बुटवल ।
दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर मंगलवार दिनभर तनावग्रस्त बनेको छ । प्रेम विवाहको विषयलाई लिएर दुई पक्षबीचको विवादले उग्र रूप लिँदा यो घटना भएको हो ।
केटा पक्षले मंगलवार बिहान (कुटपिट) झगडाको प्रतिशोध साँध्न २५÷३० जना युवाको समूहमा आई बेलासपुर निवासी मोहरम पवरियाको घरमा ढुंगामुढा गर्दै आगो लगाई घर जलाएका हुन् । घरमा आगजनी गरेपछि प्रहरीले पवरियाको परिवारहरूलाई प्रहरीको गाडीमा राखी सुरक्षित गर्न जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा ती आक्रमणकारी युवाहरूले प्रहरीको गाडीमा पनि ढुंगामुढा गर्दै आगो लगाएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
घटनाका सम्बन्धमा नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले पाँचजना स्थानीय, १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएको बताउनुभयो । २ महिनाअगाडि कुस्मा बस्ने नरेश धोबीका छोरा अजेन्द्र धोबीले सोही गाउँकी अकरम पवरियाकी छोरी सहाना पवरियालाई आफ्नो प्रेममा पारी भगाएका थिए । सो घटनामा वडास्तरदेखि प्रहरीसम्म मिलापत्रको पहल भइरहेको थियो ।
सो पहलमा केटा पक्ष र केटी पक्षबीच मनमुटाव बढ्दै जाँदा झगडा र एकअर्कालाई कुटपिटसमेतको घटना हुँदै आएको थियो । एक स्थानीयका अनुसार सोमबार साँझ केटी पक्षका एकजनाले केटा पक्षको एक जनालाई कुटपिट गरेपछि यो विवाद थप उत्कर्षमा पुग्यो र मंगलवार बिहान ८ बजेको समयमा केटा पक्षबाट २०÷२५ जनाको समूहमा आई यो घटना घटाएका हुन् ।
बिहान २०-२५ जनाको समूहमा आएका केटा पक्षीय समूहले केटीको आफन्त मोहरम पवरियाको घरमा कुटपिट गर्न खोज्दा विवाद बढ्दै गएको थियो ।
आएका केटा पक्षका समूहले पवरिया र उनका परिवारलाई कुटपिट गर्न र घरमा आगो लगाउने प्रयास गर्न खोज्दा ज्यानको खतरा देखेपछि मोहरम पवरियाको छोराले पिकप भ्यान चलाएर २ जनालाई घाइते बनाएपछि विवादले थप उग्र लियो । ती आक्रमणकारी समूहले पवरियाको घरमा ढुंगामुढा गर्दै घरमा आगो लगाएको एक स्थानीयले बताए ।
केटा पक्षले पवरियाको घरमा आगो लगाउने र पवरिया परिवारका सदस्यहरूमाथि आक्रमण गर्न खोज्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेकोे जनाएको छ । सो क्रममा ५ जना घाइते भएका छन् । ३ जना गम्भीर घाइते भई विभिन्न अस्पताको आइसीयूमा उपचारर्थ छन् भने २ जना मध्यम घाइते रहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीतर्फ पनि १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणकारी समूहले जलाएको प्रहरी बा १ झ ७४४८ नम्बरको गाडी जुन सिमा प्रहरी चौकीले प्रयोग गर्दै आएको गाडी हो । प्रहरीले अहिलेसम्म ६ जना नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ भने घटनाका दोषीहरूलाई धरपकड हुने क्रम पनि जारी रहेको छ । थप विवाद हुन नदिनका लागि प्रहरी प्रशासनले उच्च सतर्कता बढाएको छ ।











प्रतिक्रिया