सरकार परिवर्तन भएसँगै आम जनताका आशा र अपेक्षा सकारात्मक कार्यको बाटोतिर चुलिएका हुन्छन् । यो स्वाभाविक पनि हो कि देश र जनताको भावना बुझेर तदनुसारको शासन व्यवस्था कायम गर्न सक्ने शासकको अपेक्षा गर्दा–गर्दा आम नेपाली जनता हैरान वा दिक्क भइसकेको अवस्था छ। त्यसैले एउटा सरकार पतन भएर अर्को नयाँ नेतृत्वको सरकार गठन भएसँगै कुनै नयाँ र सकारात्मक काम भइहाल्ला कि भनेर अपेक्षा गरिएको हुन्छ। प्रचण्ड नेतृत्वको सरकार पतन भएर केपी ओली नेतृत्वको सरकार बन्दै गरेका बेलामा पनि जनअपेक्षा यसै क्रमले चुलिएको थियो।
यस कालखण्डको मुख्य जनअपेक्षा भनेको देशमा व्याप्त भएर फैलिएको भ्रष्टाचारको अन्त्य गरेर सुशासन स्थापना गराउनु भन्ने थियो । नेतृत्व परिवर्तन हुनुअगाडिको प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा थोरै भए पनि सकारात्मक कामको थालनी गरेको थियो । यो राम्रो कामको थालनीले आम जनताको मानसमा केही आशा र भरोसा जगाएको थियो । प्रचण्ड नेतृत्वको गठबन्धन सरकार हटेर केपी ओली नेतृत्वको सरकारले पनि यस सुकार्यलाई निरन्तरता देला कि भन्ने अपेक्षा आम जनस्तरबाट गरिएको थियो । तर केपी ओली नेतृत्वको सरकारले त्यो जनअपेक्षालाई बेवास्ता गरेर भ्रष्टाचारीलाई कार्यवाही गर्नुको साटो कसरी जोगाउने ? भनेर साम, दाम, दण्ड, भेद आदि षडयन्त्रको नीति अपनाउन थालेपछिका दिनमा ओली नेतृत्वको सरकारप्रतिको जनआक्रोश दैनिक रुपमा बढ्दै जान थालेको पाइन्छ।
जो व्यक्ति आफैँमा दोषी छ र आफूले गरेका दोषी कर्मले आफ्नै छाती पोलिरहेको छ भने उसले अर्को दोषीलाई कस्तो कार्यवाही गराउन सक्ला र ? वर्तमानको ओली नेतृत्वको सरकार पनि यिनै विविध कमजोर पक्षका कारण धराशयी हुने बाटोको नजिकै पुग्दै गरेको देखिँदै छ । यस अवस्थाका कारण उत्पन्न विषम अवस्थालाई सकेसम्म ढाकछोप गर्न उत्प्रेरित भएको देखिन्छ ।
कुनै वा कोही व्यक्तिले नेतृत्व गर्दै गरेको सरकार केवल सामान्य जनआक्रोशले मात्र धराशायी हुने अवस्थामा पुग्दैन । अझै थोरै जनताको आक्रोशलाई त प्रहरी र सेना प्रयोग गरी दमन गर्न र उठ्नै नसक्ने अवस्थामा स्थापित गराउन सक्छ, यो केवल शासकको अधिकार र सुरक्षाको सवालमा होला भन्न सकिन्छ । तर केपी ओली नेतृत्वको सरकार पतनको बाटोतिर उन्मुख हुँदै जानुमा केपी ओली स्वयंकै नकारात्मक भूमिका रहेको पाइन्छ । पहिलो कुरा ओलीको मानसमा रहेको अहंकारी भावनाले बाधक बनेर काम गरिरहेको छ । जसले संसारभरका मानिसहरुमा आफूलाई सर्वश्रेष्ठ ठानेर अरुमाथि सोही अनुसारका अभद्र व्यवहार गर्न थाल्छ भने त्यस्तो मान्छे कि त आफैँमा मूर्ख हुनुपर्छ, होइन भने उसले सर्वश्रेष्ठ हुने कार्य गरेर देखाउँछ । वर्तमान सरकारको नेतृत्व गर्दै गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि विकल्प खोज्ने वा आफूलाई कुनै विकल्पमा राख्ने स्वभावको अभावका कारण अब उनको सत्ता नेतृत्वबाट धराशायी बन्ने दिन नजिकतिर आउँदै छ ।
