वडाको अभियानः विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री

2.16k
Shares

दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ ले आफ्नो वडा भित्रका सबै विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि कपि, कलम तथा शिक्षकले प्रयोग गर्ने मार्कर र मार्कर इङ्क निशुल्क उपलब्ध गराउने भएको छ ।

गुणस्तरीय शिक्षा हाम्रो अभियान, वडाका बालबालिका प्रति जनप्रतिनिधिको ध्यान भन्ने नारा सहित वडागत बजेट मार्फत यो शैक्षिक सत्रबाट विद्यार्थी तथा शिक्षकहरुले प्रयोग गर्ने कपि, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर, मार्कर, मार्कर इङ्क जस्ता शैक्षिक सामग्री निशुल्क उपलब्ध गराउन सुरु गरिएको वडा अध्यक्ष विनोद तमाङले बताए ।

भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मा ६ वटा सामुदायीक विद्यालय रहेका छन् । ती विद्यालयहरुमा यो शैक्षिक सत्रमा छ सय ५० जना विद्यार्थी रहेको वडा नम्बर– ७ को कार्यालयले जनाएको छ । ती विद्यार्थीहरु मध्य धेरै विद्यार्थी विपन्न परिवारका रहेको र कतिपय विद्यार्थीहरु शैक्षिक सामग्रीकै अभावमा नियमित विद्यालय आउन सक्ने अवस्थामा नरहेकोले वडाले कपि, कलम जस्ता विद्यार्थीले प्रयोग गर्ने शैक्षिक सामग्री निशुल्क उपलब्ध गराउन लागेको वडा अध्यक्ष तमाङको भनाई छ ।

वडा नम्बर– ७ मा रहेको कुटिडाँडा माध्यामिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा बागमति प्रदेशका सांसद भरतबहादुर केसीले शिक्षक तथा विद्यार्थीहरुलाई वडाले उपलब्ध गराएको शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमति प्रदेश सांसद भरतबहादुर केसीले वडाको रचनात्मक अभियानले विद्यार्थीहरुलाई नियमित विद्यालय पुग्न अभिप्रेरीत गर्ने बताए ।

आफ्नो कार्यकाल भरी वडा भित्रका कुनैपनि विद्यार्थीले शैक्षिक सामग्री किन्न नपर्ने वडा अध्यक्ष विनोद तमाङको भनाई छ । आफ्नो कार्यकाल पछि पनि यो अभियानलाई निरन्तरता दिनुपर्ने तमाङ बताउछन् ।

Skip This