विदेशमा छोरीको हत्या, शव नआउँदा आमा चिन्तित

4.79k
Shares

नवलपरासी ।

नवलपरासी वैदेशिक रोजगारीमा गएकी  छोरीको हत्यापछि लामो समयसम्म शव नआउँदा वृद्ध आमा चिन्तित बनेकी छन् ।

नेपालबाट श्रम स्वीकृति लिएर विदेश गएकी पूर्वी नवलपरासी,कावासोती- ४ बस्ने तिलमाया सार्कीको मलेसियामा गत वैशाखमा हत्या भएको थियो ।

तिलमायाले ७१ वर्षीय बृद्ध आमा धनमाया र ५ वर्षकी नाबालिका छोरी अनितालाई आफ्नी दिदी मिनमायासँगै छाडेर वैदेशिक रोजगारीमा गएकी थिइन्  ।

अघिल्लो हप्ता बैशाख २६ गते बेलुकासम्म मलेसियामा काम गरी बसेकी बहिनी तिलमायासँग दिदी मिनमायाको राम्रै संवाद भएको थियो । अर्को हप्ता मलेसियाबाट एक्कासी बहिनी तिलमाया मारिएको भन्ने खबर सुन्नु पर्दा आफू छाँगाबाट खसेझैँ भएको मीनमाया सुनाउँछिन् ।

तिलमयासंगै अर्का एक नेपाली पुरुषको पनि हत्या भएको र दुवै जनाको शव त्यहीको एक सडक नालामा भेटिएको मिनमायालाई फोन मार्फत बताइएको थियो ।

बहिनी तिलमायाको एक पाकिस्तानीले हत्या गरेको भन्ने खबरले आमा धनमाया बिछिप्त भएको र छोरीको सास नभए लास त ल्याई देउन् भनी चिन्तामा डुबी रहने गरेको मीनमाया बत्ताउँछिन् । बहिनीको हत्या भएको खबरले बिछिप्त मिनमायाले सदरमुकामस्थित स्थानीय नगर मातहतको सुरक्षित आप्रवासन  कार्यक्रम (सामी) पुगेर वडा सिफारिससहित घटना बारेका प्राप्त सबै विवरण टिपाएकी थिइन् ।

वैदेशिक रोजगारमा मलेसिया गएकी तिलमाया सार्कीको विषयसँग सम्बन्धित परिवारबाट प्राप्त विवरण वैदेशिक रोजगार बोर्डमा पठाएको सामी  परामर्शदाता रञ्जना लम्साल बत्ताउँछिन् । मिनमाया विदेशमा हत्या भएकी बहिनीको शव अविलम्ब ल्याउन र घटनासँग सम्बन्धित कागजात झिकाउन कसलाई भन्दा हुन्छ भौँतारिई रहेकी छन् ।

तिलमाया म्यानपावर कम्पनी राज ओभरसित प्रा.लिमार्फत रोजगारदाता कम्पनी साइन इट्सु पोलिमर मलेसिया पुगेको र हत्या हुनु अघि त्यहीँ उत्पादन मजदुरका रूपमा कार्यरत रहेको बुझिएको छ ।

मृतक तिलमायाकी नाबालिक छोरी अनिता स्थानीय एक विद्यालयमा पढ्दै छन्,बाबुले  तिलमायासँग वैदेशिक रोजगारीमा जानु पूर्व नै सम्बन्धविच्छेद गरी सकेकोले बालिकाको रेखदेखमा कुनै जिम्मेवारी लिएका छैनन्। बालिकाको आगामी भविष्य, खानपान, लत्ताकपडा, पढाइ लेखाईका निमित्त आवश्यक रकम कलम सबै कुराको लागि दिदी मिनमया लगायत संरक्षक परिबार चिन्तित बनेको हो । 

यता वैदेशिक रोजगारमा जाने श्रमिकको विदेशमै मृत्यु भई समयमा शव नआउँदा  पीडित परिवारले बोर्डबाट पाउने क्षतिपूर्ति रकम गुम्ने अवस्था आउन नहुने सामी परामर्शदाता रञ्जना लम्साल बत्ताउँछिन् ।

यसै सम्बन्धमा वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तिलमाया सार्कीको हत्या घटनाबारे अनुसन्धान भई रहेको र छिटै उनको शव नेपाल पठाइने भनी दूतावासबाट बोर्डलाई जानकारी प्राप्त भएको बताए ।

दिदी मिनमया भन्छिन् यस कुरामा राज्य गम्भीर बनी दिएर विदेशबाट शव छिटो ल्याइदिए धर्म संस्कार अनुसार काजक्रिया गर्न पाइन्थ्यो र बहिनीको आत्माले पनि शान्ति पाउने थियो । यही चिन्ता र चासोबिच तिलमायाको शव झिकाई र बोर्ड, बिमा लगायतबाट पाउने रकम तत्काल उपलब्ध गराउन नावालिकासहित पीडित परिवारले माग गरेका छन् ।