“चीनको दुई सत्रबाट नेपालले पाठ सिक्नुपर्छ”


काठमाडौं ।

महाशक्ति राष्ट्र बन्ने होडमा रहेको चीनले आफ्नो आर्थिक वृद्धि तथा भौतिक समृद्धिका लागि गरेको सकारात्मक प्रयासबाट नेपालले पाठ सिक्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको “चीनको दुई सत्र, २०२५: नेपालका लागि पाठ, अवसर र प्रभाव विषयक छलफल” कार्यक्रममा सहभागी वक्ताहरुले ग्लोबल साउथको नेताको रुपमा आफूलाई प्रस्तुत गरिरहेको चीनबाट समृद्धिको पाठ सिक्न सकिने धारणा राखे ।

कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कर्णबहादुर थापाले चीनको नीतिभित्र रहेर नेपालले आफ्नो समृद्धिको लागि राष्ट्रिय हितमा सम्बन्ध अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले चीनसँग राजनीतिक तवरबाट नै कूटनीतिक सम्बन्ध बलियो बनाउँदै प्रमुख नीतिगत निर्णय, आर्थिक रणनीति, अन्तर्राष्ट्रिय सहकार्य, दीगो विकास नीति कार्यान्वयनका लागि चीनबाट धेरै कुरा सिक्न सकिने जिकिर गर्दै भने– “आर्थिक सहायता माग्दा पो दिन्छन् वा दिन्नन् भन्ने हुन्छ । तर ज्ञान र अनुभवका साथै प्रविधि हासिल गर्न त कसले छेक्न सक्छ र? तर यसका लागि स्पष्ट बोली र नीतिको आवश्यक्ता पर्दछ ।”

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा वागमति प्रदेशका सांसद युवराज चौंलागाईंले चीनको राजनीतिक स्थिरता र आर्थिक समृद्धिबाट नेपालले पाठ सिक्दै लाभ लिनुपर्ने धारणा राखे । कार्यक्रममा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालका महासचिव डा. कल्याणराज शर्माले चीनसँग सहकार्य गर्न सकिने क्षेत्रको विषयमा स्पष्ट रणनीति तर्जुमा गरी नेपालको समृद्धिको लागि लगानी साझेदारको रुपमा चीनबाट लाभ लिन सकिने बताए । उनले चीनसँग सम्बन्ध बढाएर बैदेशिक लगानी भित्र्याउन सकिनेतर्फ पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

चीनको वार्षिक दुई सत्रहरु चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी) र चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय सम्मेलन (सीपीपीसीसी) गत मार्च ४ तारिखमा शुरु भएर ११ तारिखसम्म चलेको थियो । चीनको राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण नीतिहरु र योजनाहरुमा छलफल गरिने यी दुई सत्रले चीनको भविष्यको दिशा निर्धारण गर्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चीनको भूमिकालाई पनि प्रभाव पार्छ ।

चीनको दुई सत्रले नेपाललगायत अन्य विकासशील देशहरुका लागि पनि महत्वपूर्ण सिकाइहरु प्रदान गर्नसक्छ । चीनले आफ्नो विकास प्रक्रियामा गरेका सुधारहरु, औद्योगिकीकरण र आधुनिकीकरणका अनुभवहरु नेपालले आत्मसात गरी समृद्धि हासिल गर्न सक्छ ।