वर्तमानको सत्ता केपी ओलीलाई भालुको कम्पटजस्तै हुन थालेको छ । उनी भालुको कम्पट समाइराख्न सक्ने अवस्थालाई धान्न सक्ने अवस्थामा पनि छैनन् । छोडेको खण्डमा त्यसले आफैँलाई खान्छ भन्ने डरले छोड्न सक्ने अवस्थामा पनि छैनन् । उनको विषयमा जानेकाहरुले उनलाई पनि भ्रष्टाचारीको नाइकेका रुपमा मान्न थालेका छन् र उनी नाइके बनेर अरु धेरै सड्ख्याका भ्रष्टाचारीलाई समेत आफ्नो आडमा लुकाएरै भए पनि जोगाउने पक्षमा रहेका छन् । आफ्नो विरोध गर्ने वा आफूले गरेका नकारात्मक कर्मको विरोध गर्ने जोसुकैलाई पनि उनले नचाहिँदो र नसुहाउने तरिकाले कार्यवाही, अनुसन्धान गरेको भन्नेजस्ता नाटक गरिरहेका छन् । देशको जल्दोबल्दो समस्यालाई एकातिर कुना लाएर आफूलाई र आफूले चलाएको विकृतिपूर्ण शासनका बारेमा कसले विरोध गर्दै छ कि भनेर चियोचर्चो गर्ने कामतिर उनको ध्यान गएको पाइन्छ ।
केपी ओली नेतृत्वको सरकारले नेपालका दुई छिमेकी देश चीन र भारतसँग समदूरीको मित्रता कायम गर्न र गराउन असफल रहेको छ । राजनीतिमा खारिएका र उमेरले पनि वृद्धावस्थातिर उकालो लागेका अनि आफूलाई अरुभन्दा अब्बल दर्जाको नेताका रुपमा मान्ने ओली महोदयले आखिर दुवै छिमेकी देशसँग समदूरीको मित्रता कायम राख्न सकेका भए पनि उनको लोकप्रियता यति धेरै गिरेर जाने थिएन । आम नेपाली जनताको नजरमा उनको मूल्यांकन हुँदै गर्दाको क्षणमा उनलाई सूरो नेता होइन अपरिपक्व र घमण्डी राजनीतिक कार्यकर्ताको रुपमा लिने गरिन्छ । सबल र सक्षम नेतृत्व दिन नसक्ने उनी नेता त हुँदै होइनन् । देशको एउटा नागरिकले घुमाउरो पाराले गीत गाएर व्यड्ग्यवाण प्रहार गर्दा उनी डरले आत्तिएर त्यो नागरिकलाई नामेट बनाउन पाए हुन्थ्यो भन्ने विचार मानसमा बनाउँछन् र सोही अनुसारका कर्म गर्न आउरेबाउरेलाई लगाउँछन्। जो व्यक्ति आफैँमा दोषी छ र आफूले गरेका दोषी कर्मले आफ्नै छाती पोलिरहेको छ भने उसले अर्को दोषीलाई कस्तो कार्यवाही गराउन सक्ला र ? वर्तमानको ओली नेतृत्वको सरकार पनि यिनै विविध कमजोर पक्षका कारण धराशयी हुने बाटोको नजिकै पुग्दै गरेको देखिँदै छ।
