बिरामी, चिकित्सक र स्वास्थ्य संस्थाबीच असमझदारी किन हुन्छ ?

4.51k
Shares

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भगवानको रूप ठान्ने नेपालमा मानिस अझै भेटिन्छन् ।

गम्भीर बिरामी भई मृत्युको मुखमा पुगेका व्यक्तिहरुलाई चिकित्सकले उपचार गरेर निको बनाउने भएकाले बिरामीले उनीहरुलाई भगवानको दर्जा दिएको हुनुपर्छ । तर, पछिल्ला केही वर्षयता स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको जनविश्वास घट्दै गएको छ । आस्था, विश्वास र भरोसा खुम्चिँदै गएको पाइन्छ ।


एउटा अंगको शल्यक्रिया गर्नुपर्नेमा चिकित्सकले अर्को अंगको गर्ने, एउटा रोगको औषधि अर्को रोग लागेको बिरामीलाई दिने, बिरामीको उपचारमा लापरवाही गर्ने, आफ्नो स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सुविधा सम्पन्न र विशेषज्ञ चिकित्सक कहाँ रेफर गर्नुपर्ने बिरामीलाई समयमै रेफर नगर्ने तथा स्वास्थ्य संस्थालाई सेवामुखी भन्दा पनि नाफामुखी बनाउने लगायत गलत परामर्श दिने जस्ता गतिविधिले चिकित्सा पेशामा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिँदै गएको छ । त्यस्तै बिरामी र उनीहरुका आफन्तले बिना गल्ती चिकित्सकलाई दोष लगाउने, हातपात गर्ने, अस्पतालको कमजोरी देखाउने र बिरामीको मृत्यु भएमा अस्पतालसँग लाखौ रुपियाँको मोलतोल गर्ने जस्ता क्रियाकलाप पनि वृद्धि हुँदै गएको छ ।


एउटा पक्षले पेशागत मर्यादा, जिम्मेवारी, दायित्व र दक्षता पूरा नगर्ने तथा अर्को पक्षले बिना आधार लहड आरोप लगाउँदा हिजोआज बिरामी र चिकित्सकबीचको दूरी बढेको पाइन्छ । जसका कारण बिरामीले गुणस्तरीय सेवा पाउन र चिकित्सकले निर्धक्क सेवा गर्ने वातावरण बनेको छैन । तसर्थ दुई पक्षलाई दायित्व र जिम्मेवार बनाउनु अहिलेको आवश्यकता हो ।


बिरामी र स्वास्थ्यकर्मी दुवैलाई उचित परामर्श जरूरी देखिन्छ । कुनै चिकित्सकले गल्ती गरेमा विद्यमान ऐन कानुनले उसमाथि कारबाही गर्न सकिन्छ । त्यस्तै विरामीले पाउनुपर्ने सेवा सुविधा नपाएमा गुनासो गर्ने र उजुरी गर्ने निकायहरु छन् । त्यो प्रक्रियामा नगई आक्रमण प्रवत्ति भएकाले कतिपय घटनामा चिकित्सकले जोखिम उठाउन नखोज्दा बिरामीको उपचार नपाउने स्थिति विद्यमान छ ।

कुनै पनि चिकित्सकले बिरामीलाई गलत उपचार गरौं, उसको ज्यान लिउ भन्ने सोच हुँदैन कतिपय सन्दर्भमा व्यक्तिगत कमजोरीले कुनै घटना घट्न सक्छ त्यस्तो बेला कानुनी उपचार खोज्नुपर्छ । विद्यानमान ऐन कानुनअनुसार कारबाही गर्न सकिन्छ । तर, कानुनलाई हात लिन खोज्दा बिरामीका आफन्तहरु दोहोरो मर्का पर्ने गरेको स्थिति पनि छ ।

तसर्थ, मुख्यकुरा सबैमा आफ्नो दायित्वको बोध हुनुपर्छ । जिम्मेवारीपूर्वक सबैले आफ्नो कर्तव्य पूरा गरेमा धेरै समस्या आउँदैन । यो कुरा चिकित्सक तथा बिरामीका आफन्तले बुझ्न जुरुरी छ ।
(लेखक हेल्थ केयर म्यानेजमेन्टका रूपमा कार्यरत छन्)