२०४४ सालको मध्यताका सग्लो, गोरो, ठिक्कको भएका र भर्खर जुँगारेखी बस्दै गरेका आफूजस्तै युवा मसँग ठोक्किन पुगेका थिए । एकै क्षेत्रमा रुचि रहेका हामीबीच परिचय हुँदा ज्ञानेन्द्र श्रेष्ठ विवश थिए उनी। पहिलो कृति पीडाका अनुभूतिहरू (कविता संग्रह २०४८) का साथै आफ्नो रुचि स्थानीय कलाकौशल, जात्रायात्राजस्ता संस्कृतितर्फ पनि ढल्केर निबन्धकार मित्र ज्ञानेन्द्र विवशले पुस्तक प्रकाशित गर्न भ्याएका छन् । साथै सुन्दर गामबेसी, हरियाली पहाडको लोभलाग्दो स्थान खोटाङवासी उनले देशका धेरै स्थान घुम्न भ्याए र अभिभूत भएर तिनै स्थानमाथि यात्रा निबन्ध लेख्न थाले ।
विवशको नयाँ निबन्ध सङ्ग्रह ‘अर्धकदको अवसान’ ले जीवन भोगाइका दर्पण पेस गरेको छ । कतै जीवनका उरुङ–खात सपनाहरूको अवसान त हैन यो ? जति–जति पढ्दै जान्छु, आफ्नै जीवनका सुन्दर क्षणलाई पाउँछु । तिनै सुन्दर क्षणहरूलाई धर्तीको कणकण र ईश्वरीय सुन्दर सृष्टिको उपहारसँग जीवनलाई दाँज्न पुग्छु । वास्तवमा यो संग्रह उरुङ–खात सपनाहरूको अवसान होइन, बरु भावनात्मक अभिव्यक्तिको वेग हो ।
जीवनको बुझाइ अनन्त छ, कसैले यसको परिभाषालाई बिट मार्न सकेका छैनन् । कुनै चाहना र स्वार्थविनाको जीवन कति सुन्दर हुन्छ ? जहाँ दुःख, पीडा, अप्राप्ति र स्वार्थ निहित हुँदैन । त्यसमाथि प्रकृतिको साथ र भूमिकाले मान्छेलाई ईश्वरसँगको तादात्म्य सजिलै जुराइदिन्छ । निःसन्देह यस्तै कठोर तर पाइला–पाइलामा अप्रतिम सुन्दर भावना र परिदृश्य बोकेर कवि/कलाकार र निबन्धकार बनेका ज्ञानेन्द्र विवशको लेखन यात्रा र व्यक्तित्वलाई नजिकबाट नियाल्दा यही महसुस हुन्छ ।
नेपाली साहित्याकाशमा नवीनतम् निबन्धसंग्रह ‘अर्धकदको अवसान’ पढ्दा प्रायः सुन्दर लाग्ने निबन्धहरू छन् । पढ्दै जाँदा गहिराइमा ती अतुलनीय पक्ष उजागर हुन पुग्छन्, जसमा सृष्टि, पारलौकिकता, आध्यात्मिकताका साथै जीवनको उद्देश्यसँग साक्षात्कारको सिङ्गो दस्तावेज पनि पाइन्छ । उनका निबन्धमा नेपाली माटोको मीठो सुगन्ध पाइन्छ । शैलीमा मिठास महसुस हुन्छ । छोटा शब्दभावमा धेरै अर्थको बोध हुन्छ ।
भौतिक आँखाले देख्ने क्षितिजमा, धर्तीका थुम्का–थुम्कामा, आकाशमा वा बादलले कुँदेका स्वरूपमा मनमोहक कला देख्ने उनको आँखाले सामान्य विषयलाई पनि अर्थपूर्ण र गम्भीरताका साथ बयान गर्न सक्षम छन् हरेक निबन्धहरू यस पन्ध्रौं कृति ‘अर्धकदको अवसान’ मा ।
आफ्नो भन्ने आफ्नै हुन्छ, आफैं हामी आफ्नो हैनौं, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, अनुपम प्रकृति–अपार अनुभूति, हेर्नुको मज्जाः देख्नुको स्वर्गजस्ता छत्तीस थान सलल बग्ने निबन्धहरूले बादलजस्तै अनेक रूपरंगमा बग्दै कलात्मक भावना पोखेका छन् ।
वस्तुतः बिर्सिने र सम्झिनेको नवीकरण हुने सिलसिला क्रमागत चलिरहन्छ (अर्धकदको अवसान) कतै यो नियमित आकस्मिकता त हैन ? किनभने देखिने भौतिक यो जगतमा भेट्नु, आत्मीय बन्नु, छुट्टिनु र कोही क्षणभङ्गुरमा हराइजानु कतै यो पारलौकिक संसारमा गरेको सम्झौता त होइन ?! जहाँ निबन्धकार र सम्पूर्ण प्राणीहरू आफ्नो भूमिकामा आबद्ध रहेका छन् । बोल्नु–हाँस्नु आफैंमा निराश हुनु, रुनु, सोच्नु क्रियाका साथै गरिने यात्रा नै जीवन न हो ? जहाँ लिखित वा अलिखित र अमूर्त अवस्था भोग्नुपर्दछ। जसलाई जीवन भनिन्छ।
