गल्फ खेलका विश्वप्रसिद्ध हस्ती


न्यूयोर्क, (एजेन्सी)

विश्वका प्रायः जसो देशमा खेलिने भए पनि गल्फ खेलले त्यति चर्चा बटुल्न भने सकेको छैन । खेल्नका लागि ठूलै क्षेत्रफल आवश्यक पर्ने हुनाले जहाँतहीँ यो खेल्न सहज पनि हुँदैन । कुनै समय विश्वकै धनाढ्य खेलाडी सूचीमा समेत गल्फ खेलाडीले आधिपत्य जमाए पनि यो खेलको दायरा फराकिलो हुन सकेको छैन । यो खेलको इतिहास लामो छ । तर नेपालमा भने तुलनात्मक रूपमा यो खेलले सोचेजति लोकप्रियता पाउन सकेको छैन । केही समययता केही ठूला व्यापारिक संस्थाहरूको सक्रियताले नेपालमा गल्फ प्रतियोगिताहरूको आयोजना पनि बढ्दै गइरहेको छ । यसैकारण नेपालमा गल्फ खेल मौलाउन थालेको छ । यसले भविष्यमा नेपालमा पनि यो खेलको दर्शक र खेलाडीको संख्या बढ्ने अनुमान लगाउन सकिन्छ । १५औं शताब्दीतिर स्कटल्याण्डबाट खेल्न थालिएको गल्फ खेलमा विश्वभर थुप्रै दिग्गज खेलाडीहरूले जन्म लिइसकेका छन् । हरेक खेलमा जस्तै गल्फ खेलमार्फत पनि विश्वभरि प्रसिद्धि कमाएका थुप्रै खेलाडीहरू छन् । जसमध्ये यो खेलमा महानको छवि बनाउन सफल केही खेलाडीहरूको यहाँ चर्चा गरिएको छ ।

टाइगर उड्स

गल्फको नाम लिँदा टाइगर उड्सलाई नचिन्ने कमै होलान् । उनी गल्फका महान् खेलाडीको सूचीमा अग्रपंक्तिमा आउने गर्छन् । संख्याको आधारमा सर्वकालीन उत्कृष्ट गल्फर ज्याक निकलस जति उपाधिहरू नजिते पनि पैसा आर्जन गर्ने होडमा भने उड्स निक्कै अगाडि छन् । ज्याकले १८ वटा प्रमुख उपाधिहरू जितेका छन् भने उड्स १४ वटा उपाधिका हकदार हुन् । तर, धेरै मान्छेहरू भने ज्याकले जितेका उपाधि संख्या नउछिनेसम्म उड्सलाई गल्फकै महान् भन्न नमिल्ने बताउँछन् । गल्फमा केही खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभन्दा पनि कति वटा प्रमुख उपाधि जित्यो भन्ने कुराले बढी महत्व पाउँछ । तर उत्कृष्टताको कसी मापन गर्ने आधारहरू यतिमा मात्र सीमित हँुदैन । तुलनात्मक रूपमा निकलसले प्रमुख उपाधिहरू बढी जितेपनि अवार्ड संख्या र धन आर्जनको सन्दर्भमा भने उड्स नै वजनदार देखिन्छन् । गल्फको इतिहासमा उड्सले जति अवार्डहरू अन्यले प्राप्त गर्न सकेका छैनन् । सन् १९९६ मा २० वर्षको उमेरमा व्यावसायिक गल्फ करियर सुरूवात गरेका अमेरिकाका ४१ वर्षीय उड्सले १ सय ६ प्रतियोगितामा जित हासिल गरेका छन् । जसमध्ये ४ पटक मास्टर्स टुर्नामेन्ट, ३ पटक यूएस ओपन, ३ पटक ओपन च्याम्पियनसिप, ४ पटक पीजीए च्याम्पियनसिप गरी १४ वटा प्रमुख उपाधि रहेका छन् । यस्तै उनले ७९ पटक पीजीए टुर, ४० पटक यूरोपियन टुर, २ जापानी टुर, समान एक–एक पटक एसियन टुर र पीजीए टुर अफ अस्ट्रेलिया एसियासहित अन्य १६ पटक महत्वपूर्ण प्रतियोगितामा जित दर्ता गराइसकेका छन् । सन् १९९६ मा व्यावसायिक गल्फमा डेब्य गरेकै वर्ष उनले पीजीए टुर रकी अफ द इयरको अवार्ड हात पारेका थिए । त्यसपछि भने उनले पीजीए प्लेयर अफ डी इयर, पीजीए टुर प्लेयर अफ डी इयर, पीजीए टुर लिडिंग मनी विनर, भर्दोन ट्रफी, बायरन नेल्सन अवार्ड, फेडएक्स च्याम्पियन गरी कुल ६० वटा अवार्ड प्राप्त गरिसकेका छन् । केही वर्ष विश्वकै धनाढ्य खेलाडी सूचीको पहिलो स्थानमा आधिपत्य जमाएका उड्सलाई सन् २००९ मा एथलिट्स अफ डिकेडको उपमा दिइएको थियो ।

