तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।  

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चीनको तिब्बतमा पर्ने दिङ्गे काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।