यसरी यात्रा गर्दै जीवनलाई बुझ्ने क्रममा लेखिएका निबन्धबारे वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंग मन्तव्यमा लेख्छन्– ‘जीवन र प्रकृतिलाई निकै नै नजिकबाट नियालेर कलात्मक मौलिकताले अभिव्यक्तिको आकार दिनु धेरै ठूलो कुरा र कर्म हो । सिर्जनधर्मलाई गहन ठानेर, मानेर निबन्धमा मिठासयुक्त शब्दहरूको सरल शैली छ। निबन्धमा महसुस गर्न सकिने उल्लेख्य पाटो भनेको प्रेम, प्रकृति र जीवनलाई उचाइमा पुर्याएर भावनाको खेती गरिएको छ।’
भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस संग्र्रहका प्रत्येक निबन्धभित्र प्रकृतिप्रेमको हार्दिक भाव भेटिन्छ। जीवनका मायालु स्पन्दनहरूको आभास पाइन्छ। मानवीय सम्बन्धका विविध आयामहरूलाई निबन्धको विषयमा सरल तर गम्भीर भावमा व्यक्त गरिएको छ । ती कुनै पनि निबन्धले हामी पाठकलाई स्पर्श गर्ने क्षमता राख्छन्। यसरी निबन्धमा अरूको मन स्पर्श गर्न सक्नु भनेको सफल निबन्धकारको उपलब्धि हो। वास्तवमा यस निबन्धले त्यो उपलब्धि हासिल गर्न सकेको छ ।
कलाकार हुनु ब्रस र कूची बोकेर क्यानभासमा कबड्डी खेल्नेजस्ता कार्यमा अभ्यस्त ज्ञानेन्द्र विवशको निबन्ध यात्रा चार दशकको शुरुवातदेखि नै हो। निबन्धशिल्पका पोख्त विवशको निबन्धमाथि प्रकाशक भन्छन्, ‘प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषाशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ।
निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगिन्ती सुवासहरू पाइन्छन्। यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन्। हाम्रै पाखापखेराका सुसाइहरू छन् । हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन् । हाम्रै जीवन, समाज र समयका तस्वीरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरुप हो।’

यसै गरी अर्का वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठले मन्तव्यमा लेखेका छन्– ‘जसले जति गहिरोसँग निबन्धलाई आत्मसात् गर्न सक्छ, उसले त्यति नै गहिरो आनन्दको अनुभूति लिन सक्छ । त्यसैले निबन्ध मूर्त भएर अमूर्तजस्तो र अमूर्त भएर मूर्तजस्तो पाठक अनुकूल हुने गर्छ । त्यसैले लेखनको गाम्भीर्य र बौद्धिकता नै निबन्धको सौन्दर्य हुने गर्छ।’
समष्टिमा निबन्धकारका सम्पूर्ण निबन्धहरू हाम्रै गाउँ, समाज र राष्ट्रका लागि समर्पित छन् । यसै पनि युवा निबन्धकारले आफ्नो ढुकढुकीमा फक्रिँदो मायाप्रेम, माटो र अटुट देशप्रेम सँगालेको मैले पाएँ । निबन्धहरू औसतभन्दा धेरै माथिल्ला स्तरका छन्। निबन्धहरू पढ्दै जाँदा हुने सनसनी र भावनाको लहर उठाउन सक्षम भएकाले सत्यमै कृति मीठो, मनमोहक, संग्रहणीय बनेकोमा कुनै शंका रहेन । यस्तै अझ उपल्लो स्तरका कृतिहरूको म अपेक्षा गर्दछु । निबन्धको आगामी यात्रा अझै सुदृढ र सुगम रहोस् । उनका बाँकी उरुङ–खात सपनाहरूका भावना साकार होऊन् ।











प्रतिक्रिया