आजको डिजिटल युगमा, अनलाइन प्लेटफर्महरूले बालबालिकाका लागि अनगिन्ती अवसर र सम्भावनाहरू खोलिदिएका छन्। तर यसका साथै, यिनै प्लेटफर्महरूले बालबालिकाहरूलाई अनलाइन यौन दुर्व्यवहारजस्ता खतरनाक समस्यासँग पनि सामना गराइरहेका छन् ।
अनलाइन यौन दुर्व्यवहारको सामना गरिरहेका बालिकाहरूको कथा कुनै एक परिवारको मात्र होइन, सामूहिक समस्या हो । यस लेखमा एक विशेष बालिकाको कथामार्फत यस्ता दुर्व्यवहारबाट जुध्न र पुनःस्थापना गर्नका लागि गरिने प्रयासहरू अनि यो यात्रा कति कठिन छ भन्ने कुरा दर्शाउन खोजिएको छ।
बालिकाको अनुभव :
राधिका (नाम परिवर्तन) एक १४ वर्षीया किशोरी हुन्। उनीसँग व्यक्तिगत मोबाइल छ । घरमा इन्टरनेट पनि छ । बुबाआमाले मोबाइल धेरै हरेको मन पराउँदैनन् । तर, पढ्नका लागि मोबाइल आवश्यक हुन्छ भनेर उनी मोबाइल साथै राख्छिन् । पढ्दा पनि मोबाइल चलाइरहन्छिन्। कक्षा ९ मा पढ्ने राधिका मोबाइल चलाउँदा चलाउँदै एक अपरिचित पुरुषसित फेसबुकमा जोडिइन्। बिस्तारै हेलो–हाई कुरा हुन थाल्यो । सुतेपछि झन् कुरा बाक्लियो। राति अवेरसम्म मायाप्रेमका कुरासम्म हुन थाले । च्याटको कुराकानी भिडियो कलसम्म पुग्यो ।
राधिकाले कुरा गर्ने युवा उनले बताएअनुसार २४ वर्षका थिए । कुरा हुन थालेको ६ महिनापछि ती युवाले राधिकालाई भिडियोमै टिसर्ट खोलेर छाती देखाउन भने । राधिकाले त्यसै गरिन् । ती युवाले नाङ्गो फोटो मागे, राधिकाले त्यो पनि पठाइन् । भेट भने भएको थिएन । राधिकालाई एकदिन ती युवाले बोलाएर यौन प्रस्ताव राखे । राधिका डराइन् र उनले यस विषयमा अरूसँग कुरा गर्न सकिनन् ।
अझ गम्भीर कुरा त के भने, ती व्यक्तिले राधिकाको व्यक्तिगत जानकारी संकलन गर्दै, उनलाई धम्की दिन थाले कि ‘यदि उनले आफ्नो प्रस्ताव नमानेमा ती जानकारी सार्वजनिक गरिनेछ ।’ राधिका मानसिक रूपमा अति नै तनावमा थिइन् । राधिकाको आत्मसम्मान र विश्वास गहिरोरूपमा ह्रास भएको थियो ।
परामर्श, न्याय र पुनःस्थापनामा कठिनाइ :
राधिका र उनको परिवारले अनलाइन यौन दुर्व्यवहारको बारेमा थाहा पाएपछि, सबैभन्दा पहिले प्रहरीलाई जानकारी दिनु थियो। प्रहरीलाई जानकारी दिइयो । तर, यस प्रक्रियामा राधिकाका लागि धेरै कठिनाइहरू आए। अनलाइन प्लेटफर्महरूमा भएको अपराधको पहिचान गर्न र प्रमाण जुटाउन प्रहरीलाई कठिनाइ भयो। युवाले नक्कली आईडी बनाएर कुरा गरेका थिए । अनुसन्धानको प्रक्रिया ढिलो भयो ।
मानसिक रुपमा विछिप्त हुँदै गएकी राधिकाले लामो हिंसामा परेको ६ महिनापछि मात्रै घरमा दिदीलाई कुरा खोलेकी थिइन्, दिदीमार्फत परिवारको जानकारीमा आएको थियो। बिस्तारै उनको कुरा समाजमा पुग्यो। त्यसले झन् राधिकालाई सहजभन्दा असहज भयो। यौन हिंसामा परेका व्यक्तिहरूलाई परामर्श, न्याय र पुनःस्थापना प्रक्रियामा विभिन्न कठिनाइहरूको सामना गर्नुपर्छ। राधिकाले पनि त्यसको सामना गरिन् । मानसिक र शारीरिक आघातका कारण उपचारमा कठिनाइ भयो । समाजमा कलंक र अपमानको सामना गर्दा सामाजिक समर्थनको अभावले परिवारलाई समस्या भयो।
