काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुरस्कार प्रदान गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको २८ मंसिरको निर्णयबमोजिम पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुस्कार प्रदान गरेका हुन्। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।
गत १ देखि १४ कात्तिकसम्म काठमाडौंमा भएको साफ महिला फुटबल च्याम्पियनसिपका पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत १ देखि ७ असोजसम्म भएको २०औँ एसियाली कराँते च्याप्यियनसिफका पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ।
यस्तै, गत १७ देखि २० साउनसम्म भुटानको थिम्पुमा भएको काभा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको छ। खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्त्वपूर्ण योगदान दिएकोमा उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गरे।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिएका थिए।
प्रतिक्रिया