काठमाडौं ।
आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्सको दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । ललितपुर कुपण्डोलस्थित एक म्यानपावरमार्फत ४८ दिनअघि दुबई पुगेका उनीहरूले सम्झौताअनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हारगुहार गरेका हुन् ।
समस्यामा परेकामध्ये कृष्ण भण्डारीका अनुसार नेपालमा मेनपावरले सम्झौता गर्दा प्याकिङको काम भनेर पठाएको तर दुबई पुगेपछि क्लिनरको काममा लगाएको र ८ घण्टा ड्युटी भने पनि १२–१३ घण्टा ड्युटीमा खटाउने गरिएको बताएका छन् । तर, वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले समस्यामा परेर कुनै पनि उजुरी विभागमा नपरेको बताउनुभयो । उहाँले समस्यामा परेको आफन्तले उजुरी दिए समस्याको समाधान गरिदिने बताउनुभयो ।
पीडितका अनुसार दुबई आबुधाबीमा ४०–४५ जना जति श्रमिक रहेका छन् । उनीहरूले मेनपावरले भनेअनुसार काम नदिएको बताएका छन् । क्लिनरका रूपमा १२ घण्टा काम गर्नुपर्ने, १० घण्टा ड्युटी एक घण्टा खानाको टाइम भनेर पठाएको पाइएको छ । श्रमिकहरूलाई ओभरटाइमको पैसा पनि नदिने गरेको पाइएको छ ।
श्रम स्वीकृतिको पेपरमा ८ घण्टा लेखिए पनि १६ घण्टा ड्युटीमा खटाउने गरेको पाइएको छ । ‘हामीलाई जसरी भए पनि उद्धार गर्नुहोस्, नेपाल फर्कन चाहन्छौं, सम्झौतापत्रमा सातामा एक दिन छुट्टी भनेको थियो तर त्यो छुट्टी पनि छैन,’ एक पीडितले भने– ‘महिनामा एक दिनमात्र छुट्टी दिने रहेछ । त्यो पनि कुनै लोकेसनमा त महिनामा दुई दिनमात्र रहेछ ।’
‘बिरामी हुँदा पनि ड्युटी जानैपर्छ नत्र भने डिपोर्ट पेपरमा सिक्नेचर गर अनि सुतेर बस भन्छ’ –भण्डारीले नेपाल समाचारपत्रलाई भन्नुभयो । हामीसँग कुनै पनि कार्ड छैनन् तर क्याम्पले मेडिकल कार्ड मागेको छ । मेडिकल पेपर ले अनिमात्र बिरामी भएको हो भन्छु नत्रभने तिमीहरू काममा जानैपर्छ भनेर कम्पनी प्रशासनले दबाब दिने गरेको पीडितले बताएका छन् ।
‘फ्री भिसा’ र ‘फ्री टिकट’ भए पनि मेनपावरलाई प्रतिव्यक्ति २ लाखदेखि २ लाख ४० हजार रुपियाँसम्म तिरेर दुबई पुगेको पीडितले बताएका छन् । उनीहरूले आफूहरूलाई तत्काल सकुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई सञ्चार माध्यममार्फत आग्रह गरेका छन् ।
हामीलाई मेनपावरले भनेभन्दा बढी ड्युटी भएको र ओभरटाइमको पैसा नपाएको हुनाले अब यहाँ काम गर्न नसक्ने भयौँ,’ उनीहरू भन्छन्– ‘त्यसैले हामीलाई उद्धार गर्नुहोस् ।’ सम्झौताअनुसारको काम नपाएपछि मेनपावरलाई कुरा गर्दा कहिले भोलि, कहिले पछि गर्दिन्छु भन्दै दुई साता बितिसक्दा पनि कुनै वास्ता नगरेको पीडितको गुनासो छ ।
(५)
फोटोसहित एङ्कर
समाचार प्रभाव (बीचमा राख्ने)
असोज बाढीको कहर (स्लग)
बन्न थाल्यो जलविनायकको क्षतिग्रस्त संरचना (हेड)
–चालू आवमा २५ मध्ये ६ वटामात्रै बन्ने
–जलविनायकाको काम शुरू, ५० लाख विनियोजन
ईश्वरराज ढकाल, कीर्तिपुर
