आजको भागदौड र तनावले भरिएको संसारमा एउटा सानो देश छ फिनल्यान्ड, जहाँ मानिसहरू सरलतासँगै खुसीमा रमाइरहेका छन् । न त धूमधाम, न त आत्मप्रशंसा, तर लगातार आठौं वर्षसम्म पनि फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी राष्ट्र बनेर चम्किएको छ । कल्पना गर्नुहोस्, तपाईं फिनल्याण्डको राजधानी हेलसिन्कीमा हिँड्दै हुनुहुन्छ र तपाईंको कुनै सामान हराउँछ । पक्कै पनि तपाईँ आत्तिनु हुन्छ । तर, फिनल्यान्डमा आत्तिनु पर्दैन । न त डराउनु नै पर्छ । किनभने कोही अपरिचितले त्यो फिर्ता ल्याउने सम्भावना शतप्रतिशत रहन्छ । यो कानुनको डरले होइन, सामाजिक विश्वासको उपज हो । विश्वभर फिनल्यान्डले यही सन्देश प्रवाह गर्दै आइरहेको छ । वास्तवमा खुसी पैसा होइन, मानसिकता हो भन्ने सन्देश फिनल्यान्डले बांकी विश्वलाई दिएको छ । फिनल्यान्डका मानिसहरू सन्तुलित जीवन, प्रकृतिसँगको सम्बन्ध, परिवार र आत्मीय संवादमा विश्वास गर्छन् । भौतिक सम्पन्नता भन्दा उनीहरूका लागि शान्त मन र सधैँ भरोसा गर्न सकिने समाज महत्वपूर्ण रहँदै आएको छ ।

सपनाको देश अमेरिकामा हराउँदै गएको मुस्कान
अर्कोतर्फ, अमेरिकालाई सम्भावनाको देश भनेर चिनिन्छ । तर, सन् २०२५ को ह्याप्पिनेस रिपोर्टमा अमेरिका २४ औं स्थानमा झरेको छ । यो तथ्याङ्कले अमेरिका इतिहासमै सबैभन्दा कम वरीयतामा धकेलिएको प्रस्ट्याउँछ । यस्तो हुनुको कारण त्यहाँ घट्दो सामाजिक भरोसा, बढ्दो राजनीतिक ध्रुवीकरण र विशेष गरी युवाहरूमा बढ्दो निराशालाई मानिएको छ ।
तीन दशक मुनिका धेरै अमेरिकीले आफूलाई एक्लो महसुस गरिरहेका छन् । न परिवारबाट, न त समाजबाट नै भरपर्दो साथ पाएका छन् । यसले ठूलो जीडीपी, प्रविधि, शक्ति हुँदाहुँदै पनि खुसीका लागि त्यो पर्याप्त नहुने प्रमाणित गरेको छ । तर, कुरा यत्तिमा सकिँदैन । कोस्टारिका र मेक्सिको भने अहिलेका दुई चम्किला उदाहरण हुन् जसले पहिलो पटक शीर्ष १० मा स्थान बनाएका छन् । यी देशहरूले “धनी हुन जरुरी छैन, खुसी हुन समुदाय, आत्मीयता र आशा चाहिन्छ” भन्ने सन्देश दिएको छ । खुशी बन्ने र बनाउने कुरा सरकारको मात्र होइन, हामी सबैको सोच र व्यवहारमा पनि निर्भर हुन्छ ।
२०२५ का शीर्ष १० खुसी देशहरू
१. फिनल्यान्ड, २. डेनमार्क, ३. आइसल्यान्ड, ४. स्वीडेन, ५. नेदरल्यान्ड्स, ६. कोस्टारिका, ७. नर्वे, ८. इजरायल, ९. लक्जेमबर्ग, १०. मेक्सिको । अर्कोतर्फ अफगानिस्तान (१४७), सिएरा लियोन (१४६), लेबनान (१४५), मलावी (१४४) र जिम्बावे (१४३) क्रमशः कम खुसी भएको हिसाबले अन्तिम पाँच स्थानमा परेका देशहरू हुन् ।











प्रतिक्रिया