ज्याक निकलस

“गोल्डन बेयर“ को नामले परिचित अमेरिकाका ७७ वर्षीय ज्याक निकलस गल्फ खेलका महान् खेलाड़ी हुन् । उनले आफ्नो खेल जीवनमा सर्वाधिक १८ वटा प्रमुख उपाधि जितेका छन् । सन् १९६१ मा व्यावसायिक गल्फ करियरको सुरूवात गरेका उनले सन् १९७५ मा सन्यास लिएका थिए । यस क्रममा उनले १ सय २० पटक जित हासिल गरेका थिए । जसमध्ये ७३ पटक पीजीए टुर, १० पटक पीजीए टुर च्याम्पियन्स र अन्य ३७ प्रतियोगितामा जित दर्ता गराएका थिए । उनले ६ पटक मास्टर्स टूर्नामेन्ट, ४ पटक यूएस ओपन, ३ पटक द ओपन च्याम्पियनसिप, ५ पटक पीजीए च्याम्पियनसिप गरी १८ वटा प्रमुख उपाधि जितेका छन् । उनले आफ्नो सक्रिय खेल जीवनको क्रममा विभिन्न अवार्ड र सम्मान प्राप्त गरेका छन् । वल्र्ड गल्फ हल अफ फेम, पीजीए टुर लिडिंग मनी विनर, पीजिए प्लेयर अफ द इयर, बब जोन्स अवार्ड, पेइने स्टेवर्ड अवार्ड, पीजीए टुर लाइफटाइम एचिभमेन्ट अवार्ड, कंग्रेसनल अवार्ड मुख्य रहेका छन् ।

बेन होगन

बेन होगन गल्फ खेलका महान् खेलाडी मध्येका एक हुन् । सन् १९१२ मा टेक्सासमा जन्मेका होगनले सन् १९३० मा व्यावसायिक गल्फ करियरको सुरूवात गरेका थिए । उनले आफ्नो सक्रिय खेल जीवनमा ६९ पटक जित हासिल गरेका थिए । जसमध्ये दुई पटक मास्टर्स टूर्नामेन्ट, ४ पटक यूएस ओपन, एक पटक द ओपन च्याम्पियनसिप र दुई पटक पीजीए च्याम्पियनसिप गरी ९ वटा मुख्य उपाधि रहेका छन् । यो बाहेक उनले १४ वटा विभिन्न अवार्ड प्राप्त गरेका थिए । सन् १९४७ मा वल्र्ड गल्फ हल अफ फेमबाट सम्मानित भएका उनले पाँच पटक पीजीए टुर लिडिंग मनी विनर, ४ पटक नै पीजीए प्लेयर अफ द इयर, ३ पटक भर्दोन ट्रफी र सन् १९५४ मा एक पटक एसोसिएटेड प्रेस मेल एथ्लीट अफ द इयरको अवार्ड प्राप्त गरेका थिए ।

बबी जोन्स

सन् १९०२ मा जन्मेका बबी जोन्स गल्फ खेलका अर्का महान् खेलाडी हुन् । सन् १९२३ देखि १९३० सम्मको छोटो अवधिमा गल्फमा जादु गरी देखाएका उनले आफ्नो नाममा १३ प्रमुख प्रतियोगितामा जित हासिल गरेका थिए । जसमध्ये यूएस ओपन ४ पटक, द ओपन च्याम्पियनसिप ३ पटक, यूएस एमेच्योर ५ पटक र एक पटक ब्रिटिस एमेच्योर प्रतियोगिता प्रमुख रहेका छन् । उनले गल्फमार्फत विभिन्न अवार्ड प्राप्त गरेका छन् । उनी वल्र्ड गल्फ हल अफ द फेम, जेम्स ई सुलीभन अवार्ड, जार्जिया टेक एथ्लेटिक हल अफ फेम र जार्जिया टेक इन्जिनियरिंग हल अफ फेमबाट सम्मानित भइसकेका छन् ।

आर्नोल्ड पाल्मर

गत सेप्टेम्बरमा ८७ वर्षको उमेरमा देहत्याग गरेका अमेरिकी विश्व प्रसिद्ध गल्फर आर्नाेल्ड विश्व खेल इतिहासकै एक चर्चित पात्र हुन् । द किंग को उपमा पाएका उनले गल्फले टेलिभिजनमा स्थान पाउँदा पहिलो सुपरस्टारको रूपमा परिचय बनाएका थियो । उनी सन् १९६० ताका गल्फका द बिग थ्रीबाट ख्यातिप्राप्त तीन गल्फर मध्येका एक हुन् । सन् १९५४ मा व्यावसायिक गल्फ करियरको सुरूवात गरेका उनले सबैखाले गरी कुल ९५ पटक जित दर्ता गराएका छन् । जसमध्ये सात उपाधि प्रतिष्ठित रहेका छन् । ४ पटक मास्टर्स टुर्नामेन्ट, एक पटक यूएस ओपन र दुइ पटक द ओपन च्याम्पियनसिप उनको मुख्य उपाधि रहेका छन् । यस्तै उनले दर्जनौं अवार्डहरू प्राप्त गरेका थिए । वल्र्ड गल्फ हल अफ फेममा अटाएका उनले ४ पटक पीजीए टुर लिडिंग मनी विनर, दुई पटक पीजीए प्लेयर अफ द इयर, ४ पटक भार्दोन ट्रफी र समान एक–एक पटक स्पोर्ट्स इलस्ट्रेटेड स्पोर्ट्सम्यान अफ द इयर, बब जोन्स अवार्ड, ओल्ड टम मोरिस अवार्ड, पीजीए टुर लाइफटाइम एचिभमेन्ट अवार्ड, पेयेने स्टेवर्ड अवार्ड, कंग्रेसनल गोल्ड मेडल र प्रेसिडेन्सल मेडल अफ फ्रिडम अवार्ड प्राप्त गरेका थिए । अमेरिका गल्फ एसोसिएसनले उनलाई गल्फका राजदूतको संज्ञा दिंदै आएका थिए । उनले गल्फ खेललाई टेलिभिजन प्रसारणसम्म ल्याई पु¥याउन सेतुको काम गरेका थिए ।