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक मन्दिरको खण्डहर संरचना पुनःनिर्माण शुरू भएको छ । असोज ११ र १२ गते आएको बाढीका कारण क्षतिग्रस्त सत्तल र वागमती नदीसँगै रहेको भकारी क्षतिग्रस्त थियो । क्षतिग्रस्त सबै संरचना पुनःनिर्माण शुरू भएको छ । कीर्तिपुर नगरपालिकाको पहलपछि पुरातत्व विभागले क्षतिको आँकलन गरेको थियो ।
लगत्तै विभागले मन्दिर परिसरको संरचना पुनःनिर्माण गर्न ७० लाख रुपियाँ लाग्ने अनुमान गरेको थियो । अहिले पुनःनिर्माण गर्न अनुमान गरेभन्दा २० लाख कम उपलब्ध गराएको छ । ‘५० लाख रुपियाँ आएको छ, उक्त रकमबाट पुनःनिर्माण शुरू गरेका छौं’ –कीर्तिपुर नगरपालिका–६ का वडाअध्यक्ष खिरमानसिंह बस्नेतले भन्नुभयो । नगरपालिकाले ५ दिनअघिबाट पुनःनिर्माण शुरू गरेको हो ।
अध्यक्ष बस्नेतका अनुसार वर्षाअगावै काम सक्ने गरी पुनःनिर्माणको काम शुरू गरेका छौं । उपत्यकाको पानीको निकास गल्छीसँगैको जलविनायक मन्दिरको अवस्था र संरचना बिजोग छ । मन्दिरसँगैको वासुकी नाग रहेको स्थानसमेत क्षतिग्रस्त भएको छ । पहिलो चरणमा क्षतिग्रस्त सत्तल र भकारी पुनःनिर्माण गर्न उपभोक्ता समिति गठन भएको छ । समितिमार्फत काम शुरू गरेको वडाध्यक्ष बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग, पुरातत्व र कीर्तिपुर नगरपालिकाको पहलपछि अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेको हो । ‘५० लाख प्राप्त भएको छ, अपुग रकम कीर्तिपुर नगरपालिकाले व्यवस्थापन गर्ने तयारी छ’ –अध्यक्ष बस्नेतको भनाइ छ । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले जनविनायक मन्दिर पुनःनिर्माण गर्न अर्थ मन्त्रालयमार्फत प्राधिकरणले रकम व्यवस्थापन गरेको बताउनुभयो ।
मन्दिरमा क्षति नभए पनि पूर्वतिर रहेको सत्तल र सयौं वर्ष पुरानो भकारी क्षतिग्रस्त भएको थियो । वडा कार्यालयले पहिलो चरणमा सत्तल, पेटी र भकारीको पुनःनिर्माण गर्न लागेको हो । त्यसका लागि संरचना हटाउन शुरू गरेको छ ।
दोस्रो चरणमा वासुकी नाग स्थान र अन्य संरचना पुनःनिर्माण गर्ने तयारी गरेको छ । यसअघि तत्काल समस्या समाधान गर्न वर्षालगत्तै बाढीले क्षतिग्रस्त गरेलगत्तै वडा कार्यालयले केही बजेट व्यवस्थापन गरी संरक्षण गरेको थियो । यसैबीच चालू आवमा करिब ६ ओटा मात्र संरचना पुनःनिर्माण हुने भएको छ । बाँकी सम्पदा आगामी वर्ष पुनःनिर्माण हुनेछन् ।
पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जलविनायक, टीकाभैरव, पनौती र जाजरकोटका केही संरचनामात्र पुनःनिर्माण हुने जानकारी दिनुभयो । सोही आधारमा अर्थ मन्त्रालयले बजेट निकासा शुरू गरेको छ । अब धमाधम पुनःनिर्माणको काम शुरू हुनेछ – विभागका महानिर्देशक प्रधानाङ्गले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
उहाँका अनुसार यो वर्ष अधिक क्षति भएका सम्पदाहरूको मात्र पुनःनिर्माण गर्ने तयारी छ । देशभर २५ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये सबैभन्दा धेरै ललितपुरको महांकाल गाउँपालिकाको सम्पदामा क्षति पुगेको छ । तीबाहेक, रामेछाम, मन्थली, गोरखा, चागुँनारायण, ललितपुरको गोदावरीका छन् ।
