जोनी वाइस्मुलरको विस्मयकारी यात्रा

एक नायक, दुई संसार

3.67k
Shares

“आआआ–ईई–आआ” हलिउडमा गुञ्जिएको त्यो टार्जनको चिच्याहट सुनिनु अघि जोनी वाइस्मुलर एक सामान्य बालक थिए । एक आप्रवासी बालक, जो अमेरिका पुगेको थियो, केवल थोरै सपना र ठूलो आशा लिएर । सन् १९०४, आजको रोमानियामा पर्ने फ्राइडोर्फ भन्ने सानो गाउँमा जोनी जन्मिए । जब उनी सानो थिए परिवार अमेरिकातिर लाग्यो, साथमा थियो त केवल संघर्ष र बाँच्ने चाहना । उनीहरू पेन्सिल्भेनियामा बसोबास गर्न थाले, जहाँ जीवन सजिलो थिएन । तर, पानीमा भने जोनीको जादु शुरू भइसकेको थियो ।

जोनीको शरीर मानौँ पानीको लागि नै बनेको थियो । तीव्र, लचकदार, अनि एक किसिमको लयात्मक शक्तिसहित उनी पानी चिरेर यसरी अघि बढ्थे, मानौँ माछासँग प्रतिस्पर्धा गरिरहेका हुन् । छिमेकका पोखरीहरू उनका प्रशिक्षणस्थल बने । कसले सोचेका थिए होला र त्यो सानो केटो एकदिन ओलम्पिक च्याम्पियन र फिल्मी टार्जन बन्नेछ भनेर ।

ओलम्पिकका स्वर्ण नायक

जोनीले आफ्नो पौडी प्रतिभालाई विश्वमञ्चमा लिएर गएका थिए । सन् १९२४ को पेरिस ओलम्पिकमा उनले तीन स्वर्ण जिते । त्यसपछि १९२८ को एम्स्टर्डम ओलम्पिकमा थप दुई स्वर्ण । उनी १ सय मिटर फ्रीस्टाइल एक मिनेटभन्दा कम समयमा पौडिन सक्ने पहिलो व्यक्ति बने । त्यो केवल कीर्तिमान थिएन, त्यो त इतिहास बनाउने क्षण थियो । उनले खेललाई नयाँ परिभाषा दिए र उनी पानीका राजा कहलिए । तर, उनको भाग्यमा अझै धेरै कुरा लेखिएको थियो । पानीको राजाबाट जंगलको राजा हुने संयोग उनलाई जु¥यो । जंगलका नायक टार्जनको भूमिका प्रस्तावसहित सन् १९३२ मा हलिउडले उनलाई बोलायो । निर्देशकहरूले खोजिरहेका जस्तै शक्तिशाली, आकर्षक, निर्भीक अनुहार जोनीमा थिए । उनी केही नबोली नै जंगलको राजा जस्तै देखिन्थे । तर, जब उनले त्यो टार्जनको ऐतिहासिक चिच्याहट निकाले “आआआ–ईई–आआ” संसार अचम्ममा प¥यो । त्यो आवाज उनका लागि मात्र होइन, टार्जनका लागि अमर बन्यो ।

टार्जनको पर्याय

सन १९३२ देखि १९४८ सम्म उनले १२ वटा टार्जन फिल्महरूमा अभिनय गरे । रुखबाट हाम्फाल्ने, गोहीसँग लड्ने, अनि जंगललाई आफ्नो घर बनाएर बाँच्ने । उनी पर्दामा टार्जन मात्र थिएनन्, जीवनमै टार्जन जस्तै बाँचिरहेका थिए । बल, बहादुरी र सरलताले भरिएको त्यो पात्र दर्शकका मुटुमा सिधै बस्यो । टार्जनपछि पनि जंगलले उनलाई छाडेन । उनले “जंगल जिम” को पात्रमा जीवन्त भरे । १६ वटा फिल्म र एक टिभी श्रृंखलामा अभिनय गरेर । समय बित्दै गयो, चलचित्रको प्रस्ताव कम भए । तर, जोनी वाइस्मुलर आफ्ना समर्थकका मनमा झन् गहिरो रूपले बस्न थाले । सार्वजनिक कार्यक्रममा भीड लाग्थ्यो, अटोग्राफ लिनेको होडबाजी चल्थ्यो । किनभने सबैलाई थाहा थियो की उनी पर्दाका नायक मात्र होइन् जीवनकै नायक हुन् भनेर ।

सन् १९८४ मा उनको निधन भयो । तर उनको आवाज, उनको उडान, उनको शौर्य आज पनि जीवित छ । कसैका लागि उनी ओलम्पिक च्याम्पियन बने त कसैका लागि जंगलका राजा टार्जन । तर, सबैका लागि उनी थिए जोनी वाइस्मुलर । त्यो दुर्लभ नायक जसले दुई संसारमा शासन गरे, एक पानीमा, अर्को पर्दामा । उनी केवल नायकको अभिनय गर्दैनथे, उनी नायक नै थिए ।