रा व्यवस्थित, शान्तिपूर्ण र मर्यादित तरिकाले गर्नका लागि सरोकारवालाहरू,स्थानीयस्तरमा गठित जात्रा व्यवस्थापन समूह, स्थानीय तह सबैसंग प्रशासनले समन्वय गर्दै आएको सुरक्षा अधिकारीहरुको भनाई रहेको छ।











प्रतिक्रिया