यस अवस्थाका कारण उत्पन्न विषम अवस्थालाई सकेसम्म ढाकछोप गर्न उत्प्रेरित भएको देखिन्छ । केही भएकै छैन भन्ने देखाउनको लागि बेला–बेलामा प्रधानमन्त्री ओलीको फोस्रो र व्यर्थको बर्बराहट पनि सुन्नुपरिरहेको छ । वर्तमानको कांग्रेस र एमालेको गठबन्धनको सरकार जसरी भए पनि टिकाउनको लागि जति प्रकारका षड्यन्त्र गरेर पनि टिकाउनै पर्ने बाध्यात्मक अवस्था विद्यमान रहेको छ । यति गठबन्धनको सरकार धराशयी भएको खण्डमा सरकारको नेतृत्व गर्दै गरेका केपी ओली मात्र होइन कि गठबन्धनका साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बाख्रा काण्डको पोल खुल्नेछ । गठबन्धनका शीर्ष व्यक्तित्वका साथै इतिहासमा पाँच–पाँचपटक प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका कुकार्यको पोल खुल्नेछ । देउवालाई कुकार्य गर्न उक्साउने र भुटानी शरणार्थी काण्डका नायक पात्र आरजु राणा (देउवा) को पोल खुल्नेछ । यीभन्दा तलका आउरेबाउरेहरुको त के लेखाजोखा भयो र ? त्यसै कारणले गर्दा गठबन्धनका प्रधानमन्त्रीको ठाडो आदेशमा उनको विरोधी ठानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका पात्रहरुलाई अल्लारेर राख्न सकिएन र शक्तिमा आइपुगे भने आफ्ना कुकार्यको पर्दाफास गरेर छोड्नेछन भन्ने डरले प्रधानमन्त्री ओलीको निद हराम भएको छ । विगतमा कमरेड मदन भण्डारीको हत्या जसरी रहस्यमय तरिकाले भयो त्यसै तरिकाले आफ्ना विरोधीलाई दबाउन पाए हुन्थ्यो भन्ने तीव्र लालसा उनमा रहेको देखिन्छ । तर मदन भण्डारीलाई दबाएजसरी दबाउन सकिने सहज वातावरण हाल नभएकोले पनि उनको चिन्ता बढेर जानु स्वाभाविकै हो ।
गठबन्धन सरकारका प्रधानमन्त्री आफूले गरेका कुकार्यका कारण अलोकप्रिय हुँदै जाँदा उनी प्रधानमन्त्रीको कार्यालय सिंहदरबार र निवासभन्दा बाहिर कतै निस्कन सकेका छैनन् । अरु त परै जाओस्, उनी आफ्नै गृहजिल्ला झापा पुग्दा पनि उनको विरोधमा आम जनताले प्रदर्शन गरेका थिए । आफूलाई मै हुँ भनेर ठान्ने कोही पनि शासकले आम जनताको माया, ममता र सम्मान पाएको हौसलाले सुशासन कायम गराउन सक्छ । तर आम जनताबाट तिरस्कृत भएको शासकले सुशासनका कुरा बक्नु केवल बकबास मात्र हुन्छ । आफ्नो देशका विद्वत् वर्गका मानिसको सल्लाहमा देशमा सुशासन स्थापित गर्न नखोजेर सारा विद्वत् वर्गका मानिसभन्दा आफूलाई उच्च आसनमा राखेर तदनुसारको व्यवहार गर्ने शासक कसरी सफल शासक हुन्छ र ? अबका दिनमा आम जनताको मानसमा हालको गठबन्धन सरकारप्रतिको सहानुभूति बढेर जानुको साटो अझै घटेर जाने कुरा निश्चित छ । यसरी जनस्तरबाटै अलोकप्रिय भएको सरकार अब धेरै समय टिकिरहनु आफैँमा पनि प्रत्युत्पादक हुन जान्छ ।
नेपाली जनताले मात्र सरकारको मूल्यांकन गरेका छैनन्, हाम्रा छिमेकी र अन्य विदेशीले पनि सरकारका हरेक क्रियाकलापलाई सूक्ष्म दृष्टिले नियालिरहेका छन्।
