चालू आवमा १६ खर्ब ९२ अर्ब खर्च हुने संशोधित अनुमान
राजस्वको लक्ष्य छ महिनामा सवा खर्ब कम
काठमाडौं ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्चमा सुधार भए पनि चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म एक तिहाईभन्दा कम बजेट खर्च भएको छ । उक्त अवधिमा जम्मा ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख रुपियाँ बजेट खर्च भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार छ महिनामा कूल विनियोजन बजेटको ३५ दशमलव ८९ प्रतिशत हो । चालू आर्थिक वर्षको छ महिनासम्मको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढेको छ । बिहीबार बजेटको अर्धवार्षिक समिक्षा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि विस्तार भई राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने, आयोजना एवम् खर्च व्यवस्थापनमा सुधार आई आय–व्ययको समग्र प्रगति वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने गरी संशोधित अनुमान गरिएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख गरी १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँको बजेट विनियोजन भएको थियो । यस अवधिमा चालूतर्फ ४ खर्ब ५२ अर्ब ५५ लाख अर्थात् ३९ दशमलव ६३ प्रतिशत, पुँजीगततर्फ ५६ अर्ब ९३ करोड ८४ लाख अर्थात् १६ दशमलव १६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ१ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख अर्थात् ४३ दशमलव २० प्रतिशत खर्च भएको छ ।
समीक्षा अवधिमा सरकारको स्रोततर्फ ६ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ । जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५ दशमलव ८६ प्रतिशतले बढी हो । त्यस्तै वैदेशिक अनुदानतर्फ ७ अर्ब ७१ करोड ९२ लाख खर्च भई गत आर्थिक वर्षकाे तुलनामा ४३ दशमलव ७९ प्रतिशतले बढी खर्च भएको छ ।
गत आर्थिक वर्षको सिर्जित दायित्व २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी रहेकोमा समीक्षा अवधिसम्म २२ अर्ब २२ करोड ८९ लाख भुक्तानीका लागि स्रोत व्यवस्थापन गरिएको अर्थमन्त्रालयले जनाएको छ । पुसमहिनासम्ममा विभिन्न आयोजनाको लागि १ खर्ब १ अर्ब ९६ करोड ५५ लाखको स्रोत सहमति प्रदान गरिएको छ । चालू आर्थिक वर्षमा जम्मा १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपियाँ खर्च हुने संशोधित अनुमान गरिएको छ । यो रकम विनियोजन बजेटको ९० दशमलव ९९ प्रतिशत हो ।
संशोधित अनुमान अनुसार चालुतर्फ १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात् विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६लाख अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ। आर्थिक वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट ९राजस्वर आन्तरिक ऋण०१४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख, वैदेशिक अनुदानतर्फ ३६अर्ब ६२ करोड ८६ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान रहेको छ ।
अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा लिइएको क्रियाशीलताबाट गत वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले वृद्धि भए पनि महत्वकांक्षी लक्ष्य अनुमानले स्रोत व्यवस्थापनको दबाव कायमै रहेको बताउनुभयो चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व संकलन हुने अनुमान रहेकोमा समीक्षा अवधिसम्मा ६ खर्ब ७२ अर्ब ८० करोड ९४ लाख राजस्व प्राप्तिको अनुमान थियो । तर, ५ खर्ब ६७ अर्ब ३९ करोड ७३ लाख रुपियाँ मात्रै संकलन भएको छ । यो रकम राजस्व प्राप्ति अर्धबार्षिक लक्ष्यको तुलनामा ८४ दशमलव ३३ प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिसम्मको राजस्व संकलन ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाखको तुलनामा करिव १० दशमलव ०९ प्रतिशतले अधिक रहेको छ ।
सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुमा बजेट तर्जुमा गर्दा पूर्वतयारी पूरा भएका आयोजनामा मात्र विनियोजन हुन नसक्नु, वन क्षेत्रको उपयोग, आयोजना स्थलको जग्गा प्राप्तिभ, मुआब्जा निर्धारण र वितरण, क्षतिपूर्तिलगायतका प्रक्रिया पूरा नभएका आयोजनामा समेत बजेट विनियोजन गर्ने प्रवृत्ति विद्यमान रहेको जनाइएको छ ।
आयोजनाको निर्माण गर्ने मोडालिटी, कूल लागत, विस्तृत आयोजना प्रतिवेदन र आयोजनाको आर्थिक, सामाजिक, वित्तीय, प्राविधिक तथा भौगर्भिक पक्षको वस्तुगत विश्लेषण एवम् मूल्यांकन गरी बजेट प्रस्ताव गर्न नसकेका कारण बजेट कार्यान्वयन कार्ययोजनाको परिपालना हुन नसकेको, स्रोत सुनिश्चित भएका आयोजनाहरूमा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको संख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आउनुका साथै अधुरा आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको लगायतका उल्लेख छ ।












प्रतिक्रिया