राधिकाका लागि पुनःस्थापना प्रक्रिया आफैँमा एउटा कठिन यात्रा थियो । परिवार र साथीहरूको निरन्तर समर्थनले उनलाई सशक्त बनाउन मद्दत त ग¥यो तर सजिलो भएन । बालअधिकार र अनलाइन सुरक्षाबारेको चेतनाको अभाव भएका राधिकाजस्तो समस्या हिंसामा पर्ने हरेक बालिकाले भोग्नुपर्छ । सहानुभूति र मनोवैज्ञानिक सशक्तीकरणबाट मात्र यस्ता बालिकालाई बलियो बनाउन सकिन्छ, जुन कुरा भइरहेको छैन ।
यसका साथै, समुदायको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राधिकाजस्तै अन्य बालिकाहरूलाई सशक्त बनाउनका लागि विद्यालय, समाज र सरकारहरूले बालअधिकार र अनलाइन सुरक्षासम्बन्धी शिक्षा प्रदान गर्नुपर्छ । यो प्रकारको हिंसाविरुद्ध अभियानहरू र कानुनी सहयोग प्रदान गर्नुपर्छ ।
कानुनी उपाय र न्यायको माग :
संविधानको मौलिक हकअन्तर्गतको धारा ३९ ले कुनै पनि बालबालिकामाथि कुनै पनि माध्यमबाट शारीरिक या मानसिक यौनजन्य दुव्र्यवहार गर्न नपाइने उल्लेख छ । आफूमाथि भएको यौनशोषणबारे बालबालिकाले हिंसा हो भनेर बुझेका छैनन्, अभिभावकहरू चासो राख्दैनन् । त्यसकारण अनलाइन बाल यौन हिंसा बढिरहेको छ ।
विद्युतीय कारोबार ऐन २०६३ अनुसार सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरेर, प्रोफाइल खोलेर बेइज्जत गर्ने तथा दुःख दिने, इमेलमार्फत जथाभावी धम्की दिने तथा नगद माग गर्ने, विभिन्न किसिमका नग्न तस्वीरमा व्यक्तिको अनुहार जोडी इन्टरनेटमा राख्ने, अनलाइनबाट धम्कीपूर्ण सन्देश पठाउनेजस्ता क्रियाकलाप अपराध हुन् । ऐनअनुसार यस्ता अपराधलाई १ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
ऐनमा पीडितले ३५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुपर्ने प्रावधान छ । अधिकांश पीडित ढिलो उजुरी दिन आउने हुँदा दोषीलाई कारबाहीको दायरामा ल्याउन मुस्किल हुने प्रहरीको दाबी छ । यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहालेमा उजुरीपश्चात् पीडक÷पीडितबीच आर्थिक लेनदेनमा मिल्ने प्रवृत्तिले गर्दा हिंसापीडित बालबालिकालाई न्याय दिलाउन समस्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालको कानुनी प्रणालीले अनलाइन यौन दुर्व्यवहारविरुद्ध कडा कानुनी उपायहरू अपनाएको छ । २०७५ सालमा पारित ‘सूचना प्रविधि ऐन’ ले अनलाइन अपराध र साइबर अपराधका लागि स्पष्ट कानुनी दायरासम्म प्रबन्ध गरेको छ । यस ऐनको धारा ४७ मा अनलाइन यौन दुर्व्यवहारलाई अपराधका रूपमा मान्यता दिएको छ र दोषीलाई कडा सजायको प्रावधान गरिएको छ । नेपालमा अनलाइन यौन दुर्व्यवहारका सिकार भएका बालबालिकाको पुनःस्थापनाका लागि कानुनी व्यवस्था केही प्रमुख धारामा आधारित छन् ।
