कल्पना गर्नुहोस्, एउटा यस्तो संसार, जहाँ एउटा मान्छे मुस्किलले बोल्छ, तर करोडौंलाई हसाउँछ । त्यो मान्छे हो “मिस्टर बिन ।” त्यो लजालु स्वभाव, लामो नाक, ठूलो आँखा भएको र मजाकका पात्र, जसलाई हामी सबैले चिन्छौँ र माया गर्छौँ । तर, यो प्रसिद्धि र विश्वव्यापी प्रेम पाउनु अघि रोवन एटकिन्सन नामबाट बोलाइने एकजना अन्जान केटा थिए उनी, जसको बोलीले सधैँ उनलाई धोका दिइरहन्थ्यो र जसको हुलियालाई देखेर सबैले मजाक उडाउँथे । रोवन एटकिन्सनले “मिस्टर बिन” को नाम आफैँले राखेका होइनन् । यो पात्रको नाम स्वयम् एटकिन्सन र लेखक रिचार्ड कर्टिसले सँगै मिलेर राखेका हुन् । उनीहरूले धेरै नामहरू सोचेर अन्ततः “मिस्टर बिन” नाम रोजका हुन्, किनभने उनीहरूलाई यो नाम सजिलो र रमाइलो लागेको थियो ।
रोवनको जन्म जनवरी ६, १९५५ मा इंग्ल्यान्डको डरहम भन्ने सानो सहरमा एक साधारण मध्यमवर्गीय परिवारमा भएको थियो । उनका बुबा किसान थिए र उनी चार दाजुभाइहरूमध्येका कान्छा थिए । बाल्यकालदेखि नै उनी बोल्ने समस्याबाट ग्रसित थिए । साथीहरू उनलाई जिस्क्याउँथे । ठूलाबडाहरूले उनलाई होच्याउँथे । शिक्षकहरूले पनि उनलाई खासै महत्व दिँदैनथे । उनी लजालु, अल्मलिएको स्वभावका थिए र स्कुलमा उनलाई “एलियन अनुहार” भनेर सम्बोधन गरिन्थ्यो । तर, ती शान्त आँखाहरूभित्र एउटा सृजनात्मक आँधी लुकेको थियो । एउटा यस्तो दिमाग, जसले एक शब्द नबोलिकन पनि हास्य सिर्जना गर्न सक्थे ।
वास्तवमा रोवनको यात्रा कुनै मनोरञ्जनको स्टेजबाट होइन, विज्ञानको पढाइबाट शुरू भएको थियो । पढाइमा तीक्ष्ण भएकाले उनले विज्ञान विषय रोजेका थिए । विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर डिग्री लिए । तर, अक्सफोर्ड जस्तो अनुशासित अध्ययनशील वातावरणभित्र घुलमिल रहेर पनि उनी पृथक् क्षेत्रप्रति आकर्षित हुनपुगे । उनमा अभिनयप्रतिको बीज पलायो । तर, दुर्भाग्यवश उनको तोते बोली बाधा बनिरह्यो । जब उनी स्टेजमा बोल्ने प्रयास गर्थे, शब्दहरू अड्किन्थे । यद्यपि रोवनले भने कहिल्यै हार मानेनन् ।
अक्सफोर्डमा संसारका सबैभन्दा तेज दिमागहरूबीच उनले आफूभित्र रहेको फरक किसिमको बुद्धिमत्तालाई उजागर गरेरै छाडे । अरूले सिद्धान्तको बहस गर्दा रोवनले मान्छेको हाउभाउ, चालढाल र मौनतालाई अध्ययन गर्थे । ती सबै कुरा उनले आफूमा समाहित गर्ने प्रयास गर्थे । उनी आफू नभई, अरू कोही पात्रमा ढल्न खोज्थे । यसो गरिरहँदा उनको तोते बोली पनि अचानक हराउँथ्यो । “जब म अरू पात्र बन्ने गर्छु, तब मेरो तोते गायब हुन्छ,” उनले भनेका थिए ।
यो उनको लागि एउटा ठूलो खोज थियो । उनले आफ्नो कमिकमजोरीसँग पन्छिनुभन्दा त्यसलाई अँगाले । ती कमजोरीलाई उनले एउटा यस्तो अभिनयमा रूपान्तरण गरे, जुन टेलिभिजनको इतिहासमै सबैभन्दा मन पराइएको पात्रमध्ये एक बन्यो । “मिस्टर बिन” त्यो अनौठो, चुपचाप हास्यपात्र हुन् जसको रबरजस्तो अनुहार र सुनौलो मन थियो । रोवनले आफ्नो सारा जोस र कलालाई मौन हास्यकलामार्फत पोखे । न कुनै आकर्षक संवाद, न कुनै गम्भीर शरीरिक बनावट, न कुनै नायक जस्तो सुन्दर अनुहार । मिस्टर बिन केवल शारीरिक सांकेतिक अभिनय र सौम्य कलाले भरिएको पात्र थिए । अन्ततः संसारले पनि त्यही पात्रलाई जति हेरे पनि नअघाइने गरी रुचाए । अनौठो हेराइ र बोलाइका कारण व्यङ्ग्यवाणबाट अपहेलित एकजना केटा पछि संसारकै सबैभन्दा चर्चित हास्य कलाकार बने ।

रोवन एटकिन्सनले आफ्नो सीमाहरूलाई चिर्दै सफलता प्राप्त गरे । यो कथा केवल हास्य अभिनयकर्ताको मात्र होइन, दृढ सङ्कल्पको कथा हो । सफलताका लागि स्पष्ट र सुरिलो स्वर मात्र होइन, दृढ इच्छाशक्ति पनि आवश्यक हुन्छ भन्ने एउटा जल्दोबल्दो उदाहरण हो । आजसम्म उनले ३० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन् । १ सय ६० मिलियन डलर बराबरको सम्पत्ति कमाइसकेका छन् र अझै पनि लाखौँको प्रेरणास्रोत बनिरहेका छन् । संसारले “सक्दैन” भनिरहँदा रोवन भने अगाडि बढिरहे । त्यसैले, तपाईँलाई पनि कसैले “तपाईँबाट केही हुन सक्दैन” भन्यो भने मिस्टर बिनलाई सम्झनुहोस् र हिम्मत नगुमाइ अगाडि बढ्नुहोस् ।
“मिस्टर बिन” का केही रोचक तथ्य :
-मिस्टर बिन विश्वभरका लगभग २०० देशहरूमा प्रसारण भएको थियो ।
- मिस्टर बिन शौचालय मन पराउने मानिस हुन् ।
- मिस्टर बिनले २०१२ मा लन्डन ओलम्पिकमा प्रस्तुति दिएका थिए ।
- मिस्टर बिनको १४ एपिसोडहरू मात्र निर्माण गरियो ।











प्रतिक्रिया