ललितपुरको महांकाल गाउँपालिकास्थित तार्केश्वर महादेव मन्दिरको ६४ शिवलिंग र सत्तलमा सबैभन्दा धेरै क्षति पुगेको छ । यो वर्ष पनौतीको त्रिवेणीघाटस्थित नित्यभजन पाटी, लंकेश्वर महादेव मन्दिर, गोरखा दरबारस्थित गणेश मन्दिर पछाडि रहेको कालीमन्दिर, लेलेस्थित लिच्छविकालीन अभिलेख र टीकाभैरव मन्दिर पुनःनिर्माण हुनेछन् ।
पाँच पेजमा
पाथीभरा क्षेत्र केबलकार विवाद
गृह मन्त्रालयले फेरि औपचारिक वार्तामा बोलायो
नेपाल समाचारपत्र, काठमाडौं
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई फेरि औपचारिक रूपमा वार्ताको लागि बोलाएको छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादले एक महिनायता ताप्लेजुङको क्षेत्र अशान्त रहेका बेला मन्त्रालयले फेरि औपचारिक रूपमा वार्ताको लागि आह्वान गरेको हो ।
गत माघ २० गते मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठित वार्ता समितिले दोस्रोपटक वार्ताका लागि बोलाएको थियो । यसअघि गृहमन्त्री लेखक आफैंले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभएको थियो– ‘पाथीभरा–मुक्कुमलुङ केबलकार निर्माणबारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ । वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्छु ।’
केबलकार राख्न नहुने (नो केबलकार) भनी आन्दोलनरत पक्षले मन्त्रालयको सहसचिवस्तरीय वार्ता समितिको कुनै औचित्य नभएको भन्दै आन्दोलन थालेको स्थिति रहेको छ । आन्दोलनकारीले गत माघ २८ गते गृहमन्त्री रमेश लेखकलाई भेटेर सहसचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको छलफल सार्थक निष्कर्षमा पुग्न नसक्ने आफ्नो पक्षको निष्कर्ष सुनाएको थियो । नो केबलकारको आन्दोलन चर्किंदै गएपछि स्थानीय प्रशासनले हाल निषेधाज्ञा जारी गरेको छ ।
मन्त्रालयले वार्ता समिति गठन गरेको भोलिपल्ट गत माघ २१ गते ‘नो केबलकार पक्षधर’ले पनि अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन ग¥यो । दुवै टोलीबीच माघ २२ गते भएको वार्तामा माघ २७ गते निर्णायक वार्ता गर्ने भन्दै केबलकार निर्माण पनि स्थगित गर्ने र आन्दोलन पनि स्थगित गर्ने सहमति भएको थियो । तर, २७ र २८ गते वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन र त्यसपछि भने दुई पक्षबीच अर्को वार्ता नै हुन सकेको छैन । केबलकारको विषयलाई लिएर भएको वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै नो केबलकार पक्षधर मुक्कुमलुङ ताङसेप चुम्भोका संस्था र अन्तरदलीय राजनीतिक पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । उनीहरूले आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ ।
यस अवस्थामा मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरिएको जानकारी दिनुभयो । निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समितिले सबैमा हार्दिक अपिल गरेको मन्त्रालयको पत्रमा भनिएको छ ।
सरकारले मन्त्रीस्तरीय वार्ता टोली नबनाउने हो भने आन्दोलन जारी नै रहने बताउँदै आएका आन्दोलनरत पक्षले वार्ताका लागि गरेको यो आह्वानलाई कसरी लिने छ, त्यो भने हेर्न बाँकी नै छ ।
फोटो
डा. विकास देवकोटा, डा. संगीता मिश्र, डा. टंक बाराकोटी
स्वास्थ्य सचिवमा कसले मार्ला बाजी ?
