काठमाडाैंलाई सुरक्षित र व्यवस्थित गर्न प्रहरी कार्यालयले नयाँ योजना बनाएकाे छ : टेकबहादुर तामाङ


काठमाडाैं ।

राजधानीलाई सुरक्षित र व्यवस्थित गर्न उपत्यका प्रहरी कार्यालयले नयाँ रणनीतिक योजना ल्याउने तयारी गरेको छ । 

सो कार्यालयले सुरक्षित राजधानीको अवधारणालाई कार्यान्वयनमा ल्याउन के-कस्ता विषयवस्तु समावेश गर्न सकिन्छ भन्ने हेतुले सञ्चारकर्मीसँग बिहीबार छलफल गरेको छ ।

भय रहित संघीय राजधानीको अवधारणा अघि सारेको सो कार्यालयले यहाँका जनतालाई कसरी भयरहित वातावरण प्रदान गर्न सकिन्छ भन्ने विषयमा समेत विषय विज्ञसँग समेत छलफल अघि बढाएको हाे । 

सो कार्यालयमा प्रमुखको रूपमा हालै सरुवा भएर आएका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले हरेक नागरिकको सुरक्षामा ध्यान दिँदै आएको बताए । 

अहिले पनि राजधानीमा एक प्रहरीले २ सय ४८ जना नागरिकको सुरक्षा गर्नु पर्ने अवस्था रहेको र समाजमा अवाञ्छित क्रियाकलाप गर्ने समूह सक्रिय रहेकाले उनीहरूलाई समेत कानुनी दायरामा ल्याउन गुण्डागर्दी र बिचौलियालाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । 

टोले गुन्डादेखि राजनीतिक संरक्षणमा आतङ्क मच्चाउँदै आएको समूह तथा संगठित रूपमा गुन्डागर्दी गर्दै आएका गुन्डाहरूको प्रोफाइल बनाउन सुरु गरिएको केही समयभित्र नै त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अभियान नै सञ्चालन गर्ने तयारीमा उपत्यका प्रहरी कार्यालय रहेको उनले जानकारी दिए । 

अपराध अनुसन्धान तथा अभियोजनमा प्रहरी अधिकारीको कमजोरी रहेकाले त्यसलाई सुधार गर्न पनि अभियान सञ्चालन गर्न लागेको उनले बताए।  अहिले देशभर चेक बाउन्सका मुद्दा ५८ हजार रहेकोमा राजधानीमा मात्रै १६ हजार भन्दा बढी यस्ता मुद्दा रहेकाले आर्थिक अपराध नियन्त्रण गर्न पनि अभियान सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको एआईजी तामाङले बताए। 

जनतालाई आतङ्कित पार्न जन्मदिनमा केक काट्दा खुकुरी , तरबार जस्ता बस्तुको प्रयोग गर्ने र त्यसरी काटिएको केकको भिडियो सामाजिक सञ्जालमा हालेर समाजमा आतङ्क फैलाउने समूह अहिले सक्रिय रहेकाले उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउने अभियान सुरु भइसकेको उनले जानकारी दिए । 

सुरक्षित राजधानी तीन बर्से रणनीतिक अवधारणा अघि सार्दै त्यसलाई अल्पकालीन, मध्यकालिक र दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयनमा ल्याउन लागेको पनि उनले जानकारी दिए।