गल्फको नाम लिँदा टाइगर उड्सलाई नचिन्ने कमै होलान् । उनी गल्फका महान् खेलाडीको सूचीमा अग्रपंक्तिमा आउने गर्छन् । संख्याको आधारमा सर्वकालीन उत्कृष्ट गल्फर ज्याक निकलस जति उपाधिहरू नजिते पनि पैसा आर्जन गर्ने होडमा भने उड्स निक्कै अगाडी छन् । ज्याकले १८ वटा प्रमुख उपाधिहरू जितेका छन् भने उड्स १४ वटा उपाधिका हकदार हुन् तर धेरै मान्छेहरू भने ज्याकले जितेका उपाधि संख्या नउछिनेसम्म उड्सलाई गल्फकै महान् भन्न नमिल्ने बताउँछन् । गल्फमा केही खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभन्दा पनि कति वटा प्रमुख उपाधि जित्यो भन्ने कुराले बढी महत्व पाउँछ । तर उत्कृष्टताको कसी मापन गर्ने आधारहरू यतिमा मात्र सीमित हुँदैन ।
तुलनात्मक रूपमा निकलसले प्रमुख उपाधिहरू बढी जितेपनि अवार्ड संख्या र धन आर्जनको सन्दर्भमा भने उड्स नै वजनदार देखिन्छन् । गल्फको इतिहासमा उड्सले जति अवार्डहरू अन्यले प्राप्त गर्न सकेका छैनन् । सन् १९९६ मा २० वर्षको उमेरमा व्यावसायिक गल्फ करियर सुरूवात गरेका अमेरिकाका ४१ वर्षीय उड्सले १ सय ६ प्रतियोगितामा जित हासिल गरेका छन् ।

जसमध्ये ४ पटक मास्टर्स टुर्नामेन्ट, ३ पटक यूएस ओपन, ३ पटक ओपन च्याम्पियनसिप, ४ पटक पीजीए च्याम्पियनसिप गरी १४ वटा प्रमुख उपाधि रहेका छन् । यस्तै उनले ७९ पटक पीजीए टुर, ४० पटक युरोपियन टुर, २ जापानी टुर, समान एक–एक पटक एसियन टुर र पीजीए टुर अफ अस्ट्रेलएसिया सहित अन्य १६ पटक महत्वपूर्ण प्रतियोगितामा जित दर्ता गराइसकेका छन् ।
सन् १९९६ मा व्यावसायिक गल्फमा डेब्यु गरेकै वर्ष उनले पीजीए टुर रकी अफ द इयरको अवार्ड हात पारेका थिए । त्यसपछि भने उनले पीजीए प्लेयर अफ डी इयर, पीजीए टुर प्लेयर अफ डी इयर, पीजीए टुर लिडिंग मनी विनर, भर्दोन ट्रफी, बायरन नेल्सन अवार्ड, फेडएक्स च्याम्पियन गरी कुल ६० वटा अवार्ड प्राप्त गरिसकेका छन् । केही वर्ष विश्वकै धनाढ्य खेलाडी सूचीको पहिलो स्थानमा आधिपत्य जमाएका उड्सलाई सन् २००९ मा एथलिट्स अफ डिकेडको उपमा दिइएको थियो ।
प्रतिक्रिया