काठमाडौं, (नेस)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइबारबाट रिक्त हुन आएको सचिव पदका लागि छनोट समिति गठन गरी प्रक्रिया शुरू गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदबाट यही फागुन ११ गते आइतबार डा. रोशन पोखरेल उमेर हदका कारण अवकास हुनुभएकाले सचिव पद खाली भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । नयाँ सचिव नियुक्तिका लागि सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष माधव शर्मा रहनुभएको छ । उहाँको अध्यक्षतामा सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशक पद सम्हाली सक्नुभएका तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, पूर्वमहानिर्देशक डा. संगीता मिश्र र स्वास्थ्य मन्त्रालयकै डा. टंक बाराकोटी रहेका छन् । बढुवा समितिले नियमसंगत तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएकाले तीनै जना बाह्रौँ तहका चिकित्सकको नाम सिफारिस भएको छ ।
यसअघि सोमबार बिहान बसेको समितिको पहिलो बैठकले सचिवका लागि योग्य कर्मचारीसँग विवरण माग गर्ने निर्णय गरेको थियो । अब मन्त्रिपरिषद्को बैठकले तीनमध्ये एक जनालाई सचिवमा नियुक्त गर्नेछ ।
आज महाशिवरात्रि धुमधामसँग मनाइँदै
काठमाडौं, (नेस)
आज बुधबार महाशिवरात्री पर्व नेपाललगायतका विश्वका हिन्दुधर्मावलम्बीहरूले धुमधामका साथ मनाउने भएका छन् ।
नेपालमा शिवरात्री पर्वलाई हिन्दुहरूले प्रमुख चाडको रूपमा समेत मनाउने गरेका छन् । सरकारले शिवरात्रीमा सरकारी बिदा दिने गरेको छ ।
महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । उक्त योजना सोमबार बेलुकीबाट शुरू भएको छ ।
पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।
महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको संख्या ४ लाखभन्दा बढी हुने आंकलन गर्दै उहाँले भन्नुभयो– ‘३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । सुरक्षाको कमान्ड एआईजी तामाङ आफैंले गर्नुहुने भएको छ ।’
भीडभाडको मौका छोपेर आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने भएकाले अपराध नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
मंगलवार बेलुकीबाटै पशुपति परिसरमा भक्तजनहरूको आगमन हुने भएकाले जिल्ला प्रहरी परिसर काठमाडांैका एसपी अपिलराज बोहोराको कमान्डमा तीन सिफ्टमा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।
पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरूले कुनै पनि अफ्ठ्यारो महसुस गर्नु पनरोस् भनेर सुरक्षा निकायले सबै उपाय अवलम्बन गरेको र सोहीअनुरूप प्रहरी परिचालनको व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
शिवरात्रीको अवसरमा गाँजा सेवन गर्नेहरूको संख्या पशुपति मन्दिर परिसरमा अत्यधिक हुने भएकाले त्यसलाई नियन्त्रण गर्ने हेतुले प्रहरीले गांजा निषेध अभियान पनि सञ्चालन गर्ने भएको छ ।
यता, पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको लागि तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ परिसरमा जम्मा भएका साधुसन्तदेखि दर्शनार्थीका लागि समेत सबै व्यवस्था मिलाएको बताएको छ ।
दर्शनार्थीहरू लामो लाइनमा बस्नु नपरोस् भनेर पशुपतिका चारै ढोका खुल्ला राखिनुका साथै स्वयम्सेवकलाई मन्दिरमा दर्शन गर्दा छिटो र छरितो तरिका अपनाउन निर्देशन दिएको पनि कोषले जनाएको छ ।
नेपालद्वारा युक्रेनको पक्षमा मतदान
काठमाडांै, (नेस)
युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसंघीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । महासभामा नेपालले युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिको विकास भन्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।
नेपालले युक्रेनको पक्षमा मतदान गरे पनि छिमेकी मुलुक भारत र चीनले मतदानमा अनुपस्थित भएका थिए । कूटनीतिज्ञहरूले नेपालले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । तीन वर्षदेखि रुसले युक्रेनमाथि आक्रमण गरी युक्रेनी जनतामाथि अन्याय गरिरहेको छ । राष्ट्रसंघको महासभाले रुसविरुद्धको प्रस्ताव पारित गरेको हो ।
अमेरिका, रुस, उत्तर कोरिया, बेलारुसलगायत १८ मुलुकले रुसको पक्षमा मतदान गरेका थिए भने नेपाललगायतका ९३ मुलुकले युक्रेनको पक्षमा मतदान गरेका थिए । महासभामा मतदान हुने बेला चीन, भारतलगायतका ६५ मुलुक अनुपस्थित रहेका थिए ।
यसअघि युक्रेनको पक्षमा रहेको अमेरिकाले सत्ता परिवर्तन भएसँगै कित्ता पनि परिवर्तन गरेको छ । अमेरिकाले रुसको पक्षमा मतदान गरेको छ । अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा शुरू भएको छ ।











प्रतिक्रिया