ओली नेतृत्व सरकारका गृहमन्त्री सम्मान पाउने आशा र प्रधानमन्त्रीको भारत भ्रमणको व्यवस्थापनका लागि भनेर भारत गएको भए पनि उनीसँग कसैले भेट गर्न चाहेनन्। त्यत्रो बेइज्जत बेहोरेर स्वदेश फर्केकी मन्त्री विदेश (भारत) भ्रमण फलदायी भएको भनेर नेपाली जनता र आफैँलाई पनि ढाँट्न बाँकी राख्दिनन् । यसरी जनतालाई दिनदहाडै ढाँट्न खोज्ने शासकको शासन योभन्दा धेरै लामो समय टिक्नु उपयुक्त हुँदैन । यस्तो अँध्यारो प्रवृत्तिको शासकले गरेको शासनले देश र जनतालाई कसरी उज्यालो वा खुशी दिन सक्ला र खै ? देश र जनताको भलाइका बारेमा चिन्तन नगरेर आफू कसरी जोगिने अनि भ्रष्टाचारमा संलग्न आउरेबाउरेलाई कसरी जोगाउने भन्ने कालो चिन्तनका शासक र पूरै गठबन्धनको षड्यन्त्रपूर्ण कर्मले गर्दा दैनिक रुपमा देश खोक्रो हुँदै गएको छ।
विदेशीहरुले हाम्रो देशलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आएको छ । त्यस्तै उनीहरुले गर्ने व्यवहार निकै फरक भएको छ। यसरी देश र जनताको स्वच्छ छविमा आँच आउने कुकर्म गर्न पनि पछि नहट्ने वा नहिच्किचाउने शासकको शासन छिटो धराशयी हुन सक्छ। यस्तो शासन जति लामो समय टिकेर रहन्छ त्यति मात्रामा नेपाली जनताले दुःख र कष्ट खेप्नुपर्नेछ, देशले कष्ट भोग्नुपर्नेछ।
शासकले धर्मशास्त्रको अध्ययन गर्नु र त्यसलाई व्यावहारिक रुपमा लागू गर्न खोज्नु अनिवार्य हुन्छ । तर हाम्रा शासकहरु धर्मशास्त्रलाई मान्ने र अध्ययन गर्ने पक्षमा पटक्कै छैनन् । उनीहरुको नेता बन्ने योग्यता भनेको कति समय जेलजीवन बिताइयो ? भन्ने हुन्छ । जेलजीवन पनि साँच्चै देश उन्नतिको कर्ममा लाग्दाको बखत, जनताका दुःख, पीडा हटाउनका लागि उद्यत् भएको कालखण्डको हो कि कसैको ज्यान मारेर सम्पत्ति लुटेको कसुरमा हो भन्ने कुराको लेखाजोखा हुने गरेको पाइँदैन। त्यसैले यिनले यिनका दिमागले कस्तो शासन चलाउन मन लाग्छ त्यसैअनुसारको शासन चलाउँछन् अनि आम जनताले विवश भएर त्यही शासन भोग्न बाध्य बन्नुपरेको छ। तर आखिर जे भए पनि आम नेपाली जनताले वर्तमानको यो अलोकप्रिय र मुर्दाशान्तिको वातावरण बनाउने प्रयासको शासनलाई धराशयी बनाउन बाध्य हुनुपर्नेछ।
यो शासनले नेपाली जनता र नेपाल देशलाई भलो हुने कुनै पनि काम गर्न सक्नेवाला छैन । यो शासन केवल छलछाम र षड्यन्त्रको भरमा टिक्दै गरेको कुनै लक्ष्यहीन, उद्देश्यहीन शासन हो । यो शासनले निर्मला पन्तको होस् कि मदन भण्डारीको होस्, हत्यारा पत्ता लगाउन र कार्यवाही गर्न कहिल्यै पनि सक्दैन ।
प्रतिक्रिया