शिक्षा र सीप सफलताको आधार

0
Shares

आफ्ना बालबालिकाहरुलाई सक्षम बनाउनुपर्छ भन्ने अवधारण सदियौंदेखि चल्दै आइरहेको छ । उनीहरु सक्षम भएर आफ्नो अग्रजले प्राप्त गर्न नसकेका उपलब्धिहरु समेत हासिल गरुन र आफ्नो छुट्टै पहिचान बनाउन सकुन भन्ने सपना हरेक अभिभावकको हुने गर्दछ ।

बालबालिकालाई भविष्यमा सफल बनाउनका लागि पढाईलाई पहिलो प्राथमिकतामा राखिन्छ । उनीहरुलाई पढाईमा केन्द्रित हुन जोड गरिन्छ । जीवनमा सफल हुनलाई पढाई नै सबैथोक हो भन्ने मान्यता कलिला बालबालिकाको मन मस्तिष्कमा कोची–कोची भरिन्छ । पढाई भएन भने बालबालिकाले आफ्नो भविष्य, समाज अनि राष्ट्रको लागि केहिपनि गर्न सक्दैन भनेर नजिर स्थापित गरिन्छ ।

अझै भन्नुपर्दा सक्षम हुनलाई पढ्नु पर्छ मात्र होइन, डाक्टर, इन्जिनियर, पाइलट, चार्टड एकाउन्टेन्ट वा सरकारी कर्मचारी जस्ता प्रतिष्ठित ओहोदाधारी बन्नुपर्छ भन्ने सोचाई हरेक अभिभावकमा हुन्छ । यस्तै सोचका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरी फुर्सदमा बसेको वा खेलेको देख्दा समेत तुरुन्तै पढ्न अ¥हाएर अभिभावक हुनुको दायित्व पूरा गरिरहेका पनि हुन्छन।

विद्यालय गएर किताब पढ्नु र राम्रो अंक ल्याउनु मात्र पढाई हो भन्ने मान्यता सर्वब्यापी नै छ । निसन्देह पढाई सबैभन्दा महत्वपूर्ण विषय हो । तर, स्कूल जानु, किताब पढ्नाले मात्र बालबालिकाको मानसिक र शारारिक विकास हुन्छ भन्ने अवधारणा गलत हो । पढाईसँगै अरु थुप्रै विधामा सक्षम अनि सफल हुन सकिन्छ भन्ने बारेमा पनि सोच्नु पर्दछ ।

अभिभावकले पढाईलाई मात्र जोड दिँदा कतिपय बालबालिकाले राम्रो अंकका साथ कक्षा उत्तीर्ण गरे पनि जीवन उपयोगी सीप प्राप्त गर्नका लागि आफूलाई मन परेको विषयको बारेमा भन्न समेत नसक्ने हुन्छन् । अभिभावकले जुन विषय रोज्यो त्यसैलाई स्वीकार गर्नुको विकल्प हुँदैन उनीहरुमा । जसका कारण कतिपय अवस्थामा उनीहरु अभिभावकले बनाउन खोजे जस्तो पनि बन्न सक्दैनन र उनीहरुले बन्न चाहे जस्तो पनि बन्न पाउंदैनन । बालबालिकालाई सक्षम बनाउन अभिभावकले रोजेकै विषय मात्र होइन, उनीहरुले रोजेको विषयका लागि पनि प्रेरणा र हौसला प्रदान गर्न आवश्यक छ ।

यदि फुटबल लेजेन्ड पेलेलाई उनको बाल्यकालमा कपडाको झुम्रोबाट बनाएको बललाई त्यागेर अभिवभावकले अन्य कुरामा लगाएका भए सायद उनले अभिभावकले रोजेको विषयमा फुटबलमा जस्तै गरी सफलता पाउन सक्थे होला त । पेले कति पढे भनेर कहिल्यै कुरा गरिँदैन, उनले कसरी र कति गोल हाने भन्ने मात्र कुरा हुन्छ ।

उनैको सीपले गर्दा ब्राजिलको खेलमन्त्री सम्म बने । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो लगायत विभिन्न क्षेत्रबाट प्रसिद्धि कमाएका संगीतज्ञ, राजनीतिज्ञ, ब्यापारीहरु यसका राम्रा उदाहरणहरु हुन । नेपालको सन्दर्भमा पनि त्यस्ता धेरै उदाहरण छन, जसले पढाईसँगै सीप देखाएर आफूलाई स्थापित गरेका छन । देशको नाम राखेका छन ।

यदि तिनका परिवारले उनीहरुलाई किताबी ज्ञानमा मात्र भुलाएका भए देशमा न खेलाडी जन्मिन्थे न गायक न संगीतकार वा अरु कुनै सीपले भरिएको ब्यक्तित्व जन्मिन्थे । यसबाट के बुझ्न जरुरी छ भने अहिलेको विश्वमा नाम र दाम कमाउन राम्रो पढ्नु र उत्कृष्ट अंकका साथ परीक्षामा उत्तीर्ण हुनुले मात्र पुग्दैन ।


पढाई अनिवार्य हो तर, पढाई मात्रै अनिवार्य होईन भनेर पनि बुझ्नु पर्दछ । बालबालिकालाई सक्षम बनाउन उनीहरुलाई मनैदेखि के कुरामा अगाडी बढ्न इच्छा लागेको कुरा उनीहरु स्वयंलाई अभिब्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिनु पर्दछ । उनीहरुले अभिब्यक्त गरेका र क्षणिक रूचि भएको विषयमाथि अन्तरनिहित खुबीको पहिचान गरी त्यसलाई उत्कृष्ट रुपमा प्रदर्शन गर्ने अवसर प्रदान गर्न सकेमा बालबालिकालाई सक्षम बनाउन रामवाणको काम गर्नेछ ।