सुरक्षासम्बन्धी कानुन र चुनौतीपूर्ण तथ्यांक :
बालबालिका अधिकार ऐन, २०७५ ले बालबालिकाको शारीरिक र मानसिक सुरक्षा सुनिश्चित गर्ने अधिकार सुनिश्चित गरेको छ । अनलाइन यौन दुव्र्यवहारका सिकार भएका बालबालिकालाई उपचार, परामर्श र सुरक्षित वातावरणमा राख्नको लागि प्रावधान छन् ।
यस ऐनमा अनलाइन अपराधका लागि दण्डको प्रावधान छ, जसमा यौन उत्पीडन वा बलात्कारसम्बन्धी सामग्रीको साझा गर्नु, बाल यौनशोषणका दृश्यहरू निर्माण वा वितरण गर्नुजस्ता क्रियाकलापलाई रोक्नको लागि कानुनी कडाइ गरिन्छ । बाल यौनशोषण र दुव्र्यवहार रोकथाम ऐन, २०६३ पनि छ । यस ऐनले बाल यौनशोषण र दुर्व्यवहारका घटनालाई कडारूपमा दण्डित गर्दछ। अनलाइन शोषणको घटनामा संलग्न व्यक्तिहरूलाई दण्ड दिने प्रावधान छ ।
पुनःस्थापनाका उपायहरू ऐनमा व्यवस्था गरिएका छन्। पीडित बालिकाको मानसिक र शारीरिक उपचारका लागि सरकारी र गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम सञ्चालन गर्छन्। बालिका पुनःस्थापना केन्द्रहरू, परामर्श सेवाहरू र परिवारलाई सहयोग दिने प्रावधानहरू छन्। नेपालमा यस्ता कानुनी प्रावधानहरू भए तापनि कार्यान्वयनमा चुनौती छ। अनलाइन प्लेटफर्महरूमा हुने यौन दुर्व्यवहारका घटनाहरूको उचित ट्रयाकिङ र नियन्त्रण गर्न कानुनी प्रावधानहरूलाई अझ प्रभावकारी बनाउन जरुरी देखिन्छ।
प्रहरीको तथ्यांकअनुसार राधिकाजस्तै अनलाइन यौन दुव्र्यवहार खेप्ने बालबालिकाको अवस्था र तथ्यांक डरलाग्दो छ। आर्थिक वर्ष २०७६/७७ मा १३ वटा, २०७७/७८ मा २१, २०७८/७९ मा १६, २०७९/८० मा १५, २०८०/८१ मा ६ र चालू आर्थिक वर्षमा अहिलेसम्म ६ वटा मात्रै उजुरी दर्ता भएका छन् । यद्यपि, वास्तविक घटना अझ बढी हुनसक्छन्, किनकि धेरैजसो घटना रिपोर्ट हुँदैनन्।
संयुक्त राष्ट्रसंघका अनुसार संसारभरमा औसतमा हरेक आधा सेकेन्डमा एकजना बालबालिका पहिलोपटक अनलाइनमा आइरहेका छन् । अर्थात् बालबालिकाले इन्टरनेटमा बिताउने समय अभूतपूर्वरूपमा बढ्दो छ । सन् २०२३ मा संसारभरका १५ देखि २४ वर्षका युवाहरूमध्ये ७९ प्रतिशत अनलाइन रहेको अध्ययनमा पाइएको छ । अन्य उमेर समूहमा यो अनुपात ६५ प्रतिशत मात्र थियो।
अनलाइन यौन दुव्र्यवहार र हिंसाले बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यमा नै गहिरो प्रभाव पारेको छ तर परामर्श, न्याय र सशक्तीकरणका माध्यमबाट यस्ता पीडित बालिकाहरूलाई पुनःस्थापना र पुनर्जीवनको यात्रा पार गर्न सजिलो छैन। अनलाइन हिंसाबाट बालबालिकालाई जोगाउनका लागि अभिभावक, स्कूल र समाजले मिलेर काम गर्नु आवश्यक छ।
प्रतिक्रिया