प्रदीपकुमार सिंहको साहसिक यात्रा: एचआईभी संक्रमितदेखि विश्व च्याम्पियनसिपसम्म

2.82k
Shares

खुन्द्रकपम प्रदीपकुमार सिंह एउटा यस्तो नाम हो जसले असह्य पीडालाई शक्तिमा बदले र लाखौँको लागि आशाको दियो बाले । लागूपदार्थको लत, डिप्रेसन र एचआईभी पोजेटिभ भएर भोग्नुपर्ने तिरस्कारका कठोर वास्तविकतासँग लड्दै उनी अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियन बने । उनको जीवनकथा साँचिक्कै प्रेरणादायी छ ।

भारतको मणिपुर राज्यमा जन्मेका सिंह कुनैबेला अन्धकारमा हराएका थिए । आफ्नो विगत र समाजको कलंकले थिचिएका थिए । तर, उनी आफूलाई पीडित मान्न कदापि तयार भएनन् । उनी लड्दै अगाडी बढे । “आई एम एचआईभी पोजेटिभ, सो व्हाट?” जयन्त कलिताद्वारा लिखित उनको आत्मकथाको शीर्षकले उनीभित्रको अद्भुत आत्मबलको प्रतिनिधित्व गर्छ । ब्लूम्सबरी इण्डियाबाट प्रकाशित यो पुस्तकले लागूपदार्थ, रोग र भेदभावविरुद्धको उनको कठिन यात्रालाई विश्वस्तरको सफलतासम्म पु¥याएको छ ।

१९९० को दशकमा विद्यार्थी जीवनकै दौरान सिंह लागूपदार्थको लतमा परे । यिनै दिनहरूमा उनी एचआईभी संक्रमित बने । जब सन २००० मा उनलाई यो रोगबाट संक्रमित भएको थाहा लाग्यो, उनको संसार भताभुङ्ग भयो । दुई वर्षसम्म उनी निराशा र अँध्यारोमा बाँचिरहे । तर, उनी भित्र कताकता “म हार्दिन” भन्ने एउटा आवाज चिच्याइरहेको थियो । साँचिक्कै उनले हार मानेनन् । सन २००३ मा उनले फेरि जीवनलाई नयाँ बाटोमा दोहो¥याउने निधो गरे । स्वास्थ्य सुधारतिर लागे । डाक्टरको चेतावनीका बावजुद पनि उनले व्यायामशालामा पुगेर गोप्य रूपमा शरीर र मनलाई पुनः निर्माण गर्न थाले । पीडा र पूर्वाग्रहलाई जित्दै अघि बढे

२६ नोभेम्बर २००६, त्यो दिन हो जसले उनको जीवनको यात्रालाई नै मोडिदियो । उनले ‘मिस्टर मणिपुर’ बडीबिल्डिङ प्रतियोगितामा भाग लिएर ६० किलो वर्गमा रजत पदक जिते । त्यसको एक वर्षपछि उनले स्वर्ण जिते र सबैको सामु आफ्नो एचआईभी स्थिति खुलासा गर्दै निर्भिकता र इमानदारीताको परिचय खुलाए ।
आज ४६ वर्षका सिंह मणिपुर सरकारको खेलकुद तथा युवा मामिला विभागमा शारीरिक प्रशिक्षकको रूपमा कार्यरत छन् । उनी एचआईभी÷एड्स सचेतना अभियानका ब्रान्ड एम्बेसडर पनि हुन् । लागूपदार्थको दुरूपयोग विरुद्ध अभियान चलाउँदै, समाजमा चेतना फैलाउने काममा सक्रिय छन् । लामो समयदेखि मणिपुरले झेल्दै आएको महामारी विरुद्ध उनी मैदानमा भिडिरहेका छन् ।

अन्धकार जतिसुकै गहिरो किन नहोस्, आशाको किरण कहिल्यै हराउँदैन भनेर सिंहको जीवनले प्रमाणित गर्छ । तपाईंको विगतले तपाईंलाई परिभाषित गर्दैन, तपाईंको संकल्पले गर्छ । उनले केवल एचआईभीसँग बाँच्न जानेनन्, त्यसलाई जितेका छन् । यो यात्रामा उनी परिवर्तन, साहस र जुझारुपनको प्रतीक बनेका छन् । उनी यतिमा रोकिएका छैनन् । उनी अझ उच्च गगनतर्फ चढिरहेका छन । सिंहको जीवन सबैका लागि प्रेरणाको दीप हो ।
सिंहका उपलब्धि:

२०१० – गोवामा आयोजित ५०औँ मिस्टर इण्डिया प्रतियोगितामा रजत पदक

२०१२ – मिस्टर साउथ एसियाको उपाधि विजेता

२०१२ – बैंककमा आयोजित मिस्टर वल्र्ड प्रतियोगितामा कांस्य पदक